मंगलवार, १३ माघ, २०८२

जनस्वास्थ्य जुम्लामा नियमित खोप र सरसफाइको सूक्ष्म योजना अध्यावधिक गोष्ठी

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालित नियमित खोप कार्यक्रम र सरसफाइ प्रवर्द्धन कार्यक्रमको समीक्षा गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए।

जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा नियमित खोप कार्यक्रम र सरसफाइ प्रवर्द्धन सम्बन्धी समीक्षा तथा सूक्ष्म योजना अध्यावधिक गोष्ठी सञ्चालन भएको छ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउने र सरसफाइ सचेतना विस्तार गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।

पौष ५, ६, ७ र ८ गते जुम्ला सदरमुकामस्थित होटल मानवसरोवरको हलमा गोष्ठी सञ्चालन भइरहेको छ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालित नियमित खोप कार्यक्रम र सरसफाइ प्रवर्द्धन कार्यक्रमको समीक्षा गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा वडा तहसम्म लागू हुने सूक्ष्म योजना अध्यावधिक गरिएको छ।

उनले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य वडा तहमा खोप कार्यक्रमको उपलब्धि र प्रगतिको अवस्था विश्लेषण गर्नु हो। स्थानीय तहमा व्यवहारिक सूक्ष्म योजना बनाउने र क्षमता विकास गर्ने लक्ष्य पनि रहेको छ।’

उनले खोप प्रगतिमा वृद्धि गर्नु र खोप खेर जाने दर घटाउनु कार्यक्रमको प्रमुख लक्ष्य रहेको थिपे। ‘पूर्ण खोप सुनिश्चितता कायम गर्दै कार्यक्रमलाई दिगो बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने।

सरसफाइ प्रवर्द्धन सत्रमा संलग्न स्वास्थ्यकर्मीको क्षमता विकास गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको कार्यालय प्रमुख शर्माको भनाइ छ। उनले थपे, ‘स्वास्थ्यकर्मीको सीप र ज्ञान अभिवृद्धि भए मात्रै कार्यक्रम प्रभावकारी हुन्छ।’

गोष्ठीमा पालिका तथा समग्र जिल्लामा रहेका भ्याक्सिन सब स्टोर र वितरण केन्द्रको अवस्थाबारे पनि समीक्षा गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ अनुसार पालिकामा रहेका खोप केन्द्रहरूको विवरण प्रस्तुत गरिएको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्वास्थ्य क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनबारे धारणा राखे। उनले भने, ‘आम मानिसमा स्वास्थ्यसम्बन्धी अन्धविश्वास विस्तारै हट्दै गइरहेको छ। पहिलाको जस्तो अवस्था अहिले छैन।’

उनले स्वास्थ्यसम्बन्धी सूचना सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए। ‘सही जानकारी नागरिकसम्म पुगे मात्रै व्यवहारमा परिवर्तन आउँछ,’ उनले भने।

त्यस्तै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले स्वास्थ्य सेवाको महत्त्वबारे धारणा राखे। उनले भने, ‘जुनसुकै सरकार भए पनि मुख्य उद्देश्य आम नागरिकलाई सेवा दिनु हो। स्वास्थ्य सेवा सबैभन्दा महत्त्वपूर्ण सेवा हो।’

स्वास्थ्य सेवा मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको भन्दै उनले यसलाई संवेदनशील क्षेत्रका रूपमा लिनुपर्ने उनको मत छ। ‘यो विशिष्टीकृत सेवा हो। संकटको बेला पनि निरन्तर सेवा प्रवाह गर्नु राज्यको जिम्मेवारी हो,’ उनले भने।

गोष्ठीमा जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र सरोकारवाला सहभागी छन्। खोप र सरसफाइसम्बन्धी समस्या, चुनौती र समाधानका उपायबारे छलफल भइरहेको छ।

जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार गोष्ठी मंगलबारसम्म सञ्चालन हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार