नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। सिफारिस हुनेमा जुम्लाका जयनारायण आचार्य पनि परेका छन्।
लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो।
समितिले योग्यताक्रममा आभा श्रेष्ठ कर्णलाई पहिलो, चक्रबहादुर बुढालाई दोस्रो र जयनारायण आचार्यलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको छ। आभा तेस्रो पटक, चक्र दोस्रोपटक र जयनारायण पहिलो पटक सचिव बढुवाको सिफारिसमा परेका हुन्।
जुम्लाका आचार्य लामो समयदेखि निजामती सेवामा कार्यरत वरिष्ठ प्रशासक हुन्। सचिव बढुवाका लागि पहिलोपटक सिफारिसमा परेसँगै उनको नामले जुम्लासहित कर्णालीमा समेत चासो बढाएको छ।
एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएपछि अब सरकारले समितिको सिफारिसका आधारमा एक जनालाई सचिवमा बढुवा गर्नेछ।
योग्यताक्रममा तेस्रो नम्बरमा रहेका आचार्यको सचिव बढुवा सिफारिसमा पर्नु जुम्लाका लागि पनि महत्वपूर्ण प्रशासनिक उपलब्धिका रूपमा हेरिएको छ।















