जुम्लाको हिमा गाउँपालिका–६ स्थित खलढुंगा गाउँमा गएको सुख्खा पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। गत चैत १७ गते दिउँसो करिब १२ बजेतिर गाउँमाथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एक घर पूर्ण रूपमा नष्ट गर्नुका साथै अर्को घर आंशिक रूपमा क्षतिग्रस्त बनाएको थियो।
सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको थियो। घटनाबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ भने मानवीय क्षति भने भएन।
उक्त घटनापछि स्थानीय स्तरमा आपतकालीन राहत संकलन गरी २०८३ साल वैशाख २ गते पीडित परिवारलाई वितरण गरिएको राहत संकलन तथा समन्वय टोलीले जनाएको छ। राहत संकलन अभियानअन्तर्गत विभिन्न सहयोगीद्वारा उल्लेखनीय योगदान भएको छ।
राहत खर्च विवरणअनुसार ललित जङ्ग अधिकारीबाट ४० हजार, सुसिला अधिकारीबाट १५ हजार र सारदा अधिकारीबाट १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। साथै, संकलित रकमबाट हिमा–६ कै एम्बुलेन्स दुर्घटनामा निधन भएका स्वर्गीय भिमबहादुर अधिकारीको परिवारलाई पनि सानो सहयोग प्रदान गरिएको जनाइएको छ।
बैंकसम्बन्धी खर्चतर्फ कुमारी बैंकमा खाता सञ्चालनका लागि १ हजार र चेक तथा ब्यानर निर्माणमा १ हजार २०० रुपैयाँ खर्च गरिएको छ। कुल खर्च ७२ हजार २०० रुपैयाँ रहेको छ।
यसैगरी, सिद्धार्थ बैंकमा भरत बहादुर शाहीको खातामा ५० हजार ७७७ रुपैयाँ र कुमारी बैंकमा धर्मेन्द्र अधिकारीको खातामा ४० हजार ५४७ रुपैयाँ गरी जम्मा ९१ हजार ३२४ रुपैयाँ संकलन भएको छ। खर्च कटाएर बाँकी रकम राहत, उद्धार तथा विपद् व्यवस्थापन कोषमा सुरक्षित राखिएको राहत संकलनमा संलग्न धर्मेन्द्रले जानकारी दिइए।
राहत संकलन तथा वितरण कार्य धर्मेन्द्र अधिकारी, भरत ब. शाही र भक्त ब. शाहीको समन्वयमा सम्पन्न भएको हो। टोलीले सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा राखेको जनाएको छ।
स्थानीयका अनुसार, खलढुंगा गाउँ लामो समयदेखि कमजोर चट्टान र भीरको उच्च जोखिममा पर्दै आएको छ। यसअघि २०७९ सालमा आएको अविरल वर्षाका कारण पनि उक्त गाउँका ६ वटा घर पहिरोले बगाएको थियो। त्यसबेला समेत पर्याप्त राहत नपाएको गुनासो दोहोरिएको छ।
हाल प्रभावित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। वर्षायाम नजिकिँदै गर्दा थप जोखिम बढ्ने चिन्ताबीच स्थानीयले सम्बन्धित निकायसँग तत्काल उद्धार, राहत तथा दीर्घकालीन समाधानको माग गरेका छन्।
















