जुम्ला सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको रोहन सुनचाँदी पसलमा अज्ञात समुहद्वारा तोडफोड भएको छ।
गएराती जिल्ला खेलकुद विकास समितिको टहरामा सञ्चालन हुँदै आएको रोहन सुनचाँदी पसलमा तोडफोड सहित गरगहना समेत चोरी भएको हो।
सुनचाँदी पसलका सञ्चालक काले सुनारका अनुसार राती करिब दुईबजे तिर पसलको सटर र काउन्टर तोडिएको देखेपछि उनले तत्काल आफन्तलाई र प्रहरीलाई फोन गरि घटनाको बारे जानकारी दिएका थिए।
चोरीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। सुनारले जिल्ला प्रहरी कार्यालय जुम्लामा लिखित निवेदन समेत पेश गरिसकेका छन्।














