बुधबार, १२ कार्तिक, २०८३

गजल लेख्नेहरूको दुर्भाग्य हो, यसको शिकार बनाउने कोशिश भएको थियो- महेन्द्र

mahendra devkota

गजलको गहिरो चेत, सुन्दर शेरहरूको सिर्जना र निरन्तर साधना-गजललाई कर्म र धर्म बनाएर अघि बढिरहनुभएका सर्जक रिदम महेन्द्रसँग आज हामी गर्नेछौँ, गजल गन्थन। 

अक्षर वार्ता With Madan मा यहाँलाई हार्दिक स्वागत छ। सुरुवातमै तपाईंलाई मन परेको तपाईको गजल ।

– धेरै धेरै धन्यवाद मदन, एक दम खुशी लाग्यो मलाई एउटा अवसर दिनु भयो, सम्भवत मेरो पहिलो अन्तर्वार्ता होला, मैले रेडियोमा पनि हजुरसँग नै पहिलो पटक केही कुरा साझा गरेको थिएँ मलाई याद छ। एक दम राम्रो काम शुरु गर्नु भएको छ यो सिलसिला जारी रहोस् मेरो शुभकामना। तपाईंले गजलका लागि गरेको योगदान इतिहासले याद राखोस्। मलाई मन परेको गजल एउटै त छैन तर अरूले बढी रुचाएको एउटा चाहिँ सुनाउन चाहेँ: 

कहीँ कसैले न देखेको शृङ्खला हूँ म

तिमी बताऊ न पत्थर कि देवता हूँ म

तमाशा गर्नेहरूको कमी कहाँ छ यहाँ

यो दुनिया सोच्दो हो एक नायिका हूँ म

जमीन माथी उठेको थियो गजल जसले

त्यही विराट गजलकै त काफिया हूँ म

सबै छुनेहरू मदहोश थे हजारौँ दिन

न छो मलाई नयाँ रंगको नशा हूँ म

कसैले आफ्नो औकात बिर्सिएको छैन

यहाँ कसैले नि भन्दैन चन्द्रमा हूँ म

म भन्दा पनि बढी सुन्छौ तिमीले जसलाई

तिमीले माने उही ‘जौन एलिया’ हूँ म

अझैं मसंग छ अंदाज आफ्नै ‘जोया’

अनौठा पात्र भएकाे नयाँ कथा हूँ म

मलाई थाहा छ मेरो महत्त्व के छ ‘रिदम’

म बुझ्छु हामी दुवै बीचको कुरा हूँ म

१. कसैले गजललाई प्रेमको भाषा भन्छ, कसैले पीडाको, कसैले शास्त्रीय संरचनाको। कसैले काफिया मिलेपछि गजल भयो भन्छ, कसैले भाव र शिल्पको गहिराइ खोज्छ। तपाईंको नजरमा गजल के हो र के होइन ?

– गजल के हो के होइन यो प्रश्नको जवाफ यति सजिलो छैन जति सजिलो सुन्दा लाग्छ, मेरो नजिक तपाईंले माथि उल्लेख गर्नु भएका हरेक चीज गजलले समेट्न सक्नु पर्छ भन्छु म। प्रेम, पीडा, दुःख भोगाइ भन्दा धेरै पर पुगी सकेको छ गजल, अबको १० वर्ष पछि अझ अरू उचाइ छुनेमा म विश्वस्त छु। काफिया मिल्दैमा गजल चाहिँ हुँदैन यत्ति चाहिँ भनेँ मैले। म चाहिँ, भाव र शिल्पमा बढी जोर दिन पर्छ भन्छु यसको मतलब तुक नमिले पनि हुन्छ भन्ने चाहिँ बिल्कुल होइन। गजल सब थोक हो तर सब थोक गजल होइन मेरो लागि।

२.  गजल लोकप्रियताको शिखर छोइरहेको छ। महफिल छन्, महोत्सव छन्, सामाजिक सञ्जालहरुमा गजल छन्, श्रोता छन्, नयाँ गजलकारको बाढी नै छ। तर एउटा असहज प्रश्न गरौँ – गजलको लोकप्रियता बढ्नु र गजलको साहित्यिक उचाइ बढ्नु एउटै कुरा हो? 

– बिल्कुल पनि नाई, गजलको लोकप्रियता बढ्नु अलग कुरा हो, अनि साहित्यिक उचाइ पुग्नु अलग कुरा हो। आम मानिसको जीवनसम्म पुग्नु गजलको लोकप्रियता हाे, अनि गजलले साहित्यमा अरू विधाकै वरियता पाउनु साहित्यिक उचाइ हो। कुनै दिन नेपाली गजल हिन्दी उर्दू गजल मञ्चमा गुन्जियोस् मेरो एउटै मात्र चाहना हो यो। यो यति सजिलो छैन म बुझ्छु तर नेपाली गजलका सर्जक कम भने छैनन्। के थाहा कुनै दिन…..

३. हामीले नेपाली गजल लेखिरहेका छौँ कि नेपाली भाषामा उर्दू गजलको नक्कल गरिरहेका छौँ? हाम्रो कमजोरी कहाँ छ, अध्ययनमा, साधनामा, शिल्पमा, विषयमा कि मौलिक दृष्टिकोणको अभावमा?

– गजलको सैद्धान्तिक इतिहास थाहा पाएको मान्छे र गजल बुझेको मान्छेले के चाहिँ बुझेको होला भने, गजलको खाका अरबी, फारसी उर्दू, हिन्दी हुँदै नेपालीमा आएको हाे, गजल जहाँबाट आएको हाे त्यहीँबाट आफ्नो स्वरूप अलिकति अलिकति परिवर्तन गर्दै आएको भए पनि केही कुराहरू भने परिवर्तन भएका छैनन्। यसलाई नक्कल गरेको भन्न त मिल्दैन होला। कुरा रह्यो हाम्रो कमजोरी कहाँ छ, तपाईंले माथि उल्लेख गरेका हरेक चीजमा हाम्रो कमजोरी देख्छु मैले, अध्ययन र साधना पहिलो नम्बरमा छन्।

४.  गजललाई स्वतन्त्र छोड्ने नाममा हामीले गजलको अनुशासन नै मारिरहेका त छैनौँ? अर्कोतिर शास्त्रीयताको नाममा गजललाई यति कठोर बनाइरहेका त छैनौँ कि नयाँ पुस्ता त्यसको ढोकामै पुगेर फर्कियोस्?

– केही हदसम्म अनुशासन मरेको मैले पनि महसूस गरेको छु। परिवर्तनले मूल्य माग्छ, हामीले गजलमा परिवर्तन ल्याउन केही न केही त नोक्सान उठाउनै पर्ने थियोे सो उठाई रहेका छौँ, तर कोशिश चाहिँ गजलको मर्यादा गजलको अनुशासन न भङ्ग होस् भन्ने नै गर्नु पर्छ। शास्त्रीयताको नाममा पनि माथिकै उत्तर केही हदसम्म लागू हुन्छ। अब गजलले नयाँ रूप लिई रहेको यो नयाँ रूपले गजलको विकास गरोस् भन्ने चाहिँ हाे।

५. आजभोली गजलका कार्यक्रम धेरै छन्। एउटै पुस्ताका, एउटै समूहका र एकअर्कालाई प्रशंसा गर्ने गजलकारहरू बारम्बार एउटै मञ्चमा देखिन्छन्। के हामीले गजलको उत्सवलाई गजलकारहरूको नेटवर्किङमा सीमित गरिरहेका छौँ?

– नेटवर्किङ, गुटबन्दी त कहाँ छैन् त्यसैगरी साहित्य पनि यसबाट चोखो रहन सकेको छैन। 

६. एउटा असहज प्रश्न: तपाईंले देश छोड्नुभएको हो, कि देशले तपाईंलाई छोड्न बाध्य बनाएको हो? तपाईंको गजल सङ्ग्रह कहिले सम्म पाठकले पढ्न पाउछन् ? र  गजल ।। 

– कसरी भनूँ कि देशले छोड्न बाध्य बनायो अनि कसरी न भनूँ कि मलाई देशमै बसेर केही गर्ने मन थियो। बडा अप्ठ्यारो प्रश्न गर्नु भयो।

– म गजल सङ्ग्रह निकाल्ने हतारमा चाहिँ छैन। अहिले सङ्ग्रहमा राख्ने लायक गजल लेख्ने कोशिश गर्दैछु, हेरौँ। 

दुनिया मेरो नाम लिँदै भन्थे कोे हो

यो पत्थर जस्तै देखिने मान्छे कोे हो

म मर्न नसकेर रहेको छु जिउँदो

अनि ऊ जिउन नसकेर मरेको हो

उसको हात यी हातमा राख्नु अगाडि

कसैले सोधेनन् तिम्रो चित्त बुझेको हो 

कसको हिम्मत छ मेरो कोठामा छिर्ने

मलाई यति बेला छोएर जाने कोे हो

तिमी पनि बिर्सी दिन्छु भनी रहेका छौ

भन्न त उस्ले नि याद गर्छु भनेको हो

फेरी मेरै कुरा काट्दै छौ पुतलीसँग

फूल मन पराउने हामी मध्ये कोे हो

पत्ता लगाउनु छ कोे गर्छ मेरो पीछा

पत्ता लगाउनु छ तिम्रो सुसारे कोे हो

कोरो कागजमा कसले बनायो धुवाँ

बादलको तस्वीरमा रंग भर्ने कोे हो

यो पेड कोतरी मेरो नाम लेख्ने वाला

तँलाई थाह भयो भने भनी दे कोे हो

यति सस्तो भयो मन्दिरमा तिम्रो भाउ

ईश्वरले प्रश्न गर्छन् यो के मागेको हो

र मैंले पनि तिम्रो वास्ता गरिनँ ‘जोया’

ऊ पनि मलाई नहेरी फर्किएको हो

म जसलाई देख्छु यस्तै लाग्छ ‘रिदम’

मैंले कहाँ देखेको हो कहाँ देखेको हो

७. अझ सीधा प्रश्न नेपाली गजलमा ‘गुट’ छ? यदि छ भने, त्यसले सर्जक जन्माइरहेको छ कि सर्जकलाई छानिरहेको छ?

– नेपाली गजलमा पनि गुट छ, यसले हानि नै बढी गरीरहेको छ।

८. गजलमा विकृति कसले जन्माइरहेको छ?  हामी बहर मिल्यो कि मिलेन, काफिया शुद्ध भयो कि भएन, रदिफ ठीक छ कि छैन भनेर लामो बहस गर्छौँ। तर गजलभित्रको मान्छे, उसको वर्ग, लैङ्गिकता, श्रम, पीडा, अपाङ्गता, बुढ्यौली, विस्थापन र सीमान्त जीवनबारे कति बहस गर्छौँ?

-गजलमा काफिया – रदिफ को जति महत्त्व छ त्यति नै महत्व अरू चीजको पनि छ। हाम्रो कमजोरी हो हामीले अरूलाई पढ्दैनौँ बहस देखि भाग्छौँ। 

९.  गजलको शिल्प सुन्दर भएर मात्रै पुग्छ कि त्यसले संसारलाई हेर्ने दृष्टि पनि सुन्दर बनाउनुपर्छ? 

– दुइटै कुराको उतिकै महत्त्व अनि ठूलो भूमिका रहन्छ गजलाई गजल बनाउन।

१०. एउटा असहज प्रश्न ; रुढीवादी सोच बोकेको उत्कृष्ट शिल्पको गजल र कमजोर शिल्पमा लेखिएको प्रगतिशील गजलमध्ये तपाईं कुनलाई साहित्यिक रूपमा उत्कृष्ट मान्नुहुन्छ? किन?

-कमजोर शिल्प हुनु दोष होइन, गलत विचार, रुढीवादी सोच यदि गजलमा आयो भने गजलको प्रगति चाहिँ हुँदैन।

११. नेपाली गजलमा प्रेम, विरह, धोका र सम्झना अत्यन्त लोकप्रिय छन्। तर देशमा बेरोजगारी छ, श्रमिक छन्, परदेश छ, वर्गीय विभाजन छ, राजनीति छ, हिंसा छ, पहिचानका प्रश्न छन्। हामी गजलमा संसार लेखिरहेका छौँ कि अझै प्रेमिकाको आँखामै संसार खोजिरहेका छौँ? अनि गजललाई सामाजिक दस्तावेज बनाउने जिम्मेवारी छ कि छैन?

– यो हाम्रो कमजोरी हो हामीले स्वीकार्न पर्छ कि अझैसम्म पनि नेपाली गजल केवल प्रेमीको रूपको वर्णनमा अल्झिएको छ। दर्शन छ, मनोविज्ञान छ, वास्तविकता र काल्पनिकता दुवै कुराले बराबर साथ दिनु पर्छ अनि मात्र गजललाई सामाजिकीरण गर्न सकिने छ यो हामी सबैको जिम्मेवारी हो।

१२. गजलका हजारौँ शेर लेखिन्छन्, लाखौँ पटक सुनिन्छन्, भिडियोमा लाखौँ भ्यु आउँछन्। तर गजलकारको हातमा त्यसको आर्थिक प्रतिफल कति पुग्छ? हामी साहित्यलाई सम्मान गर्छौँ कि निःशुल्क उपभोग गर्छौँ?

-गजल लेख्नेहरूको दुर्भाग्य हो भन्छु मैले त, यसको शिकार मलाई पनि बनाउने कोशिश भएको थियो तर म भने पहिले देखि नै अलिक सजक थिएँ र शिकार हुनबाट बचेको थिएँ।

१३. भाषा बाँच्न साहित्यले कति भूमिका खेल्छ?  भाषा बोल्ने समुदाय घट्दै गयो भने साहित्यले भाषा बचाउन सक्छ? कि भाषा बचाउन साहित्यभन्दा पहिले विद्यालय, परिवार, सञ्चार र राज्यको नीति बदलिनुपर्छ? र खस भाषाको भविष्यबारे तपाईं आशावादी हुनुहुन्छ कि चिन्तित?

-भाषाको विकासमा साहित्यको ठूलो भूमिका छ निःसन्देह, तर भाषा बचाउने या भाषाको विकास मात्र साहित्यले गरोस् भन्ने सोच चाहिँ गलत। यसको प्रयास हरेक ठाउँबाट हुन आवश्यक छ। खस भाषा जति जति कम बोलिँदै जाँदैछ त्यति त्यति लोपन्मुख हुने स्थिप छ। म कहीँ न कहीँ चिन्तित छु। 

१४. तपाईंको पहिलो अक्षर कहाँ जन्मिएको थियो? त्यही पहिलो सिर्जना ‘अक्षर वार्ता’का पाठकलाई सुनाउन सक्नुहुन्छ?

– सन् २००६/७ तिर मलाई अलिकति याद छ जब रेडियो रामारोशन सुन्थेँ मैले मनको संसार नामको कार्यक्रम टेकराज भण्डारीले सञ्चालन गर्थे। उतिखेर लेखिएका शब्द त याद छैनन्। तर पहिलो पटक शब्द कोरेको बेला चाहिँ त्यही हाे।

१५. यदि तपाईंलाई अक्षर वार्ताका लागि एउटा मात्र सर्जक सिफारिस गर्ने अधिकार दिइयो, र त्यो सिफारिस चर्चा, पहुँच, मित्रता, गुट वा सामाजिक सञ्जालको लोकप्रियताका आधारमा होइन, केवल सिर्जनाको गुणस्तरका आधारमा गर्नुपर्ने भयो भने तपाईं कसको नाम सिफारिस गर्नु हुन्छ?

धेरै नाम छैन, सरु आचार्य राम्रो लेख्नु हुन्छ, मनोज खड्का मिलन, शिरिष खड्का, चन्द्रकान्त जोशी, नवीन चिराग, गणेश भट्ट अणु। 

१६. अन्तिम प्रश्न; यसपटक मेरो होइन। आजसम्म अरूले तपाईंलाई प्रश्न सोधे। अब महेन्द्र देवकोटाले आफैँलाई एउटा असहज प्रश्न सोध्नुपर्‍यो भने के सोध्नुहुन्छ? र त्यो प्रश्नको उत्तर दिन तपाईं आफैँ तयार हुनुहुन्छ?

उफ्, के मैले आफू जनमिनुको उद्देश्य पूरा गरी रहेको छु? उत्तर मैले दिन सक्थे भने यो प्रश्न नै उठ्ने थिएन।

१७. गजलका बारेमा कुरा गर्दै गर्दा हामीले गजल मात्रै होइन, भाषा, समाज, राजनीति, बजार र आफूलाई समेत प्रश्न गर्‍यौँ। अन्तिममा अक्षर वार्तालाई सुझाव  र तपाईका चर्चित शेरहरु…..

राम्रो कामको थालनी गर्नु भएको छ, जारी राख्नु होला, हृदय देखि काम गर्नु होला। सफलताको बारेमा नसोचेरै काम गर्दै जानु होला। मेरो शुभकामना। 

के गर्न हो होठमा राखेको मुस्कान

के गर्न हो पछ्यौरामा राखेको पत्थर 

निकाल्नु छ तिम्रो आँखा बाट धुन  

छेड्नु छ शरिरका हर तार मलाई 

मैले पाउनु लगाई दिएँ जब

खाली खुट्टा थियो शाइरीको

कैयौं जिउँदा सम्बन्धको मलामी हूँ

म अंतिम दुखको पैलो निशानी हूँ

अँध्यारोलाई थाहा छ महत्व मेरो

म निभेको दियाेले दिने रोशनी हूँ

मबाट आउन सक्छ सुगन्ध तिम्रो

म तिम्रा पाउ परेको फूलबारी हूँ

बुझ्छौ नि मलाई छुनुको मतलब

थाह छ नि म कसको जिम्मे-दारी हूँ

ममा पत्थर बन्ने खूबी नि छ ‘जोया’

तिम्ले चाहेर मात्रै देवी बनेकी हूँ

अहिलेलाई यति मात्र याद भए। 

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार