मानव जातिको इतिहास, सामाजिक नियम, राष्ट्रधर्म, सदाचार, कला, त्याग, सत्य आदिको ज्ञान प्राप्त गर्ने प्रमुख साधन वेद हो।
मानवको इहलोक र परलोक कल्याणका साधनका रूपमा धर्मको सम्पूर्ण विश्लेषण वेदहरूमा पाइन्छ। धर्मसँगै अध्यात्म, मर्यादा, ज्ञान–विज्ञान, कला–कौशल, शिल्प–उद्योग आदि विभिन्न विषयहरूको उल्लेख वेदहरूमा गरिएको छ। यसै कारण वेदलाई सम्पूर्ण ज्ञानको खजाना भनिन्छ।
मानव जातिको इतिहास, सामाजिक नियम, राष्ट्रधर्म, सदाचार, कला, त्याग, सत्य आदिको ज्ञान प्राप्त गर्ने प्रमुख साधन वेद हो। वेदमा प्रतिपादित विषयहरूले मानव जातिलाई जन्मदेखि मृत्युसम्म, बिहानदेखि रातिसम्म के–कस्ता क्रियाकलाप गर्नुपर्छ र के गर्न हुँदैन भन्नेबारे मार्गदर्शन गर्छन्। साथै कहिले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा पनि प्रेरणा दिन्छन्।
वेदमा यज्ञकर्म, ईश्वर उपासना, योग, धर्म, अनुष्ठान, विद्याप्राप्ति, ब्रह्मचर्य पालन, सत्सङ्ग, परोपकार आदि साधनहरूको वर्णन गरिएको छ र यिनको अन्तिम लक्ष्य ईश्वरप्राप्ति नै हो।
यज्ञलाई नित्य र नैमित्तिक गरी दुई प्रकारमा विभाजन गरिएको छ। नित्य कर्म अन्तर्गत स्नान, सन्ध्यावन्दन र पञ्चमहायज्ञ आदि पर्दछन्।
पञ्चमहायज्ञमा वेदहरूको स्वाध्याय गरिने ब्रह्मयज्ञ, आफ्नो इष्टदेवको पूजन तथा परमात्माप्रति गरिने उपासना, हवन र दान आदि समावेश हुने देवयज्ञ, पितृहरूको निम्ति गरिने श्राद्ध र तर्पण आदिलाई पितृयज्ञ, कीटपतङ्ग, पशुपक्षी तथा सम्पूर्ण प्राणीहरूको सेवा गरिने भूतयज्ञ र दीनदुःखीको सेवा, भोजनदान तथा अतिथि सत्कारलाई मनुष्ययज्ञ भनिन्छ।
नैमित्तिक कर्म पनि दुई प्रकारका हुन्छन्, जसलाई श्रौत र स्मार्त भनिन्छ। श्रुतिमा प्रतिपादित यज्ञलाई श्रौत यज्ञ भनिन्छ र यसमा केवल वैदिक मन्त्रहरूको प्रयोग हुन्छ। स्मृतिमा प्रतिपादित यज्ञलाई स्मार्त यज्ञ भनिन्छ र यसमा वैदिक, तान्त्रिक तथा पौराणिक मन्त्रहरूको प्रयोग गरिन्छ।
मानिसको चित्तमा विभिन्न प्रकारका नकारात्मक कर्महरूको सञ्चय भएर मन अशुद्ध हुन्छ। त्यसैले त्यो अशुद्धता हटाउन सत्कर्म आवश्यक हुन्छ। वैदिक कर्मकाण्डको उद्देश्य पनि सत्कर्म गराउनु हो।
वेदोक्त कर्म गर्दा चित्त शुद्ध हुन्छ र त्यसपछि ज्ञानको श्रवण, मनन र चिन्तन गर्दै उन्नतिको मार्गमा अगाडि बढ्न सकिन्छ। अपौरुषेय तथा ईश्वरीय ज्ञानरूप वेदसंहिताका शब्द–मन्त्रहरू सुरक्षित राख्न र भावी पुस्तासम्म जस्ताको तस्तै पुर्याउन ऋषिहरूले पाठका विभिन्न विधिहरूको व्यवस्था गरेका हुन्। यी सम्पूर्ण पाठ विधिहरू ऋषिहरूद्वारा प्रतिपादित मानिन्छन्।
वेदपाठ दुई प्रकारका हुन्छन्, जसलाई प्रकृति पाठ र विकृति पाठ भनिन्छ। प्रकृति पाठ तीन प्रकारका हुन्छन्, जसमा संहिता पाठ, पदपाठ र क्रमपाठ पर्दछन्।
विकृति पाठ आठ प्रकारका हुन्छन्, जसमा जटा पाठ, माला पाठ, शिखा पाठ, रेखा पाठ, ध्वज पाठ, दण्ड पाठ, रथ पाठ र घन पाठ समावेश हुन्छन्। वेदका मन्त्रहरू सबैभन्दा पहिले जुन ऋषिहरूले दर्शन गरे, उनीहरूलाई ती मन्त्रका द्रष्टा मानिन्छ। मन्त्रको प्रयोग गर्दा ती ऋषिहरूको नाम पनि स्मरण गरिन्छ।
शास्त्रमा उल्लेख गरिए अनुसार भगवानले संहिता पाठको प्रतिपादन गर्नुभयो, रावणले पदपाठको दर्शन गरे, बाभ्रव्य ऋषिले क्रमपाठको प्रतिपादन गरे र व्याडि ऋषिले जटा पाठको वर्णन गरेका छन्। यस सम्बन्धमा शास्त्रमा ‘भगवान् संहितां प्राह, पदपाठं तु रावणः । बाभ्रव्यर्षि क्रमं प्राह, जटां व्याडिरवोचन ॥’ भन्ने वचन पाइन्छ।
विकृति पाठका विषयमा पनि शास्त्रमा उल्लेख गरिएको छ, “जटा माला शिखा रेखा ध्वजो दण्डो रथो घनः । अष्टौ विकृतयः प्रोक्ताः क्रमपूर्वा महर्षिभिः ॥”। विकृति पाठका द्रष्टा ऋषिहरूमा जटा पाठका ऋषि व्याडि, माला पाठका ऋषि वसिष्ठ, शिखा पाठका ऋषि भृगु, रेखा पाठका ऋषि अष्टावक्र, ध्वज पाठका ऋषि विश्वामित्र, दण्ड पाठका ऋषि पराशर, रथ पाठका ऋषि कश्यप र घन पाठका ऋषि अत्रि मानिन्छन्।
यी पाठहरू विभिन्न तरिकाले अभ्यास गरिने भएकाले वेदलाई आम्नाय पनि भनिन्छ। ऋषिहरूको परम्पराद्वारा संरक्षित यी वेदपाठका कारण आजसम्म वेदका शब्द र वर्णहरू कुनै परिवर्तन बिना सुरक्षित रूपमा उपलब्ध भएका छन्।
संहिता पाठ सबैभन्दा पहिलो पाठ हो र यसलाई मन्त्रपाठ पनि भनिन्छ। सूत्रमा “वर्णानामेकप्राणयोगः संहिता” भन्ने उल्लेख पाइन्छ, जसमा वर्णहरूको एकै श्वासमा गरिएको संयुक्त उच्चारणलाई संहिता भनिएको छ। गुरु परम्परामा वेदवाणीको प्रारम्भिक पाठ यही संहिता पाठ हो।
संहितापाठमा वर्ण र पदहरूलाई एकै श्वासको रूपमा जोडेर उच्चारण गरिन्छ र सन्धि तथा निश्चित स्थानमा मात्र विश्राम गरिन्छ। उदात्त, अनुदात्त र स्वरित स्वरका आधारमा संहितापाठ गरिन्छ।
वेदपाठ सधैँ गुरुको सान्निध्यमा सिक्नुपर्छ, किनकि गुरु बिना वेदपाठ शुद्ध मानिँदैन। संहिता पाठलाई तीर्थस्नान बराबरको पुण्यदायी मानिन्छ।
वेद अध्ययन गर्दा गुरुबाट मन्त्रको उच्चारण सुनेर शिष्यले सावधानीपूर्वक त्यसको अनुसरण गर्नुपर्छ, यस कारण वेदलाई अनुश्रव पनि भनिन्छ। ‘गुरोर्मुखाद् अनुश्रूयते इति अनुश्रवो वेदः’ भन्ने वचन यसै सन्दर्भमा प्रयोग गरिएको हो।
वेदपाठमा सही उच्चारणका लागि स्वरज्ञान अत्यन्त आवश्यक हुन्छ। मुख्य रूपमा तीन प्रकारका स्वर प्रयोग गरिन्छन्, जसमा उच्च स्वरमा उच्चारण गरिने उदात्त, मन्द स्वरमा उच्चारण गरिने अनुदात्त र दुवै स्वरको मिश्रित उच्चारण स्वरित भनिन्छ।
पदपाठ प्रकृति पाठको दोस्रो प्रकार हो। पदपाठ शब्द पदबाट बनेको हो। पाणिनीय व्याकरण अनुसार ‘सुप्तिङन्तं पदम्’ भनिएको छ, जसको अर्थ सुप् र तिङ् प्रत्यययुक्त वर्णात्मक इकाइलाई पद भनिन्छ।
पदपाठमा प्रत्येक शब्दलाई अलग–अलग गरी सन्धि विच्छेद गरेर उच्चारण गरिन्छ। पदपाठ मुख्य रूपमा शब्दको अर्थ स्पष्ट रूपमा बुझ्नका लागि आवश्यक मानिन्छ। यदि कुनै पद दुई शब्द मिलेर बनेको छ भने त्यसलाई स्पष्ट पार्न दोहोर्याएर उच्चारण गरिन्छ।
क्रमपाठ प्रकृति पाठको तेस्रो प्रकार हो। यसमा दुई–दुई पदलाई क्रमशः सन्धिसहित जोडेर पाठ गरिन्छ। सूत्रमा ‘द्वे द्वे पदे सन्दधाति’ भन्ने उल्लेख पाइन्छ, जसको अर्थ दुई–दुई शब्दलाई जोडेर क्रमशः उच्चारण गर्नु हो।
यसरी क्रमपाठमा शब्दहरूलाई क्रम मिलाएर सन्धिसहित उच्चारण गरिन्छ। यसपछि वेदपाठका अन्य विकृति पाठहरू जस्तै जटा पाठ, माला पाठ, शिखा पाठ, रेखा पाठ, ध्वज पाठ, दण्ड पाठ, रथ पाठ र घन पाठको अभ्यास गरिन्छ, जसले वेदमन्त्रहरूको शुद्धता र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
















