सोमबार, ८ पुष, २०८१

कर्णाली याक्सलाई हराएको जनकपुरको दोस्रो जित

जनकपुरको यो लगातार दोस्रो जित हो। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। कर्णालीले पहिलो खेलमा हार व्यहोरेको हो।

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स दोस्रो जित हासिल गरेको छ। अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको हो।

जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्‍यो। जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्‍यो।

जनकपुरको यो लगातार दोस्रो जित हो। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। कर्णालीले पहिलो खेलमा हार व्यहोरेको हो।

पावर प्लेको ६ ओभरमा ५५ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा ८५ रन जोडेर विजयको मजबुत आधार तयार पारेको थियो।

आसिफ र अनिलले पहिलो विकेटमा ८४ रन जोडे। आसिफ १० औं ओभरमा २९ बलमा ३६ रन बनाई आउट भए। आफ्नो पहिलो ओभर लिएर आएका मौसम ढकालले उनलाई लङ अनमा क्याच आउट गराएका थिए।

अनिलले अविजित ६२ रन बनाए। उनले ४२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे।

अनिलले जिसन मक्सदुलाई स्ट्रेट छक्का प्रहार गरी ३५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए। लाहिरु मिलान्थाले १३ बल खेली समान २ चौका र छक्का प्रहार गरी २४ रन बनाए।

उनलाई मक्सुदले एलबीडब्लु आउट गरे। जिम्मी निशम ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा अविजित रहे।

यसअघि भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले ७ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो।

अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोडेपछि कर्णालीको स्कोर हेर्न लायक बनेको थियो।

१९ औं ओभरमा हर्ष ठाकेरलाई २ छक्का र २ चौका प्रहार गरेका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट भए। उनले २२ बल खेलेका थिए।

अन्तिम ओभरमा २१ रन प्रहार गरेका सोमपाल १३ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रनमा अविजित भए।

देव खनाल र धवन ओपनिङ जोडीको रुपमा आएका थिए। देवलाई १ रनमा ललित राजवंशीले बोल्ड गरीदिए।

धवनले ३ चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाए। क्यानेडियन खेलाडी ठाकेरले धवनको अफ स्टम्प उडाइदिए। मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई ८ र बाबर हायतलाई १२ रनमा आउट गरे।

२५ बल खेलेका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्। हायत अघि न्युल्यिान्डका अलराउन्डर जिम्मी निशमले जेशन मक्सुदलाई शून्य रनमा बोल्ड गरेका थिए।

गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाए। उनले २७ बल खेली १ चौका र ३ छक्का प्रहार गरे। मोहसिनले ४ ओभरमा १४ रनमात्र खर्चेर २ विकेट लिए।

ललितले ४ ओभरमा १६, किशोर महतोले ४ ओभरमा २८ र ठाकेरले ४ ओभरमा ४५ रन खर्चेर १–१ विकेट लिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार