कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले एमएस (शल्य चिकित्सा) विषयको पाठ्यक्रम विकास गोष्ठी सुर्खेतमा सम्पन्न गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित यो कार्यक्रम भव्य र उत्साहपूर्ण रह्यो।
गोष्ठीको सभाध्यक्ष उपकुलपति डा. पुजनकुमार रोकायाले कर्णालीमा स्वास्थ्य शिक्षा उचाइमा पुगेको बताए। उनले कर्णाली र सुर्खेत अस्पतालका स्वास्थ्यकर्मीले एकजुट भएर स्वास्थ्य सेवाको स्तर उठाउनुपर्नेमा जोड दिए।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीले नयाँ पाठ्यक्रमले शल्य चिकित्सामा आवश्यक ज्ञान, सीप र व्यवहारलाई मजबुत बनाउने बताए। उनले भने, ‘कर्णालीमा भौगोलिक चुनौतीबीच सेवा अध्ययन, अनुसन्धन, नीतिशास्त्र र पेशागत इमानदारीलाई विशेष स्थान दिइएको छ।’
उनका अनुसार प्रतिष्ठानले स्थापना कालदेखि नै विकट र राजधानी भन्दा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा पुर्याउने लक्ष्य राखेको छ।
हाल ४ वटा महाविद्यालय, सयभन्दा बढी प्राध्यापक, पाँच सयभन्दा बढी विद्यार्थी, स्नातक स्नातकोत्तर कार्यक्रम, तथा एमडी/एमएस अध्ययन विस्तार गर्दै आएको उपकुलपति डा. रोकायाको भनाइ छ।
उनका अनुसार प्रतिष्ठानले कर्णालीका १३ जिल्लामा स्वास्थ्य सेवा विस्तार गरि आफूलाई स्वास्थ्य सेवाको केन्द्रको रुपमा स्थापित गरेको छ।
गोष्ठीमा कर्णाली र विभिन्न प्रदेशबाट वरिष्ठ शल्य चिकित्सकहरूको विशेष उपस्थिति थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा. डा. शैलेश अधिकारी, नेपालगञ्ज मेडिकल कलेजका डा. विनोद कुमार कर्ण, वीर अस्पतालका एमचि सर्जन डा. निरज बनेपाली, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुर्यमान मन्याङ्बो सहभागी थिए।
वरिष्ठ चिकित्सकहरूको सहभागितामा तयार भएको एमएस शल्य चिकित्सा पाठ्यक्रमलाई कर्णालीमा स्वास्थ्य शिक्षा विकासको महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका सचिव धोलक राज ढकालले बताए।
गोष्ठीमा विशेष अतिथिको रुपमा प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापा थिए भने प्रदेशभरिका स्वास्थ्य प्रतिनिधिहरू उपस्थित थिए।














