जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो जाँदा तीन वटा घरमा क्षति पुगेको छ।
आज (२०८२ चैत १७ गते) दिउँसो करिब १२ बजेतिर गाउँ माथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ।
त्यस्तै सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ।
पहिरोका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामग्रीसमेत पूर्ण रूपमा नष्ट भएका छन्।
घटनाबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन्।
दिनको समयमा पहिरो गएको कारण मानवीय क्षति भने नभएको बताइएको छ।
स्थानीयका अनुसार, उक्त क्षेत्रमा ढुंगा खस्ने जोखिमबारे गाउँका युवाहरूले एक हप्ता अघि नै स्थानीय सरकारलाई निवेदन दिएका थिए।
जनप्रतिनिधिहरूले स्थल निरीक्षण गरी समस्या समाधान गर्ने आश्वासन दिएको भए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरिएको छ।
घटना भएको घण्टौं बितिसक्दा पनि सम्बन्धित निकाय घटनास्थलमा नपुगेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
घरधनी आफैं प्रहरी चौकी जुगाडमा निवेदन दिन जाँदा ‘भोलि आउने’ आश्वासन मात्र पाएको बताइएको छ।
हाल प्रभावित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।
स्थानीयवासीका अनुसार, खल्ढुङ्गा गाउँ लामो समयदेखि कमजोर चट्टान र भीरको जोखिममा रहेको छ।
यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छ वटा घर पहिरोले बगाएको थियो।
तर, त्यसबेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको गुनासो छ।
वर्षायाम नजिकिँदै गर्दा थप जोखिम बढ्ने चिन्ताबीच स्थानीयले सरोकारवाला निकायसँग तत्काल उद्धार, राहत तथा दीर्घकालीन समाधानको माग गरेका छन्।
















