सोमबार, १ असार, २०८३

मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनी संसार रेमिट र पशुपति पे इन्डिया बीच भएको रणनीतिक साझेदारीपछि भारतमा रहेका नेपालीहरूले मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन्।

कम्पनीका अनुसार भारतमा बसोबास गरिरहेका नेपालीहरूले पशुपति पे एप डाउनलोड गरी अनलाइनमार्फत ग्राहक पहिचान प्रमाणीकरण (केवाईसी) पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट नेपालमा सहज रूपमा रकम पठाउन सक्नेछन्। यसका लागि अब भौतिक एजेन्ट वा शाखा कार्यालयमा पुग्नुपर्ने बाध्यता रहने छैन।

हालसम्म धेरै सेवाग्राहीहरूले रेमिट्यान्स पठाउन एजेन्ट वा सेवा केन्द्रमा पुग्नुपर्ने अवस्था रहेकामा पशुपति पे एपमार्फत सम्पूर्ण प्रक्रिया मोबाइलबाटै सम्पन्न गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसबाट सेवाग्राहीको समय र लागत दुवै बचत हुने तथा सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा रकम पठाउन सकिने विश्वास गरिएको छ।

संसार रेमिटका उपमहाप्रबन्धक राजीव पोखरेल का अनुसार भारतको जुनसुकै स्थानबाट चौबीसै घण्टा नेपालका बैंक खाता तथा डिजिटल भुक्तानी वालेटहरूमा सिधै रकम पठाउन सकिने सुविधा उपलब्ध हुनेछ। परम्परागत माध्यमको तुलनामा कम लागतमा पूर्ण रूपमा सुरक्षित र वैधानिक तवरले रेमिट्यान्स सेवा प्रदान गरिने उनले बताए।

कम्पनीका अनुसार सेवा शुल्क (कमिसन) पनि प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम राखिएको छ। साथै नयाँ ग्राहकहरूका लागि पहिलो कारोबार निःशुल्क रूपमा गर्ने व्यवस्था गरिएको छ।

भारतमा करिब ३० देखि ३५ लाख नेपालीहरू बसोबास गरिरहेको अनुमान भए पनि हाल १० देखि १५ प्रतिशतले मात्र औपचारिक माध्यममार्फत नेपालमा पैसा पठाउने गरेका छन्। नयाँ सेवाले वैधानिक रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्नुका साथै हुन्डीजस्ता अवैध कारोबारलाई निरुत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संसार रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालभरका बैंक तथा वित्तीय संस्था तथा प्रमुख डिजिटल भुक्तानी माध्यमहरूमार्फत करिब दुई दशकदेखि सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार