बोगोटा । पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ भवनमा क्षति पुगेको छ। भूकम्पपछि विभिन्न स्थानमा मानिसहरू भवनभित्र च्यापिएको आशंका गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ७.४ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरबीच पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो।

पेरेराका मेयर मौरिसियो सालाजारले भूकम्पमा १८ जनाको मृत्यु भएको पुष्टि गर्दै केही मानिस अझै भत्किएका संरचनाभित्र पुरिएको बताएका छन्। काली सहरमा मात्रै कम्तीमा २० वटा भवन भत्किएको र ती संरचनामा मानिसहरू च्यापिएको मेयर अलेहान्ड्रो एडरले जानकारी दिएका छन्।
भूकम्पको धक्का कोलम्बियाका विभिन्न सहरसँगै छिमेकी मुलुक भेनेजुएलासम्म महसुस गरिएको थियो। क्विब्डो, पेरेरा र मनिजालेससहितका सहरमा भौतिक क्षति पुगेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा भत्किएका भवन तथा मनिजालेसको ऐतिहासिक क्याथेड्रलमा समेत क्षति पुगेको देखिएको छ।

पराकम्पको जोखिम बढेपछि कतिपय सहरमा भवन खाली गराइएको छ। भूकम्पका कारण देशका ६ वटा विमानस्थलले समेत उडान सेवा बन्द गरेका छन्।
चोको क्षेत्रकी गभर्नर नुपिया क्यारोलिना कोर्डोबा-क्युरीले ठूलो भूकम्प गएको र पराकम्पको जोखिम रहेको भन्दै क्षतिको विवरण संकलन भइरहेको बताएकी छन्। उनले क्षेत्रको राजधानी क्विब्डोमा क्षति हुनुका साथै केही मानिस घाइते भएको जानकारी दिएकी छन्।

यसैबीच, भर्खरै पदभार ग्रहण गरेका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले उद्धार तथा राहत कार्यको नेतृत्व सरकारले तत्काल अघि बढाएको बताएका छन्। उनले प्रभावित क्षेत्रको क्षति मूल्यांकन, उद्धार र राहतका लागि एकीकृत कमाण्ड पोस्ट स्थापना गर्न निर्देशन दिइएको जनाएका छन्। राष्ट्रपति स्वयं पेरेरा पुगेर प्रभावितसँग भेट गर्ने तयारीमा रहेको बताइएको छ।

















