खेलकुद क्षेत्रको चौतर्फी विकास र यसलाई राजनीतिक भागबन्डाबाट मुक्त राख्ने दृढ संकल्पका साथ जुम्ला जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदका लागि एक स्वतन्त्र युवाले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
लामो समयदेखि खेलकुदको मैदानमै पसिना बगाएर र नयाँ पुस्तालाई प्रशिक्षित गरेर यस क्षेत्रको वास्तविक धरातल बुझेका जुमणला हिमाका नरजित शाहीले जुम्लाको खेलकुदलाई नयाँ उचाइमा पुर्याउन आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताए।
विगत १२ देखि १५ वर्षसम्म निरन्तर खेलकुद क्षेत्रमै क्रियाशील रहँदै आएका उनले अब खेलकुदमा परम्परागत राजनीतिको खेल बन्द हुनुपर्ने र वास्तविक खेलाडीले नै नेतृत्व पाउनुपर्ने अडान राखेका छन्। विशेष गरी कर्णाली क्षेत्र र त्यसमा पनि जुम्ला जिल्ला खेलकुदका लागि निकै ठूलो सम्भावना बोकेको भूमि हो।
तर, नेतृत्व तहमा खेल र खेलाडीको मर्म नबुझ्ने व्यक्तिहरूको राजनीतिक नियुक्ति हुँदा यहाँका प्रतिभावान खेलाडीहरू सधैँ छायामा पर्दै आएका छन्। यसै पृष्ठभूमिमा शाहीले खेलकुदमा आमूल परिवर्तनको लहर ल्याउन आफू मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।
खेलकुदलाई स्वच्छ, पारदर्शी र स्वतन्त्र रूपमा अगाडि बढाउने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताउँदै उनले आफूमाथि कुनै पनि प्रकारको राजनीतिक दबाब वा खेलबाड नगर्न राजनीतिक दल र सरोकारवालाहरूलाई कडा चेतावनी समेत दिएका छन्।
‘खेलकुद विकास समितिको नेतृत्व चयन प्रक्रियालाई पूर्ण रूपमा मर्यादित र निष्पक्ष बनाउन आवश्यक छ,’ उनले भने, ‘त्यसैले मैले खेलकुदको अध्यक्ष पदका लागि राजनीतिक तोक आदेश वा नातावादको आधारमा नभई लिखित परीक्षाको माध्यमबाट योग्य व्यक्ति छनोट गरिनुपर्ने माग राखेको छु।’
जुम्लाको खेलकुदलाई अगाडि बढाउने र खेलाडीको भविष्य सुनिश्चित गर्ने चाहना हो भने नेतृत्व चयनका लागि खुला र पारदर्शी प्रतिस्पर्धाको वातावरण निर्माण गरिनुपर्ने उनको तर्क छ।
आफैँ खेल मैदानमा उत्रिएर हरेक चुनौती र अभावलाई नजिकबाट भोगेका युवालाई रोक्न खोजिए त्यो जिल्लाकै खेलकुदका लागि दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ।
‘ग्राउन्डमै गएर खेलेका, खेलको प्राविधिक र व्यावहारिक पाटो बुझेका तथा खेलकुदकै लागि आफ्नो ऊर्जाशील समय खर्चिएका युवाहरू नै वास्तविक नेतृत्वका हकदार हुन्,’ उनले भने।
उनका अनुसार जुम्लामा खेलकुद पूर्वाधारको अभाव, खेलाडीहरूको पलायन र खेल गतिविधिमा हुने राजनीतिक हस्तक्षेपलाई चिर्नका लागि यस्ता स्वतन्त्र र प्रतिबद्ध युवाको नेतृत्व आवश्यक देखिन्छ।
















