आईतवार, १४ भाद्र, २०८३

दाडे मष्टो : धामीको शरीरमा उत्रिने देवता र इतिहासको मौखिक अभिलेख

आस्था बाँकी छ, तर उपचारका लागि आधुनिक चिकित्सा स्वीकार गरिएको छ। अर्थात् मष्टो परम्परा आफ्नो पुरानो धार्मिक संरचना जस्ताको तस्तै बोकेर मात्र अगाडि बढेको छैन। त्यसले आधुनिक समाजसँग सम्झौता गर्दै आफ्नो अर्थ परिवर्तन गरिरहेको छ।

जनै पूर्णिमा दिन, जुम्लाको हिमा गाउँपालिकाको पाथरखोलामा अरू दिनभन्दा फरक चहलपहल थियो। बाजागाजा बजिरहेका थिए। मानिसहरू भेला भएका थिए। परम्परागत धार्मिक अनुष्ठान चलिरहेको थियो। भीडको केन्द्रमा थिए, दाडे मष्टोका धामी चक्रबहादुर शाही।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा भिडियोमा उनले चक्रबहादुरलाई काँधमा बोकेका छन्। धामी उनको काँधमा पतिरिरहेको दृश्य देखिन्छ। भिडियोले एउटा धार्मिक अनुष्ठान मात्र देखाउँदैन, त्यसले जुम्लाको एउटा पुरानो सांस्कृतिक संसारतर्फ फर्केर हेर्न बाध्य बनाउँछ, मष्टो, धामी, थान, कुलदेवता, पुर्खाको बसाइँसराइ र पुस्तौँदेखि मुखैमुखमा बाँचिरहेको इतिहास।

चक्रबहादुर आफूलाई करिब ३२ वर्षदेखि दाडे मष्टोको धामीका रूपमा परिचय गराउँछन्। ‘म लगभग ३२ वर्ष भयो पतुर्न लागेको। म सानै बच्चा हुने बेला पतुर्‍या हुँ,’ उनी भन्छन्।

यहाँबाट प्रश्न सुरु हुन्छ, दाडे मष्टो कहाँबाट आयो? जुम्लाको यो बस्तीमा कसरी पुग्यो? दाडे मष्टो मष्टाका बाह्र भाइमध्ये कुन हो? यसको मूल थान कहाँ हो? र धामीको शरीरमा ‘देवता चढ्ने’ विश्वासको पछाडि इतिहास के छ?

यी प्रश्नको उत्तर एउटा मात्र छैन। धामी चक्रबहादुरका अनुसार दाडे मष्टोको मुख्य थान दैलेखको राउतकोट हो। ‘हाम्रो मष्टोको मुख्य थान भनेको राउतकोट हो, दैलेख राउतकोट,’ उनी भन्छन्। उनका अनुसार त्यही राउतकोटबाट दाडे मष्टो जुम्लाको पाथरखोलामा आएको हो। उनले थपे, ‘त्यो राउतकोटबाट यहाँ पाथरखोला आएको हो हजुर।’

तर मष्टोको इतिहासबारे उपलब्ध अनुसन्धान र प्रकाशित सामग्री हेर्दा ‘दाडे मष्टो राउतकोटबाट पाथरखोला आएको’ भन्ने कथालाई अहिले नै प्रमाणित ऐतिहासिक तथ्यका रूपमा लेख्न सकिँदैन। यो स्थानीय धामीको स्मृति र समुदायमा चलेको मौखिक इतिहास हो।

यहीँ मष्टो परम्पराको सबैभन्दा ठूलो विशेषता भेटिन्छ, यसको इतिहासको ठूलो हिस्सा लिखित दस्तावेजमा होइन, धामी, पुजारी, ज्येष्ठ नागरिक र परिवारका स्मृतिमा बाँचेको छ।

मष्टो पूजाको लिखित शास्त्र वा एउटै सर्वमान्य विधिविधान नभएको र पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको परम्परा भएको अध्ययनहरूमा उल्लेख छ। मष्टोका थानमा मूर्ति नहुने, शिलालाई देवताको प्रतीकका रूपमा राखिने र पूजा तथा अनुष्ठानमा धामीको केन्द्रीय भूमिका रहने विवरण पनि पाइन्छ। त्ययसैले दाडे मष्टोको इतिहास खोज्दा पुस्तक मात्र होइन, थान र धामीको स्मृति पनि हेर्नुपर्ने हुन्छ।

जुम्लामा मष्टोको कुरा गर्दा ‘बाह्र भाइ मष्टो’ भन्ने शब्द पटकपटक सुनिन्छ। स्थानीय मान्यतामा मष्टोका विभिन्न स्वरूप र शाखा रहेको विश्वास छ। तर यहाँ पनि एउटा रोचक विरोधाभास छ, बाह्र भाइ भनिए पनि बाह्र भाइको नामको एउटै आधिकारिक सूची भेटिँदैन।

सिञ्जा क्षेत्रमा प्रचलित सूचीका आधारमा प्रकाशित एक अध्ययनले आदि मष्टो, खापर/खापड मष्टो, बाबिरो मष्टो, काला मष्टो, रुमाला मष्टो, ढँडार/ढँडारे मष्टो, थार्पा मष्टो, बान्नी मष्टो, कावा मष्टो, मण्डली मष्टो, दुधे/डाडे मष्टो र दारे मष्टोलाई बाह्र मष्टाका रूपमा प्रस्तुत गरेको छ। त्यस्तै पाण्डुसेरा क्षेत्रमा अपि, खापर, बाबिरो, काला, ढँडार, कावा, मण्डली, दाडे र दाह्रे मष्टोलगायतका नाम उल्लेख छन्। त्यहाँ गुरो र विजय मष्टोलाई ‘भाइराजा’का रूपमा पनि मानिने उल्लेख छ।

कान्तिपुरमा प्रकाशित ढँडार मष्टासम्बन्धी रिपोर्टले पनि मष्टोका स्वरूप र भाइको संख्या तथा नामबारे क्षेत्रअनुसार फरक विश्वास रहेको देखाउँछ। त्यस रिपोर्टमा दुधे, लडे, सत्वगुणी र दाह्रे मष्टोलाई स्वरूप तथा बढमष्टो, थार्पा, बाबिरा, लिउडी, कामत, सिम आदिलाई भाइका रूपमा उल्लेख गरिएको छ। त्यसैले ‘बाह्र भाइ’लाई कुनै एक स्थिर धार्मिक सूचीका रूपमा प्रस्तुत गर्नु जोखिमपूर्ण हुन्छ।

संस्कृतिको अध्ययन गर्नेहरूका लागि सम्भावित उत्तर भूगोलमा छ। एउटै देवतालाई विभिन्न ठाउँमा फरक नामले पुकारिँदा अलग, अलग मष्टोका रूपमा विकसित भएको हुनसक्ने एकथरी मत छ। एउटा अध्ययनले मष्टोका १०८ नामसम्म संकलन गरिएको उल्लेख गर्दै कर्णालीमा बाह्र शाखा र सुदूरपश्चिममा अठार शाखाको अवधारणा पाइने बताउँछ।

अर्थात् ‘बाह्र भाइ’ केवल धार्मिक संख्या नहुन सक्छ; यो फरक भूगोल, वंश, बस्ती र कुलपरम्पराले मष्टोलाई आफ्नै ढंगले आत्मसात् गरेको ऐतिहासिक प्रक्रियाको सांस्कृतिक स्मृति पनि हुन सक्छ।

जुम्लालाई मष्टो संस्कृतिको प्रमुख भूगोल मान्नेहरू धेरै छन्। संस्कृतिविद् रमानन्द आचार्यले मष्टो संस्कृतिलाई कर्णाली, विशेषत, जुम्लाको मौलिक पहिचानका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार मष्टोप्रतिको आस्थाले सिञ्जा राज्यदेखि युद्धमा विजयसम्मका कथासँग स्थानीय स्मृतिमा सम्बन्ध राख्छ।

जुम्ला, पाण्डुसेरा क्षेत्रमा अपि, खापर, बाबिरो, काला, ढँडार, कावा, मण्डली, दाडे र दाह्रे मष्टोलगायतका नाम भेटिन्छन्। कतिपय स्रोतले बुडु मष्टोलाई जुम्लामा अत्यन्त शक्तिशाली वा प्रमुख मष्टोका रूपमा पनि उल्लेख गरेका छन्। यसले एउटा महत्त्वपूर्ण तथ्य देखाउँछ, जुम्लामा मष्टो एउटै देवताको नाम होइन; यो देवता, थान, वंश र भूगोलसँग गाँसिएको एउटा ठूलो धार्मिक–सांस्कृतिक प्रणाली हो।

कुनै मष्टोको नाम उसको मूलथानसँग जोडिएको देखिन्छ। बझाङको ढँडारमा मूलथान भएकोलाई ढँडार मष्टो, मुगुको थार्पा क्षेत्रसँग जोडिएकोलाई थार्पा मष्टो र जुम्लाको बाबिरो गाउँसँग जोडिएकोलाई बाबिरो मष्टो भनिने विवरण पाइन्छ। त्यसैगरी दाडे मष्टोको मुख्य थान राउतकोट भएको चक्रबहादुरको भनाइलाई पनि यही ढाँचाभित्र राखेर हेर्न सकिन्छ, अर्थात् स्थानीय मष्टोको पहिचान उसको भूगोल र पुर्खाको बसाइँसराइसँग जोडिएको हुनसक्छ। तर यसको पुष्टि गर्न स्थलगत अनुसन्धान, थानका अभिलेख, वंशावली र पुराना लिखत खोज्नुपर्ने हुन्छ।

मष्टो संस्कृतिको केन्द्रमा छन्, धामी। अर्थात् मष्टो परम्परामा धामीलाई देवता र समुदायबीचको माध्यमका रूपमा लिइन्छ। धामीमा देवता चढ्ने, देवताको वाणी बोल्ने र समुदायका प्रश्नको उत्तर दिने विश्वास पाइन्छ। पश्चिम नेपालमा मष्टो धामी परम्पराबारे अध्ययन गरेका मानवशास्त्री मार्क गाबोरियोले पनि मष्टो, धामी र देवता मानव सम्बन्धलाई आफ्नो अध्ययनको विषय बनाएका थिए। उनको मष्टा देवताबारेको प्रारम्भिक अध्ययन सन् १९६९ मा प्रकाशित भएको उल्लेख पाइन्छ।

धामी बन्ने कुरा पनि व्यक्तिगत दाबीमा निर्भर नहुने उदाहरण भेटिन्छ। एउटा प्रकाशित विवरणमा मष्टाका धामीको निधनपछि आफूलाई देवता चढेको दाबी गर्ने धेरै व्यक्तिमध्ये समुदायले लामो परीक्षण र प्रश्नोत्तरपछि उत्तराधिकारी पहिचान गरेको उल्लेख छ। यसले धामी संस्था व्यक्तिगत आध्यात्मिक दाबीभन्दा सामुदायिक स्वीकृतिसँग पनि जोडिएको देखाउँछ।

चक्रबहादुरको अनुभव पनि त्यही मौखिक विश्वासमा आधारित छ। ‘१६ औँ जैसी, १६ औँ धामी भन्ने, कहीँ ती बोलवचन लागे होला,’ उनी भन्छन्। तीन दशकभन्दा लामो समयदेखि धामीको भूमिका निर्वाह गरिरहेका उनलाई समुदायले स्वीकारेको छ। त्यसैले उनको शरीरमा ‘देवता आउने’ कुरा वैज्ञानिक रूपमा प्रमाणित तथ्यभन्दा समुदायको धार्मिक विश्वास र सांस्कृतिक अनुभवको विषय हो।

जुम्लामा धामीको भूमिका धार्मिक अनुष्ठानभन्दा फराकिलो देखिन्छ। मष्टोका धामी सामाजिक विवाद समाधान, साइत, भाकल, सामाजिक निर्णय र समुदायका कतिपय महत्वपूर्ण काममा प्रभावशाली हुने गरेको विवरण पाइन्छ। जुम्लामा मष्टो तथा अन्य देवताका धामीले साँध, सिमाना, अंशबन्डा, झैझगडा र अन्य विवादसमेत स्थानीय रूपमा मिलाउने गरेको पाइन्छ।

सिञ्जाका केही क्षेत्रमा धामीले खेतीपाती, बिहे, व्रतबन्ध तथा अन्य सामाजिक कामको साइत दिने चलनसमेत केही हदसम्म कायम रहेको छ। यसको अर्थ धामी संस्था कुनै समयमा धार्मिक मात्र नभई स्थानीय सामाजिक शासनको एउटा अनौपचारिक संरचनासमेत थियो भन्ने संकेत मिल्छ। आज भने त्यो भूमिका कमजोर हुँदै गएको छ।

मष्टो परम्पराको सबैभन्दा रोचक पक्ष आधुनिक समयसँग यसको सम्बन्ध हो। धामी चक्रबहादुरलाई सोधियो, बिरामी परेपछि धामीकहाँ जाने कि अस्पताल? उनको उत्तर अपेक्षाभन्दा फरक छ। ‘हामी त केही भएपछि नाडी छाम्छौँ, नत्र अस्पताल। पहिले अस्पताल जानुपर्छ,’ उनी अझ स्पष्ट पार्छन्, ‘धेरै देउताका भर पर्ने पनि होइन, आस्था मान्ने हो। हामी हिन्दू हौँ, मान्नुपर्छ। बढी अस्पताल गर्नुपर्छ। नत्र हामीले धेरै रोक्यौँ भने कहिलेकाहीँ ज्यान जान्छ।’

यो भनाइलाई मष्टो परम्परामा आएको सामाजिक परिवर्तनको संकेतका रूपमा पढ्न सकिन्छ। आस्था बाँकी छ, तर उपचारका लागि आधुनिक चिकित्सा स्वीकार गरिएको छ। अर्थात् मष्टो परम्परा आफ्नो पुरानो धार्मिक संरचना जस्ताको तस्तै बोकेर मात्र अगाडि बढेको छैन। त्यसले आधुनिक समाजसँग सम्झौता गर्दै आफ्नो अर्थ परिवर्तन गरिरहेको छ।

यहीँ मष्टो परम्परा अध्ययनको सबैभन्दा कठिन प्रश्न हो, मौखिक इतिहासलाई इतिहास मान्ने कि नमान्ने? इतिहासकारका लागि मौखिक कथन प्रमाणको अन्तिम तह होइन। तर त्यसलाई प्रमाणहीन भनेर फाल्नु पनि गलत हुन्छ। दाडे मष्टोको राउतकोट, पाथरखोला कथा यसको उदाहरण हो। आज चक्रबहादुरले पुर्खाबाट सुनेको कथा सुनाइरहेका छन्। सम्भवतः उनीभन्दा अघिका धामीले पनि त्यही कथा सुनाए। त्यसअघि कसैले अर्को रूपमै सुनाएको हुनसक्छ।

कथाको विवरण बदलिन सक्छ। पात्रको नाम फेरिन सक्छ। ठाउँको नामको उच्चारण बदलिन सक्छ। तर त्यस कथाले समुदायलाई आफ्नो अतीतबारे एउटा साझा स्मृति दिएको हुन्छ। सन् १६२७ तिरको लेनदेनसम्बन्धी लिखतमा भवानी देवी र मष्टोलाई साक्षी राखिएको उल्लेख पाइन्छ। यसलाई कर्णाली क्षेत्रमा मष्टो परम्पराको पुरानो लिखित प्रमाणका रूपमा केही अनुसन्धानकर्ताले महत्त्व दिएका छन्।

तर एउटा पुरानो लिखत भेटिँदैमा मष्टो त्यही दिनबाट जन्मियो भन्ने हुँदैन। बरु यसले त्यो समयसम्म मष्टो सामाजिक धार्मिक जीवनमा स्थापित भइसकेको हुनसक्ने संकेत गर्छ। यही कारण इतिहासकारका लागि थान, शिला, धामी, वंशावली, लोकगीत, मागल, देउडा, पुराना लिखत र मौखिक कथा सबैलाई एकसाथ पढ्नु आवश्यक हुन्छ।

मष्टोको उत्पत्तिबारे पनि एउटै कथा छैन। कतिपय लोकविश्वासले यसको उद्गम कैलाश, मानसरोवर क्षेत्रसँग जोड्छन्। कतिपय कथाले बझाङको ढँडार वा बान्नीलाई मूलथलो मान्छन्। खसहरूको ऐतिहासिक विस्तारसँगै मष्टो परम्परा कर्णालीमा विकसित भएको अर्को मत छ।

अध्ययनहरूले मध्यएसियाबाट नेपाल प्रवेश गर्ने क्रममा खसहरूले मष्टो, केदार, दुर्गा र कुलपूजासँग सम्बन्धित परम्परा ल्याएको किंवदन्ती रहेको उल्लेख गर्छन्। तर यो विषयलाई निर्विवाद ऐतिहासिक तथ्यका रूपमा भन्दा सांस्कृतिक उत्पत्तिसम्बन्धी परम्परागत व्याख्याका रूपमा बुझ्नुपर्छ।

मष्टोको उत्पत्तिबारे फरक–फरक कथा हुनु आफैमा असामान्य होइन। लोकपरम्परामा देवताको यात्रा प्रायः समुदायको आफ्नै भूगोल र वंशसँग जोडिन्छ। त्यसैले बझाङको ढँडारले आफूलाई मूलथलो ठान्न सक्छ, जुम्लाको कुनै गाउँले आफ्नो मष्टोलाई आफ्नै पुर्खासँग जोड्न सक्छ, र दाडे मष्टोका धामीले दैलेखको राउतकोटलाई मूलथान भन्न सक्छन्।

यीमध्ये कुन ‘सही’ हो भन्ने प्रश्नभन्दा पनि यी फरक कथाहरू किन बने भन्ने प्रश्न इतिहासका लागि बढी महत्त्वपूर्ण हुन सक्छ। चक्रबहादुरसँगको कुराकानीले एउटा अवसर पनि देखाएको छ।

उनलाई थाहा भएको कथा अझै उनीसँग छ। उनका अघिल्ला धामीको स्मृति अझै केही ज्येष्ठ नागरिकसँग हुन सक्छ। राउतकोटमा दाडे मष्टोको थानसम्बन्धी परम्परा के छ? पाथरखोलामा मष्टो कसले ल्यायो? कुन परिवारको वंशसँग जोडिन्छ? थान कहिले स्थापना भयो? पुराना धामी को थिए? पूजा विधि कहिले परिवर्तन भयो?

यी प्रश्नको उत्तर खोजिए भने दाडे मष्टोको कथा केवल धार्मिक किंवदन्ती रहँदैन। त्यो जुम्ला–दैलेखको बसाइँसराइ, वंश सम्बन्ध र स्थानीय सामाजिक इतिहास बुझ्ने स्रोत बन्न सक्छ। अहिले भने उपलब्ध प्रमाणले यति मात्र भन्न दिन्छ, दाडे मष्टो जुम्लाको मष्टो परम्परामा जीवित छ। स्थानीय धामीले त्यसलाई राउतकोटसँग जोड्छन् र यो सम्बन्धको विस्तृत लिखित प्रमाण अझै खोजिन बाँकी छ।

जनै पूर्णिमाको दिन हसमाका अध्यक्ष शाही चक्रबहादुरलाई काँधमा बोकेर पतुर्दै गरेको दृश्यभित्र तीन दशकदेखि धामीको भूमिका निर्वाह गरिरहेका एक व्यक्तिको जीवन छ। त्यसपछाडि एउटा परिवारको इतिहास छ। एउटा गाउँको विश्वास छ। एउटा थानको स्मृति छ। र त्यसभन्दा पछाडि खस समाज, कर्णालीको बसाइँसराइ र मष्टो परम्पराको लामो सांस्कृतिक यात्रा छ।

मष्टो परम्परालाई ‘अन्धविश्वास’ भनेर खारेज गर्दा त्यसमा सुरक्षित सामाजिक इतिहास छुट्न सक्छ। अर्कोतर्फ मौखिक कथालाई जस्ताको तस्तै प्रमाणित इतिहास ठान्दा पत्रकारिता र इतिहास दुवै कमजोर हुन्छन्। त्यसैले दाडे मष्टोको कथा अहिले एउटा खुला प्रश्न हो।

राउतकोटमा यसको कुनै पुरानो लिखत भेटिन्छ कि? पाथरखोलामा मष्टो स्थापना गर्ने परिवारको वंशावलीमा यसको संकेत छ कि? स्थानीय थानमा पुरानो शिला, धजा, पूजा सामग्री वा अभिलेख छ कि? जुम्लाका अन्य मष्टो थानसँग यसको नातागत सम्बन्ध के हो? ‘बाह्र भाइ’को कुन सूची दाडे मष्टोसँग सम्बन्धित समुदायमा प्रचलित छ?

यी प्रश्नको अनुसन्धान हुन बाँकी छ। तर एउटा कुरा स्पष्ट छ,, मष्टो जुम्लाका लागि देवताको नाम मात्रै होइन। यो एउटा जीवित सांस्कृतिक अभिलेख हो। दाडे मष्टोका धामी चक्रबहादुर शाही त्यस अभिलेखका अहिलेका जीवित साक्षी। ‘आस्था मान्ने हो,’ उनी भन्छन्, ‘तर बढी त ज्ञान विज्ञान मान्नुपर्छ।”

परम्परा र आधुनिकताको बीचमा उभिएको यो एउटा वाक्यले शायद आजको मष्टो संस्कृतिको सबैभन्दा ठूलो कथा भन्छ, देवता अझै थानमा छन्, धामी अझै पतुर्दैछन्, पुर्खाका कथा अझै सुनिन्छन्। तर समाज भने आफ्नो बाटोमा अगाडि बढिसकेको छ। अब प्रश्न यति मात्र हो, समाज अगाडि बढ्दा उसले आफ्नो यो मौखिक इतिहास पनि सँगै लैजान्छ कि बाटोमै छाडिदिन्छ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार