जुम्लाको सिंजा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहको हिसाबले प्रथम भएको छ।
सोमबार जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले गरेको समिक्षा कार्यक्रममा सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको हो।
निर्धारण गरिएका ३२ वटा सूचक राखेर गरिएको मूल्यांकनमा सिंजा प्रथम भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाकाले बताए।
उनका अनुसार समग्र मुल्यांकनमा सिंजा ८७ प्रतिशत अंक ल्याएर प्रथम, चन्दननाथ नगरपालिका ८४ प्रतिशत ल्याएर दोस्रो, कनकासुन्दरी गाउँपालिका ८१ प्रतिशत ल्याएर तेस्रो भएका छन्।
त्यसपछि हिमा, तातोपानी गाउँपालिका रहेका छन्।
जनस्वास्थ्य कार्यालयले आइतबार र सोमबार गरि दुई दिन वार्षिक प्रगति सहितको समिक्षा गरेर कार्ययोजना तयार पारेको छ।
सोही अवसरमा सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायालई प्रशंसा पत्र दिएर सिंजालाई प्रथम भएको घोषणा गरिएको थियोे।
कार्य सम्पादनमा प्रथम हुँदा उत्साहित भएको संयोजक रोकायाको भनाइ छ।