सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै कृषि विकास बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।
कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका रेक्टर डबल बहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई ८ लाखको चेक हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता गरेका कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख सुरोज टन्डनले कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा सहयोग गर्नु बैंकको प्राथमिकता रहेको बताए।
कार्यक्रममा प्रमुख टन्डनले बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पुर्याउने नीति अनुरूप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसरी सहयोग गरेको जानकारी दिए।
उनले भने, “स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पुर्याउनु नै हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो।”
उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) भन्नाले कुनै पनि संस्थाले आफ्नो नाफा बाहेक समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले गरिने प्रयासलाई जनाउँछ।
संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी बहन गर्न, वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासको लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले प्रतिष्ठानलाई महत्त्वपूर्ण सहयोग भएको प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामीले बताए।
“बैंकको यस किसिमको सकारात्मक कदमको सदैब स्वीकार्य छ,” डा. धामीले भने, “कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा निरन्तर योगदान हुनु एउटा उदाहरण हो।’
प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सहयोगलाई खुशीको रूपमा ग्रहण गर्दै यसले सामाजिक उत्तरदायित्वको अभ्यासलाई वास्तविकता दिएको बताए। उनले भने, “कृषि विकास बैंकबाट नियमित सहयोग हुनु प्रतिष्ठानका लागि उत्साहजनक कुरा हो र यसले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न सहयोग पुर्याउँछ।”
बैंकको यो प्रयासले स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै कृषि विकास बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।
स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा योगदान पुर्याएर समुदायको जीवनस्तर उकास्न प्रयासरत बैंकको यो कदमले संस्थागत सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।