मंगलवार, १३ माघ, २०८२

जुम्ली काङ्ग्रेसलाई एकताबद्ध हुन केन्द्रीय सदस्य रामदेवी खड्काको अपिल

नेपाली काङ्ग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य रामदेवी खड्काले जुम्ला जिल्लामा रहेका सम्पूर्ण काङ्ग्रेसजनलाई एकताबद्ध हुन हार्दिक अपिल गरेकी छन्। पार्टीभित्र देखिएका सामान्य मतभेदलाई समाप्त गर्दै विचार र भावनामा आधारित एकताबाट अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

देशको वर्तमान विषम परिस्थितिमा नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै खड्काले पार्टीभित्रको स्वाभाविक अन्तरविरोधलाई चिर्दै नयाँ पुस्ताले पार्टीलाई नयाँ ऊर्जा र स्पिरिटका साथ अगाडि बढाउन खोज्नु लोकतान्त्रिक विचारधारामा आस्था राख्ने सबैका लागि खुसीको विषय भएको बताइन्।

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति भएको स्मरण गराउँदै उनले काङ्ग्रेसले चाल्ने प्रत्येक कदम र लिने निर्णयले देशको राजनीतिक, सामाजिक तथा विकासको दिशामा दुरगामी प्रभाव पार्ने बताइन्। देशले अहिले नेपाली काङ्ग्रेसको नयाँ पुस्ताबाट सकारात्मक परिवर्तन र विकासको नेतृत्व गर्ने अपेक्षा गरेको उनको भनाइ छ।

खड्काले वर्तमान अवस्थामा पार्टी अझ मजबुत हुनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि एकता नै एकमात्र विकल्प भएको स्पष्ट पारिन्। ‘यही पवित्र भावनाका साथ हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने नेतृको हैसियतले खड्काले काङ्ग्रेसको गढ मानिने जुम्लाका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थक सबैलाई धैर्यताका साथ एकतामा आउन विनम्र अपिल गरेकी छन्। सामान्य मतभेद अन्त्य भएसँगै विचार र भावनामा आधारित बलियो एकता निर्माण हुनेमा आफू विश्वस्त रहेको उनले बताइन्।

उनले सबैको साथ, सहयोग र एकताबाट नेपाली काङ्ग्रेसलाई अझ सशक्त बनाउँदै देशमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार