सोमबार, ८ पुष, २०८१

कर्णाली प्रतिष्ठानका कर्मचारी समस्या समाधान गर्न विभिन्न कर्मचारी संगठनको माग

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट आएको फैसला कार्यान्वयन नगरेको गुनासो गरेका छन्।

मंसिर ३ गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीहरुले आफ्नो स्तरवृद्धि लगायतका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा ताला लगाएका छन्। प्रतिष्ठानमा देखिएको शिक्षक कर्मचारी समस्या समाधानका लागि विभिन्न कर्मचारी संगठनहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्।

प्रतिष्ठानका शैक्षिक तथा प्रशासनिक सेवाहरू ठप्प हुँदा स्वास्थ्य सेवा र शिक्षामा बाधा पुगेको छ। कर्मचारी संगठनहरूले विज्ञप्ति मार्फत समस्या समाधानको आग्रह गर्दै सेवा सुचारु गर्न अपिल गरेका छन्।

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट आएको फैसला कार्यान्वयन नगरेको गुनासो गरेका छन्। अदालतको आदेश, कार्यकारी परिषद् र सभा बैठकले उनीहरूको बढुवाका लागि निर्णय गरे पनि प्रतिष्ठानका पदाधिकारीहरूले त्यसलाई कार्यान्वयन नगरेको कारणले उनीहरूको वृत्ति विकास प्रभावित भएको उनीहरूको तर्क छ।

नेपाल निजामती कर्मचारी युनियन, कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर खड्काले अदालतको आदेश तत्काल पालना गरी योग्य शिक्षक र कर्मचारीहरूको बढुवा प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उनले निकालेको विज्ञप्तिमा भनिएको छ, “कानुनी राज्यको अवधारणा अक्षरस पालना गरिनुपर्छ। शिक्षक र कर्मचारीहरूको मनोबल उच्च बनाउनुपर्ने र शैक्षिक तथा प्रशासनिक सेवा तत्काल सुचारु गर्न आवश्यक छ।”

नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव उत्तम देवकोटाले भने, “कुनै पनि संस्थाको सेवा प्रवाह प्रभावकारी बनाउन कर्मचारीहरूको मनोबल उच्च हुनु आवश्यक छ। प्रतिष्ठानमा लामो समयदेखि काम गरिरहेका शिक्षक तथा कर्मचारीहरूको कानूनी अधिकारलाई सम्मान गर्दै उनीहरूको वृत्ति विकासको अवरोध हटाउनुपर्छ।”

उनका अनुसार, ५८ जना शिक्षक तथा कर्मचारीले अदालतको आदेश अनुसारको बढुवा र तलब भत्ता नपाएको भन्दै सात दिनदेखि आन्दोलन गरिरहेका छन्। यस विषयमा विगतमा कार्यकारी परिषद् र सभा बैठकले सहमति जनाए पनि कार्यान्वयन हुन नसक्नु चिन्ताको विषय भएको बताइएको छ।

नेपाल निजामती कर्मचारी संगठन, जुम्लाका अध्यक्ष गणेश आचार्यका अनुसार, स्वास्थ्य क्षेत्रको संवेदनशीलताका कारण सेवा अवरुद्ध हुँदा आम जनताले स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको छ। उनले निकालेको विज्ञप्तिमा भनिएको छ, “संवेदनशील स्वास्थ्य सेवा क्षेत्रको ताला बन्दीले जनताको जीवनमा गम्भीर असर पारेको छ। यसलाई चाँडोभन्दा चाँडो समाधान गर्न प्रतिष्ठानका पदाधिकारी र कर्मचारीबीच सहमति हुन जरुरी छ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक विवाद र व्यवस्थापन समस्याको समाधानका लागि सबै कर्मचारी संगठनहरूले संयुक्त रूपमा अपिल गरेका छन्। उनीहरूले प्रतिष्ठानका पदाधिकारीहरूलाई कर्मचारीहरूको कानूनी अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।

विज्ञप्तिहरूमा भनिएको छ, “शिक्षक तथा कर्मचारीहरूको न्यायोचित माग पूरा गर्न विलम्ब गर्दा प्रतिष्ठानलाई क्षति पुग्न सक्छ, जसको जिम्मेवार पदाधिकारी नै हुनेछन्।”

संगठनहरूले प्रतिष्ठान भित्रको विवादलाई आपसी समझदारीका आधारमा सुल्झाएर सेवा पुनः सुचारु गर्न जोड दिएका छन्। उनीहरूले सेवा प्रवाहलाई नियमित बनाउन अदालतको आदेश पालना गर्दै योग्य कर्मचारीहरूको बढुवा प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार