सिंजामा स्वास्थ्य सेवा सुधारका लागि आयोजित शिविरमा कुल २५९ जनाले सेवा प्राप्त गरेका छन्।
सिंजा गाउँपालिकामा बी एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग र गुड न्युज फर नेपालसँगको सहकार्यमा निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सिंजामा स्वास्थ्य सेवा सुधारका लागि आयोजित यस शिविरमा कुल २५९ जनाले सेवा प्राप्त गरेका छन्। स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार, १३६ पुरुष र १२३ महिला सहभागी भएका थिए।
यस शिविरको विशेष उद्देश्य कानसम्बन्धी समस्या भएका मानिसहरूको स्वास्थ्य परीक्षण र उपचार गर्नु रहेको थियो।
शिविरमा ४८ जना बिरामीलाई शल्यक्रियाका लागि छनोट गरियो, जसमध्ये २७ पुरुष र २१ महिला छन्। साथै, ११ जनामा कानमा मेशिन आवश्यक देखियो भने ८१ जनामा पिटिए परीक्षण गरियो।
स्वास्थ्य सेवामा सीमित पहुँच भएको दुर्गम क्षेत्रका नागरिकहरूले यस्तो स्वास्थ्य शिविरबाट ठूलो राहत महसुस गरेका छन्।
कान सफा गरिएका १५० जनामा काने गुजी र फोहोर हटाएर, औषधि वितरण गरियो। यसले स्थानीय बासिन्दामा स्वास्थ्यसम्बन्धी चेतना बढाउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले स्थानीय स्तरमा स्वास्थ्य पहुँच वृद्धि गर्ने र भविष्यमा थप शिविरको आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ।