शुक्रबार, २२ जेष्ठ, २०८३

प्रतिष्ठानमा एमपीएच अध्ययनरत पहिलो ब्याचका विद्यार्थीलाई गरियो विदाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित जनस्वास्थ्य महाविद्यालयको मास्टर अफ पब्लिक हेल्थ (एमपीएच) कार्यक्रमको पहिलो ब्याचका विद्यार्थीको विदाई गरिएको छ।

कर्णाली क्षेत्रमै उच्चस्तरीय जनस्वास्थ्य शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको प्रतिष्ठानका विद्यार्थीलाई आज एक विशेष कार्यक्रम गरि विदाई गरिएको हो।

पहिलो ब्याचका विद्यार्थीहरूको सफलतासँगै कर्णालीमै जनस्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्ने अभियानले नयाँ उचाइ प्राप्त गरेको जनस्वास्थ्य महाविद्यालयका सहायक डिन शेसानन्द संजेलले बताए।

उनका अनुसार विकटमा स्वास्थ्य सेवाको पहुँच चुनौतीपूर्ण मानिने कर्णाली क्षेत्रमा यस्ता दक्ष जनस्वास्थ्यकर्मी उत्पादन हुनु स्वास्थ्य क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रतिष्ठानका फिल्ड कोर्डिनेटर ओम प्रकाश काफ्लेले एमपीएच कार्यक्रमको पहिलो ब्याचको अध्यापन कार्य सफलतापूर्वक सम्पन्न हुनु प्रतिष्ठानका लागि गर्वको विषय भएको बताए।

उनले विद्यार्थीहरूले अध्ययनका क्रममा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई समुदाय तथा राष्ट्रको स्वास्थ्य सुधारमा उपयोग गर्दै उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे।

एमपीएच कोर्डिनेटर निशान्त लामाले पहिलो ब्याचको सफलताले कार्यक्रमको गुणस्तर र प्रभावकारिता प्रमाणित गरेको बताए। विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण तथा प्रतिष्ठानको निरन्तर सहयोगका कारण यो उपलब्धि सम्भव भएको उनको भनाइ छ।

सहायक डिन संजेलले एमपीएच कार्यक्रमको पहिलो समूहले अध्ययन पूरा गर्नु प्रतिष्ठानको शैक्षिक इतिहासमा महत्वपूर्ण उपलब्धि भएको उनले थपे।

उनले भने, ‘जनस्वास्थ्य क्षेत्रमा नेतृत्वदायी, अनुसन्धानमुखी तथा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानलाई यस सफलताले थप ऊर्जा प्रदान गरेको छ।’

प्रतिष्ठानका डाइरेक्टर डा. विनम्र बिष्टले पहिलो ब्याचका विद्यार्थीहरूको सफलताप्रति खुशी व्यक्त गर्दै प्रतिष्ठानले गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने आफ्नो उद्देश्यलाई सार्थक बनाएको बताए।

उनले स्नातक विद्यार्थीहरूले प्राप्त ज्ञान र सीपलाई समाज तथा राष्ट्रको स्वास्थ्य सुधारमा प्रयोग गर्दै उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार