शनिबार, १४ चैत्र, २०८२

आज बन्ने सरकारले भ्रष्टाचारका फाइल खोल्ने आशा छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आज बन्ने सरकारले भ्रष्टाचारका फाइल खोल्ने आशा व्यक्त गरेका छन्।

राम नवमीको दिनमा सामाजिक संजाल मार्फत स्टाटस लेख्दै उनले बालेन सरकारबाट यस्तो अपेक्षा व्यक्त गरेका हुन।

उनले भनेका छन्, ‘अब यो दिन केवल धार्मिक पर्व मात्र रहेन, बरु राजनीतिक पुनर्जागरण र न्यायको नयाँ आशा बोकेको दिन बनेको छ।’

नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाहको आगमनसँगै शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो विगतको सङ्घर्ष, शरीरमा लागेका चोट र देशले भोगेका ठूला भ्रष्टाचारका काण्डहरूको फेहरिस्त सार्वजनिक गर्दै न्यायको याचना गरेका छन्।

शाहीले आफ्नो फेसबुक स्टाटसमा २०७६ साल जेठ १५ र असोज ११ गतेका ती काला दिनहरूलाई स्मरण गरेका छन्, जतिबेला भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा उनीमाथि सुर्खेत र चितवनमा ज्यानै लिने मनसायले आक्रमण गरिएको थियो।

‘भ्रष्टाचार विरुद्ध चिच्याउँदा घाँटी दुख्यो, तर कार्यान्वयन भएन,’ भन्दै उनले संसदमा बिताएका साढे दुई वर्षको तितो अनुभव व्यक्त गरेका छन्।

सडकबाट सदनसम्म पुग्दा पनि न्याय नपाएको उनको गुनासोले नेपालको न्याय प्रणाली र राजनीतिक इच्छाशक्तिमाथिको प्रश्नलाई पुनः ताजा बनाइदिएको छ।

नयाँ नेतृत्वसँग शाहीको अपेक्षा सानो छैन। उनले नेपालको इतिहासमा चर्चामा रहेका र अझै पनि किनारा लाग्न नसकेका २२ वटा ठूला भ्रष्टाचार काण्डहरूको सूची नै प्रस्तुत गरेका छन्।

लाउडा र वाइडबडी जहाज खरिद प्रकरणदेखि पछिल्लो समयको नक्कली भुटानी शरणार्थी, ललिता निवास, ३३ किलो सुन तस्करी, र सहकारी ठगीसम्मका फाइलहरू खोल्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

उनले बुँदागत रूपमा उल्लेख गरेका ओम्नी, टेरामक्स, एनसेल प्रकरण र गिरीबन्धु टी-इस्टेट जस्ता काण्डहरूमा संलग्न “ठूला माछा” हरूलाई जेलको कटघरामा देख्नु नै आम नेपालीको सपना भएको उल्लेख गरेका छन्।

निर्मला पन्तको न्यायका लागि पनि उनले उत्तिकै जोड दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै शाहीले उनलाई भगवान रामजस्तै सत्य र न्यायको मार्गमा हिँड्न सुझाव दिएका छन्।

‘सत्यका लागि १२ वर्ष वनवास बस्नुपरे पनि पछि नहट्नुहोस्, हामी साथमा छौँ,’ भन्ने उनको भावुक सन्देशले नयाँ नेतृत्वप्रति युवा पुस्ता र विपक्षी दलका नेताहरूको समेत कति ठूलो भरोसा छ भन्ने झल्काउँछ।

यद्यपि, यो भरोसासँगै एउटा कडा खबरदारी पनि जोडिएको छ, कहिल्यै अन्याय र भ्रष्टाचारको बाटो नअँगाल्न। सात वर्षअघि सडकमा उत्रिएर सुरु गरेको सङ्घर्षले आज एउटा निर्णायक मोड लिएको शाहीको बुझाइ छ।

शाहीले आफ्नो अभिव्यक्ति मार्फत राजनीतिमा आशा र खबरदारी दुवै जीवितै रहेको सन्देश दिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार