सोमबार, ८ पुष, २०८१

कविता : भेडाको सम्बोधन

धन्यवाद कार्यक्रम सञ्चालक ज्यू
मलाई महिनौं वर्षौं पाटनमा हेरचाह गरेर
मेरो पालनपोषण गरेर यहाँसम्म
मलाई कसैले किन्न र बेच्न तयार पारिदिनु हुने
मेरा मालिक तथा यस कार्यक्रमका,
आदरणीय सभाध्यक्ष महोदय!

मलाई मेरो मालिकको न्यानो आँगनबाट
पैसाको लोभ लालच देखाएर खरिद गरेर
मेरो जिन्दगीलाई बिक्री गर्ने दलाल तथा,
यस कार्यक्रमका प्रमुख अतिथि ज्यू!

दलालीहरुकै बिचमा मेरो जिन्दगीलाई
दलाली गर्ने थप दलाल तथा,
यस कार्यक्रमका विशिष्ट अतिथि ज्यू!

मेरो हत्याको प्रतिक्षामा बसिरहने
कुनै चाडपर्व, कुनै उत्सव, महोत्सवमा
कुनै मन्दिरको पुजा आराधनामा
मिलनको खुसीयालीमा
होटेलको म:मको डल्लासँग
रक्सीको नमिठो स्वादसँग
म चाहिरहने

मेरो भाषा नबुझ्नेहरु
मेरो विवशता नबुझ्नेहरु
मेरो जीवनको कदर नगर्नेहरु
मेरो जिन्दगीलाई पैसासँग बेचिरहनेहरु

जब दशैं आउँछ, तिहार आउँछ
पाटनबाट ओराल्दै मलाई
मेरो भ्या भ्या भ्या नबुझिने भाषा
तर बुझिने भाव हुँदाहुँदै पनि
कागजबाट बनेको निर्जीव वस्तुसँग
म प्राण भएको सजीवलाई बेचिरहनेहरु

समस्त, मेरो मासुको प्रतिक्षामा
मेरो हत्याको प्रतिक्षामा
आफ्नो घरमा लिएर काट्न हतारिएकाहरु
आफन्त, इष्टमित्र, साथीभाईहरुको निम्ति
मलाई सकाउनेहरु
सम्पूर्ण आदरणीय तथा सम्मानित
अतिथि गणहरुमा

म निर्दोष भेडाको तर्फबाट
यो हत्याराहरुको मञ्चबाट
एकमुष्ठ सम्पूर्ण हत्याराहरूलाई
अन्तिम पल्ट हार्दिक नमस्कार व्यक्त गर्दछु!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार