‘दिदी भन्दा त बहिनी राम्री’ भनेर दाज्ने, ‘नयाँ बेहुली भन्दा त बेहुलो धेरै राम्रो’ भन्ने जस्ता वाक्य, सुन्दा सामान्य लाग्ने तर कसैको मष्तिस्कमा युद्धको बिगुल फुक्ने खाले हुन्छ। सुन्दरता र कुरुपता बीचको युद्ध नदेखिने तर गहिरो प्रभाव पार्ने खाले हुन्छ।
मानिसले विवाद, द्वन्द्व, युद्ध रुचाउँदैन। तर जानेर नजानेर वा चाहेर नचाहेर ऊ विवादमा परिरहन्छ, युद्धमा सामेल भइरहन्छ। विश्वमा निकै प्रख्यात युद्धहरू भएका छन्। जसले विश्वलाई हल्लाएर राखिदिएका छन्। विश्वमानवलाई त्राही त्राही बनाएका कैयौँ युद्धहरु हाम्रा इतिहासका पानामा कैद छन्। जबजब विश्वमा युद्ध हुन्छ मानिसमा विश्वबन्धुत्व जाग्छ। शान्तिको आवश्यकता र महत्व महसुस हुन्छ, मान्छेलाई।
पहिलो र दोश्रो विश्वयुद्ध, अमेरिका र सोभियत संघ बीचको शित युद्ध देखि नेपालकै दश वर्षे जनयुद्धसम्म सबै युद्ध हामीले भोगेका, देखेका वा सुनेका युद्ध हुन्। जुन इतिहासको कुनै कालखण्डमा घटे र कुनै समयमा समाप्त पनि भए। तर संसारमा त्यस्ता युद्ध पनि छन् जुन न कहिले सुरूवात भयो भन्ने थाहा छ, न कहिले अन्त्य हुन्छ भन्ने टुङ्गो नै।
हामी सबै केही त्यस्तै युद्धका पीडित हौं। जो सायद आफू पीडित भएको कुरा प्रति बिल्कुलै अन्जान छौँ। अन्जान भएरै न कोही त्यो युद्ध रोक्न चाहान्छ न कसैले नेतृत्व लिन्छ, त्यस्ता युद्धको बिराम गर्न। सदियौँदेखि हामी भित्र केही यस्ता युद्ध चर्किएका छन्, न त्यस्को पत्तो हामीलाई छ न पत्तो राख्ने फुर्सद छ हामीलाई।
मन र मस्तिष्क बीचको युद्ध
सायद संसारका सबैभन्दा ठुला शत्रु हुनुपर्छ मन अनि मष्तिस्क। एउटाको कुरा अर्कोलाई चित्त नबुझ्ने। हामीलाई यो युद्ध झिनो लाग्ला तर कत्रा कत्रा ठुला ठुला प्रभाव छन्, यी दुईको यूद्धको हाम्रो जीवनमा। हामीलाई प्राय जसो निर्णय प्रक्रियामा निकै कठिनाई आउने गर्छ। जुनसुकै निर्णय गर्दा पनि हामी दोमन हुन्छौँ। मनले निर्णय ठिक छ भनिराख्दा मष्तिस्क भने मान्न तयार नै हुँदैन।
यो ‘दोमन’ नभई दुई शत्रु, मन र मस्तिष्कको फरक बुझाई र फरक कामले गर्दा उत्पन्न भएको कठिनाई या अन्योल हो। मन र मस्तिष्कको लडाइँमा मानिस यसरी पिल्सिएको छ कि सामान्य भन्दा सामान्य काम पनि मानिस आँट्न सक्दैन र पछि परिरहन्छ। मन भावनासँग जोडिएको हुन्छ। जसमा कोमलता लुकेको हुन्छ। लचकता हुन्छ। तर मष्तिस्क भनेको निकै कठोर र गहन विश्लेषक हुन्छ। जसले के सही के गलत केलाउन खोज्छ। मनको मात्र सुन्दा मानिसले गलत निर्णय लिने सम्भावना प्रवल हुन्छ र यदि मष्तिस्कको मात्र सुन्ने हो भने मानिसमा संवेदना हराएर जान्छ। तर फेरी यी दुईलाई समेटेर कुनै निर्यण लिनको लागि मानिसले यी दुई बीच युद्धको मध्यस्थता गर्नु पर्छ। त्यो युद्धमा खरो उत्रिनु पर्छ।
म र तिमी बीचको युद्ध
मानिस जहिले पनि म र तिमी बीच युद्धरत रहन्छ। जबजब उसको हातमा शक्ति आइपुग्छ ऊ भित्रको अहंकारले जहिले पनि ‘तिमी’लाई पराजित पार्न हर कोसिस गर्छ। राम्रो कर्मको प्रशंसा ‘म’ आफूले लिएर गल्तीको जिम्मा ‘तिमी’ लाई सुम्पिन चाहान्छ। मानिस ‘म’ सर्वेसर्वा, ‘म’ मात्र ठिक भन्ने जनाउन ‘तिमी’ पात्रलाई सधै तल तान्छ। ‘म’ आफू केही नगरि बस्छ तर जब ‘तिमी’ले केही गर्छन् उसलाई असह्य हुन्छ। ‘म’ आदर्शका कुरा गरेर मन त जित्न सक्छ तर परि आए अरुको आदर्शलाई कुल्चिएर अघि बढ्न रत्तिभर पछि पर्दैन।
यसरी संसार का नदेखिएको यूद्ध ‘म’ र ‘तिमी’ बीचको युद्ध पनि एक हो।
इमान्दारीता र अभाव बीचको युद्ध
के इमान्दारीता मृत्यु भन्दा बढी नैतिकवान छ? के मानिस मृत्यु भन्दा पनि माथि इमान्दारीताको माला जप्न सक्छ? के कुराले इमान्दारीतालाई निचा देखाउन सक्छ? के कुराले इमान्दारीताको जग हल्लाउन सक्छ? यो सबै प्रश्नको जवाफ फरक फरक आउन सक्छन्। तर इमान्दारीताको युद्ध अभावसँग पनि उत्तिकै छ। कसैको पैसाको अभाव, पदको अभाव, मान सम्मानको अभाव। इमान्दारीताको एउटा अग्नि परीक्षा अभावमा लिइन्छ। जब पेट भोको हुन्छ तब भोक र इमान्दारीता मध्ये कसले जित्ने भनेर घमासान युद्ध चल्छ। एउटा इमान्दार मानिसलाई गरिबी, अभावले हार्न अन्तिमसम्म बाध्य पारिदिन्छ र एक इमान्दार मानिस अभावसँग पौंठेजोरी खेलेर, लडेरै बाँचिरहेको हुन्छ। तर कहिले इमानले जित्छ त कहिले अभावको अघि इमानले घुडा टेक्छ। यो युद्ध वर्षौं पुरानो हो। यो युद्धको हाल कुनै अन्त्य म देख्दिनँ। तर इमान्दारिता र अभाव बीचको युद्धको पीडा शिक्षक, कर्मचारी अनि निजी क्षेत्रमा न्यून ज्यालामा काम गर्नेलाई भन्दा बढी कसलाई थाहा होला र!
एउटा चरो पनि आफू भोकै हुँदासम्म त सहन्छ तर जब सवाल बचेराबचेरीको भोकको आउँछ। ऊ सुकाएका बिस्कुनमा धाउँछ। कसैका मकै बारी चाहार्छ। बचेराको भोकको अघि कुन आमाको धर्मले इमान्दारीता रोज्न दिन्छ र!
सुन्दरता र कुरुप बीचको युद्ध
सुन्दरताको मानक के हो? अनि कुरुपताको क्रायटेरीया के हो? कुनै मापन, आधार अनि कुनै प्रयोगसम्म नभएको विषयमा संसारमा लामो समयदेखि अदृश्य युद्ध चलिरहेको छ। हामी जन्मिए देखिनै सुन्दर अनि कुरुपताको खोक्रो युद्धमा फसेका छौँ र फसाइरहेका छौँ, नयाँ पुस्तालाई उस्तै युद्धमा। हरेक समाजको सुन्दरता अनि कुरुपताको आफ्नै मापदण्डहरू हुन्छन्। अनि हरेक मानिस त्यो मापदण्डमा पर्न संघर्षरत हुन्छ। आफ्नो छाला उसलाई मन पर्न छोड्छ, आफ्नै अनुहार ऊ ऐनमा हेर्दैन र आफ्नै शरीर प्रति उसलाई घृणा हुन्छ। यही परिस्थितिले ऊ मानसिक युद्धमा सामेल हुन्छ। हरेक दिन आफू सुन्दर हुन नसकेकोमा ऊ आफैलाई धिकार्छ। समाजको सुन्दरता मापदण्डमा पुग्न ऊ आफूलाई कुरुप मानेर त्यहाँबाट बाहिर निस्कन युद्ध गर्छ। यो शिलशिला जन्मिए देखिनै शुरु हुन्छ।
‘दिदी भन्दा त बहिनी राम्री’ भनेर दाज्ने, ‘नयाँ बेहुली भन्दा त बेहुलो धेरै राम्रो’ भन्ने जस्ता वाक्य, सुन्दा सामान्य लाग्ने तर कसैको मष्तिस्कमा युद्धको बिगुल फुक्ने खाले हुन्छ। सुन्दरता र कुरुपता बीचको युद्ध नदेखिने तर गहिरो प्रभाव पार्ने खाले हुन्छ। सँगसँगै खेलिरहेको बालबालिकाहरु मध्ये एउटाको गाला चिमोटेर कति राम्री/राम्रो भनी राख्दा उसलाई त खुसी बनाउछौँ तर बाँकी अरु बालबालिकाहरुमा कस्तो छाप पर्ला भन्ने हामी सोच्न सम्म चाहान्नौं। हो यस्तो सुन्दरता र कुरुपता बीचको युद्धको शिकार भएर कतिको विवाह रोकिन्छ त कतिको जागिर सकिन्छ। तर हामीलाई न यस्तो युद्धको चासो हुन्छ न चिन्ता। कुरुपताको पाठ सिकाएर, आत्मग्लानी महसुस गराएर आफ्ना व्यापार बढाउनेहरु झन् थप्दै छन् यस्तो युद्धको म्याद। अनि हामी बिना सोच विचार बन्दैछौँ यस्तो लुकेको युद्धको शिकार।
मृत्यु र स्वीकारोक्ति बीचको युद्ध
मृत्यु अवश्यम्भावी छ। यो एक मात्र यस्तो सत्य हो जुन अकाट्य छ। जन्मिएर आउँदा मात्र एक थोक निश्चित थियो र त्यो हो मृत्यु। तर यस्तो अकाट्य सत्यको पनि युद्ध छ स्वीकारोक्तिसँग। अर्थात् मृत्युको स्वीकारोक्ति गर्न न कोही सक्छ न कोही चाहान्छ। संसारको अकाट्य सत्यलाई समेत मानिस स्वीकार गर्न सक्दैन। र त सधै युद्ध हुन्छ, मृत्यु र यसको स्वीकारोक्ति बीच। जीवनमा हामीलाई अरुको मृत्युको साक्षी बन्ने अवसर पटकपटक मिल्छ। तर पनि हामी आफूलाई त्यो अवस्थामा कल्पना गर्ने सामर्थ्य राख्दैनौँ। हामीलाई लाग्छ हामी सदाबहार छौँ। आफू बाहेक सबै एकदिन मर्नेछन् भन्ने एक अनौठो किरा मानिसको मष्तिस्कमा परेको हुन्छ। जसले हामी भित्रको मृत्यु प्रतिको स्वीकारोक्तिको भावलाई मारिदिन्छ। जसको परिणामत मानिस अहंकार गर्छ मै मात्र खाऊँ, सुख सयर मै मात्र गरुँ भन्ने भोक मानिसमा रहन्छ। मृत्यु र स्वीकारोक्ति बीचको युद्ध एउटा यस्तो लुकेको युद्ध हो, जसले मानिसलाई बुद्ध बन्न मात्र होइन कहिले काँही त मान्छे बन्न पनि रोकिरहेको हुन्छ।
धर्म र राजनीति बीचको युद्ध
कसले भन्छ धर्म र राजनीति बीच युद्ध हुन्छ भनेर! इतिहास साक्षी छ, धर्म र राजनीति एक अर्काका शत्रु नभई सधै एक अर्काका परिपूरक रहँदै आएका छन्। हुन त धर्म र राजनीति अलग कुरा हुन्। न धर्म निर्माण हुन राजनीति चाहिन्छ न राजनीति गर्न धर्म। तर पनि आश्चर्यको कुरा के भने यी दुई युगौँ देखि साथ छन्। सँगै बढीरहेका छन्, सँगै फैलिरहेका छन्।
धर्म र राजनीतिलाई केलाउने हो भने यी दुईको जरो मानिस मै गएर भेटिन्छ। मानिसको सबैभन्दा ठुलो कमजोरी पनि विश्वास हो र सबैभन्दा ठुलो तागत पनि विश्वास हो। मानिसलाई कुनै कुरामा विश्वास गर्न जति समय लाग्छ त्यति नै बढी समय विश्वास गरिसके पछि त्यसबाट बाहिर निस्कन लाग्छ। हो मानिसको त्यही कमजोरी र तागत भनिएको विश्वासमा अडिएका छन्, धर्म र राजनीति। धर्म पनि विश्वास हो अनि राजनीति पनि विश्वास हो। फरक यत्ति हो धर्म अदृश्य शक्ति प्रतिको विश्वास हो, हाम्रो सृष्टिकर्ता को हुन भन्ने कुराको विश्वास हो। तर राजनीति मानिसको राज्य निर्माण प्रतिको सिद्धान्त प्रतिको विश्वास हो। कुनै दल वा वाद प्रतिको आस्था हो, राजनीति।
यसरी मानिसको विश्वाससँग जोडिएका दुई फरक विषय धर्म र राजनीतिलाई जोडिदिँदा विश्वमा ठूला-ठूला युद्ध भएका छन्। वास्तवमा धर्म मानिसको व्यक्तिगत आस्थाको विषय हो जुन व्यक्तिमै सिमित हुनुपर्छ। तर जब कुनै राजनीतिक दलको एजेण्डा धर्मसँग जोडिन्छ वा जब राजनीतिक मुद्दालाई धर्मको साहारामा जित्न खोजिन्छ तब समाजमा नदेखिने गरि युद्ध सल्किएको हुन्छ।
जबजब संसारका कुनै पनि मुलुकमा विवाद चर्किन्छ, जनता आफ्ना हकका मुद्दा बोकेर सडकमा आउँछन्, तबतब धर्मको तिर छोडेर त्यही आन्दोलनमा आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्ने झ्याउँकिरीहरु सल्बलाउन थाल्छन्। उदाहरणको लागि बंगलादेशमा उत्पन्न आरक्षणको विरोधमा भएको उक्त सरकारको नीति बिरोधी आन्दोलनमा कति बेला हिन्दू- मुसलमानको आन्तरिक यूद्ध चर्कियो कसैले सुइँकोसम्म पाउन सकेन।
कुनै पनि विवादबाट उत्पन्न राजनीतिक अडानमा धर्मले प्रवेश पाउनु भनेको राजनीति र धर्म दुबैका एजेन्टलाई क्षणिक लाभ हो। यी दुईको मिलनले राजनीति फोहर बन्ने गर्छ र धर्म प्रति आम सर्वसाधारणको आस्था बिलाउँदै जान्छ। धर्म र राजनीतिको बाहिरी कडीहरू मिलेझैँ देखिन्छ। एक अर्काका सहयोगी झैँ भान हुन्छ। तर समाजमा यी दुईको एकताबाट भित्र भित्रै भुसको आगो झैं युद्ध दन्किएको पत्तो नै हुँदैन। धर्मको राजनीति समाज र आम सर्वसाधारणका निम्ति सधैँ अभिसाप सावित हुनेगर्दछ।
हामी भौतिक संरचना ध्वस्त पार्ने, धनजनको ठुलो क्षति गर्ने युद्धहरूलाई बडो महत्त्व दिन्छौँ। त्यस्ता युद्धलाई रोक्न, युद्धबिराम गर्न, विवादको शान्तिपूर्ण ढंगले टुङ्गो लगाउन विश्वले हातेमालो गर्छ। तर नजानिँदो तरिकाले बढ्दो मन-मष्तिक बीचको युद्ध, म र तिमी बीचको युद्ध रोक्न न कसैले पहल गर्छ न कसैलाई आवश्यक लाग्छ। यी युद्धहरू अन्त्य बिहिन हुँदैछन्।
यी युद्धको रणभूमि मानिसको सोचाई हो। यस्ता युद्धमा तरवार हुँदैन, संरचना विनाश हुँदैन, रगतको खोला बग्दैन, कोही अस्पताल भर्ना हुँदैन, भागाभाग हुँदैन, कुनै हल्लाखल्ला समेत हुँदैन। तर बिना हतियार पनि ठूलै युद्ध चल्छ ‘म’ र ‘तिमी’ बीच जहाँ सधैँ ‘म’ जित्न खोज्छ। राजनीति र धर्म मिसिदा राजनीति दुषित हुन्छ अनि धर्मको मजाक बन्छ। अनि समाज सधैँ यस्ता युद्धको पीडित बन्छ। न कुनै राहत पाउँछ न कुनै सान्तवना। युगौँ यूगबाट मानिस यस्ता युद्ध लड्दैछ। अनि हार्दैछ। आफैभित्र मर्दै छ, पलपल। तर ऐयासम्म भनेको छैन उसले। तरबारको धार भन्दा तिखो प्रहार खेपेको छ तर गुहारसम्म मागेको छैन मानिसले।