मंगलवार, १३ माघ, २०८२

मौनतामाथिको फैसला

महिलालाई सानैदेखि सिकाइन्छ, चुप लाग्नु नै सबैभन्दा ठूलो गुण हो। पीडा सहनु धर्म हो। आँसु लुकाउनु कर्तव्य हो। घर जोगाउने नाममा उसको आत्मसम्मान दिनहुँ काटिन्छ।

महिला बिहे गरेर घर पस्दा कुनै अपराध गरेर पस्दिनन्। तर हाम्रो समाजले उनलाई पहिल्यै दोषी ठहर गरिसकेको हुन्छ। माइतीको आँगन छोड्दा उनी थर मात्र नभई आफ्नो स्वतन्त्रता, आफ्नो आवाज र आफ्नो पहिचान पनि त्यहीँ छोडेर आएकी हुन्छिन्। बिहेपछि उनको जीवन आफ्नै हुँदैन, समाजले तोकेको सीमाभित्र कैद हुन्छ।

बिहेअघि सुनाइने वाचा, ‘सधैं खुसी राख्छु’, ‘रानी बनाउँछु’, ‘आँसुमा साथ दिन्छु’ यी प्रेमका शब्दभन्दा बढी महिलालाई भावनात्मक रूपमा बाँध्ने मीठा जन्जिर हुन्। महिलालाई विश्वास गर्न सिकाइन्छ, तर प्रश्न गर्न सिकाइँदैन। त्यसैले उनी भरोसा गर्छिन्। तर बिहेपछि यही प्रेम अनुशासन बन्छ, अनुशासन नियन्त्रण बन्छ र नियन्त्रण दमनमा रूपान्तरण हुन्छ।

महिला हाँस्दा चरित्रमाथि शंका गर्ने भानुभक्त कालिन सोच उस्तै छ, बोल्दा नियतमाथि आरोप लाग्छ, ढिलो घर फर्किँदा इज्जतमाथि प्रश्न उठ्छ। पुरुषका गल्ती ‘स्वभाव’ भनेर सामान्य मानिन्छन्, तर महिलाको हरेक सास हिसाब किताबमा राखिन्छ। यही असमानता पितृसत्ताको मूल चरित्र हो।

महिलालाई सानैदेखि सिकाइन्छ, चुप लाग्नु नै सबैभन्दा ठूलो गुण हो। पीडा सहनु धर्म हो। आँसु लुकाउनु कर्तव्य हो। घर जोगाउने नाममा उसको आत्मसम्मान दिनहुँ काटिन्छ। उसको सहनशीलतालाई संस्कार भनिन्छ, तर त्यो वास्तवमा निरन्तर हिंसाको स्वीकृति हो।

पुरुष बाहिरी संसारसँग घुलमिल हुँदा समाज मौन बस्छ। तर महिला सामान्य संवाद गर्दा पनि उसको नाम हल्लाको बजारमा सस्तो बनाइन्छ। फोन, मित्रता, हाँसो सबै अपराधका प्रमाण बनाइन्छन्। महिला सधैं आफू निर्दोष छ भनेर प्रमाणित गर्न बाध्य हुन्छे। दोषी नहुँदा पनि प्रमाण दिनुपर्ने अवस्था नै अन्याय हो।

समस्या बढेपछि समाधान खोजिँदैन, तमासा सुरु हुन्छ। आफन्त, छिमेकी, समाज सबै न्यायाधीश बन्छन्। तर त्यो अदालतमा महिलाको आवाज कहिल्यै सुनिँदैन। फैसला पहिल्यै तय हुन्छ, दोषी महिला नै।

महिलाको संघर्ष इतिहासमा लेखिँदैन। अभावमा सँगै भोकै सुतेकी, असफलतामा काँध बनेकी, रोगमा उपचार बनेकी, ऋणमा बचत बनेकी, अपमानमा अस्तित्व बनेकी महिला सफलतापछि बोझ ठहरिन्छे। पुरुष गर्वका साथ भन्छ, ‘मैले सबै आफैं गरे।’ महिलाको श्रम, योगदान र त्याग मेटाइन्छ।

महिलामाथि दोष थोपर्ने क्रम यत्तिमै रोकिँदैन। उसको आमा, घर, जात र चरित्रसम्म एकैचोटि अभियुक्त बनाइन्छ। दाइजो नल्याएको, छोरा नजन्माएको, ढिलो गर्भधारण गरेको, धेरै बोलेको, चुप लागेको अझ महिला बाँचेकै अपराध ठहरिन्छ।

काम गर्ने महिला घर बिगार्ने कहलिन्छे, घरमै बस्ने महिला अल्छी ठहरिन्छे। सुन्दर भए बदनाम, नभए उपेक्षित। आफ्नो अधिकार मागे असभ्य भनिन्छ। महिला जहाँ उभिन्छे, समाज त्यहीँबाट औंला ठड्याउँछ।

अन्ततः महिला थाक्छे। लडेर होइन, सधैं प्रमाण दिँदै। ऊ बिस्तारै हराइन्छे कहिले सम्बन्धबाट, कहिले सपनाबाट त कहिले आफ्नै नामबाट। समाज एक कदम पछाडि नै महिलालाई दबाएर परिवार जोगिने आश गरिरहेको छ। महिलाको आवाज दबाएर इज्जत बच्दैन भनेर कहिले बुझ्ने?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार