बुधबार, २८ माघ, २०८२

स्याउ बगैँचामै पुगेर व्यवस्थापनबारे किसानलाई जानकारी दिँदै कार्यालय प्रमुख अधिकारी

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काटछाँट तथा व्यवस्थापनसम्बन्धी पालिका स्तरीय घुम्ती तालिम सञ्चालन गरिरहेको छ।

स्याउ उत्पादन वृद्धि र किसानको सीप विकास गर्ने उद्देश्यले कार्यालयले किसानकै बगैँचामा पुगेर प्रत्यक्ष प्रविधिक सहयोग प्रदान गरिरहेको हो।

कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार चन्दननाथ नगरपालिका, तिला, हिमा, पातारासी, सिंजा र कनकासुन्दरी गाउँपालिकामा स्याउ किसानलाई काटछाँट तथा व्यवस्थापनसम्बन्धी तालिम दिइसकिएको छ। अब गुठीचौर र तातोपानी गाउँपालिकामा पनि छिट्टै तालिम सञ्चालन गरिने तयारी भइरहेको छ।

धेरै किसानमा प्राविधिक ज्ञानको अभावका कारण बगैँचा व्यवस्थापन प्रभावकारी हुन नसकेको अवस्थामा कृषि प्रविधिकको प्रत्यक्ष सहभागिताले किसानलाई ठूलो राहत पुगेको छ। तिला गाउँपालिकाका किसान नौसेर रोकायाले प्रविधिकबाट सिक्न पाउँदा उत्पादनमा सुधार हुने विश्वास व्यक्त गरे।

कृषि विकास कार्यालयका अनुसार जिल्लाका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन्। आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर क्षेत्रफलमा स्याउखेती भएकोमा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको छ। यद्यपि उत्पादन भने घटेर १८ हजार २४५ मेट्रिकटनमा सीमित भएको छ।

जिल्लामा हाल रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचारेड लगायतका जातका स्याउ उत्पादन हुँदै आएका छन्। घुम्ती तालिममार्फत किसानको क्षमता अभिवृद्धि गर्दै स्याउखेतीलाई अझ व्यवस्थित बनाउने लक्ष्य कार्यालयले लिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार