छलफलमा स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्यहरू, संघीय कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
जुम्लाको विकास निर्माणको विषयमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले समृद्ध जुम्लाको परिकल्पना पूरा गर्न एकीकृत योजना र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे।
“जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधारबीच समन्वय जरुरी छ। हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्छ,” उनले भने।
मुख्यमन्त्रीले जुम्लाको भौगोलिक, सांस्कृतिक र आर्थिक विशेषताहरुलाई ख्याल राखेर योजनाहरू बनाइनुपर्नेमा जोड दिए।
उनले दिगो विकासका लागि समुदायको सक्रिय सहभागिता र सर्वपक्षीय छलफलले मात्र प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गरे।
छलफल कार्यक्रममा सहभागी कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले पनि जुम्लाको समृद्धि र विकासका लागि राजनीतिक पूर्वाग्रहलाई पन्छाएर सहकार्यमा जुट्नुपर्ने बताए।
संघीय सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले जुम्लाको स्वास्थ्य, शिक्षा, यातायात र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।
स्थानीय तहका प्रतिनिधिहरूले केन्द्र र प्रदेश सरकारबाट पर्याप्त बजेट र प्रविधि हस्तान्तरणको माग गरेका थिए।
उनीहरूले बजेट विनियोजनमा समानुपातिकता कायम गर्न र योजनाहरूको कार्यान्वयनमा स्थानीय जनतालाई प्रत्यक्ष रूपमा समेट्न आग्रह गरे।
जुम्ला प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि चुनौतीहरू समाधान गर्न राज्यका तीनवटै तहबीच सहकार्य अभाव रहेको बेला यस्तो कार्यक्रमको महत्त्व अझ बढेको प्रदेश सभा(ख) का सदस्य टेकराज पछाईंले बताए।
जुम्लाको विकास निर्माणमा योगदान पुर्याउन सबैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नुपर्ने मुख्यमन्त्री कँडेलले बताए।
छलफलमा स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्यहरू, संघीय कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।
उनीहरूले जुम्लाका समस्या समाधान गर्न दीर्घकालीन सोचका साथ अगाडि बढ्न प्रतिबद्धता जनाएका छन्।