समयमा रेबिजविरुद्धको खोप लगाउन नपाउँदा जुम्लाकी एक बालिकाले ज्यान गुमाएकी छन्। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
चिकित्सकका अनुसार उनको मृत्यु रेबिज इन्सेफ्लाइटिसका कारण भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. कमल थानीका अनुसार समितालाई करिब दुई महिनाअघि कुकुरले टोकेको थियो।
तर रेबिजविरुद्ध आवश्यक खोप नलगाइएकाले संक्रमण गम्भीर बन्दै गएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि मात्रै परिवारले उनलाई अस्पताल ल्याएका थिए।
डा. थानीले यो घटना अत्यन्तै दुःखद र सचेतनामूलक भएको बताउँदै कुकुरले टोकेपछि समयमै खोप लगाए रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने उल्लेख गरे। उनका अनुसार समितालाई टोकेको कुकुरले अन्य तीन–चार जनालाई पनि टोकेको जानकारी प्राप्त भएको छ।
ती व्यक्तिहरूले रेबिजविरुद्धको खोप लगाए वा नलगाएको विषय तत्काल पहिचान गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ।
‘रेबिज लागेपछि उपचार अत्यन्त कठिन हुन्छ, तर कुकुर वा स्यालले टोकेलगत्तै लगाइने केही मात्रा खोपले ज्यान बचाउन सक्छ,’ उनले भने। उनले यस घटनालाई दुःखद घटनामात्र नभई सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताए।
यसैबीच, कर्णाली प्रदेशमा रेबिजविरुद्धको खोप अभाव रहेको तथ्य पनि बाहिर आएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार खोप अभाव हुनुको कारण समयमै टेन्डर हुन नसक्नु हो।
नेपाल सरकारले विगतमा निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप हाल कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध छैन। जुम्लाको कालिकाखेतस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ‘बीस डोज’ मात्रै सीमित मात्रामा मौज्दात रहेको उनको भनाइ छ।
डा. थानीका अनुसार रेबिज शतप्रतिशत ज्यान लिन सक्ने रोग भए पनि समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ। तर खोपको अभाव, जनचेतनाको कमी र स्वास्थ्य सेवामा ढिलाइका कारण अझै पनि यस्ता दुःखद घटनाहरू दोहोरिने जोखिम रहेको छ।
समिताको मृत्युले कर्णालीमा रेबिज नियन्त्रण, खोपको उपलब्धता र जनचेतना अभिवृद्धिका विषयलाई पुनः गम्भीर रूपमा उठाएको छ। जनस्वास्थ्य सेवा कार्यालय प्रमुख शर्माले कुकुर वा अन्य जनावरले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेका छन्।















