कक्षामा पढ्दै गर्दा तिनीहरूभन्दा हामी जहिल्यै अगाडि देखिन्थ्यौँ, हरेक कुरामा। तर परीक्षा त्यस्तै हुन्थ्यो। अघिल्ला परीक्षामा हाम्रो नम्बर राम्रो आउँथे तर फाइनल परीक्षामा आफ्नै जातको नाम अघि ल्याइदिन्थे शिक्षकहरू
मेरो घर कालिकोट जिल्लाको राजकोट हो। मेरो समुदायमा सुनार, तिरुवा, दमाई, कामी, बाहुन, ठकुरी थरका मानिस छन्। धेरैचाहिँ दलित छन्। बाहुन र ठकुरी लगभग बराबर छन्। मैले अहिले १२ सकेर ब्याचलर सुरु गरेँ। १२ मा शिक्षा तर्फबाट पढेँ। अहिले ब्याचलरमा पनि त्यहीँ पढ्दै छु।
मेरो जिन्दगीको लक्ष्य पढाईसँगै सामाजिक काम गर्नु हो। फेरि हाम्रो राजकोटमा दलित समुदाय धेरै पछि परेको छ। दलितभित्र बालबालिका धेरै छन्। फेरि दलितभित्र एक अर्कामा समावेशी र एकता नहुने समस्या रहेको हुनाले गाह्रो छ।
हाम्रै दलित समुदायको एउटा उपमेयर उठ्नुभएको थियो। तर दलित नै मिलेर चुनावमा हराइदिनुभयो। हाम्रो समुदायमा जात भात धेरै मानिन्छ। हाम्रो समुदायमा उपाध्याय थरको बाहुल्य भएकोले अलि बढी नै जातीय भेदभाव हुन्छ।
उनीहरू आफ्नो घरभित्र अहिलेसम्म पनि जान दिँदैनन्। अरू बाहुनले धेरै मान्दैनन् तर उपाध्याय बाहुन, जो हाम्रै आसपासतिर बस्छन्, उनीहरूले धेरै भेदभाव गर्छन्।
मैले जातीय विभेद भोगेको छु। जस्तै म वडा कार्यालयमा महिला सञ्जाल भन्ने हुन्छ हाम्रो पालिकाहरूमा, जसमा दलित र गैरदलित सबै हुन्छन्। त्यसमा म अध्यक्षमा लड्छु भनेको मलाई सहमति गरेनन् तर सात कक्षा पढेको महिलालाई सहमति गरे।
यो गर्नुको कारण म दलित हुनु थियो, मैले बुझेँ। मेरो पढाइ योग्यता पनि उस्तै थियो तर राजनीति र विभेद गरेर आफ्नै मान्छे ताने। मलाई सहमति नगर्दा मैले त्यहाँ विद्रोह गरेर निस्किएँ। यो घटना मेरै वडाको हो।
अहिलेसम्म पनि विभेद कायम नै छ। दलित मान्छे सत्ता पावर, पहुँच चलाएर बस्ने अवस्थामा नपुग्दा क्षमता भएर पनि प्रदर्शन गर्न सकिने अवस्था छैन। अनि अर्को कुरा बाहुनहरूले जहिल्यै पनि दलित समुदायलाई अघि बढेको हेर्न चाहँदैनन्। उनीहरू हामीलाई तल पार्नकै लागि लागि परिरहन्छन्।
हामीले हाम्रै वडामा एउटा समूह बनाएका छौँ। पच्चीस पच्चीस गरेर दुई समूह, कुल पचास जनाको समूह बनाएका छौँ। उक्त समूह बचत गर्नका निम्ति बनेको हो। बचत उठाएर केही गर्न सकिन्छ भनेर त्यो गरेका हौँ। यो हाम्रो समुदायको मात्र समूह हो।
यसमा सदस्यहरू महिलाहरू मात्र, त्यो पनि दलित महिलाहरू हुन्। त्यो समूहलाई पालिकाले केही सहयोग गर्छ कि भनेर सोचिएको थियो, जस्तै सीपमूलक तालिम जस्ता, तर पालिकाले त्यस्तो गरेन। सायद दलित भएर पो कि? हामीले उठाउने बचतमध्ये समस्या परेकाहरूलाई ऋण दिने हो। त्यस समूहमा मैले पैसा नलिएर समूहकै लागि निःशुल्क सेवा गर्छु।
एउटा मेरो साथी अनिल भन्ने थियो। अरू साथी पनि थिए। हाम्रो समुदायका साथीहरू गणितमा अब्बल थियौँ, अझ भनौँ पढाइमा पनि राम्रो थियौँ। तर परीक्षाको नतिजामा शिक्षकहरूले हाम्रो परिणाम उनीहरूको भन्दा कमजोर निकालिदिनुहुन्थ्यो। शिक्षकले आफ्नै जातको भएकाले त्यस्तो व्यवहार विद्यालयमै भोगेँ।
किन यस्तो लाग्यो भने कक्षामा पढ्दै गर्दा तिनीहरूभन्दा हामी जहिल्यै अगाडि देखिन्थ्यौँ, हरेक कुरामा। तर परीक्षा त्यस्तै हुन्थ्यो। अघिल्ला परीक्षामा हाम्रो नम्बर राम्रो आउँथे तर फाइनल परीक्षामा आफ्नै जातको नाम अघि ल्याइदिन्थे शिक्षकहरू।
तर गैरदलितका साथीहरूसँग हुँदा त्यस्तो विभेद हुन्न थियो। अहिलेको सन्दर्भ हेर्दा दलित शिक्षकहरू बढी हुनुहुन्छ, हामीलाई पढाउने। अहिले त्यस्तो विभेदको महसुस भएको छैन, पहिलाजस्तो।
मेरो माइतीघर पनि राजकोटमै हो। आधा घण्टा फरकमा पर्छ। यताउता गर्न सहजै छ। एउटै जस्तै लाग्छ। हाम्रो घर आसपास बाहुन बढी भएकाले जातीय विभेद अझै उस्तै छ। हामीहरू उनीहरूको घरायसी जुनसुकै काममा जाँदा उनीहरूले खाजा दिने समय टाढैबाट फालिदिन्थे। अहिलेसम्म उस्तै छ। जस्तै रोटी दिँदा हामीले कुकुरलाई फालेर दिने गर्छौँ नि? त्यस्तै तरिकाले रोटी फाल्थे। अनि उनीहरूको घरभित्र पस्न नमिल्ने।
यो घटना मलाई पढाउने गैरदलित शिक्षकको घरमा घटेको हो। अझ हेडसरकै घरमा उहाँकी श्रीमतीद्वारा यस्तो म आफैँले भोगेको हो। घरमा मेलापात गर्नुपर्ने चलन पहिलादेखिकै हो, त्यसमा म पनि संलग्न भएँ। काम गरेको बापत खलो दिने गर्छन्। तर थोरै धान, गहुँ दिने तर पैसा नदिने।
खलो भनेको कसैको काम गर्न गएको बेला पैसाको सट्टामा अन्न दिनुलाई भनिन्छ। जसमा श्रमिकको कुनै मूल्य हुँदैन। मालिकले जति दिन चाह्यो त्यति मात्र दिने। सबै काम गरिसकेपछि अन्न भित्र्याउने बेला थोरै अन्न दिने गर्छन्। यो अहिलेकै कुरा हो, मैले गरेको।
अहिले हामीले त्यस्तो काम गर्दैनौँ। मेरो श्रीमानले जागिर खानुभएको छ। हामीलाई अरूभन्दा अलि सहज छ जीवनयापन गर्न।
जातै तोकेर गाली समेत गर्छन् अझै पनि। जस्तै सिधै ‘कमरा’ भन्छन्, ‘डुम’ भन्छन्। पहिलापहिला हाम्रो बाजेको पालामा सबै गरिदिनुपर्थ्यो रे, अझ आफ्नो जग्गा जमिनमा खेती नगरि उनीहरूकै गर्नुपर्ने थियो रे।
दलित समुदायले उनीहरूको मात्र गर्नुपर्ने, आफूले गर्न नमिल्ने थियो रे। अहिले हेर्दा हामी उनीहरूभन्दा अघि देखिन्छौँ तर उनीहरूले आफ्नो मानसिकता बदल्न सकेका छैनन्। आफूलाई माथिल्लो दर्जाको ठान्ने प्रवृत्ति अझै छ। क्षेत्रीहरूभन्दा बाहुनमा अझ बढी देख्छु यो।
तर अहिले क्षेत्री समुदायसँग हाम्रो सम्बन्ध राम्रो छ। उनीहरूका भान्सासम्म सहजै जान्छौँ। ठकुरी र बाहुनहरूले अझै त्यो स्वीकार गर्न सकेका छैनन्। अनि बाहुनभित्र पनि जैसी र उपाध्यायबीच विभेद छ।
स्कुल पढ्ने बेला मेरो बाहुनसँग संगत हुन्थ्यो। उनीहरू हाम्रो घर आएर खान्थे, म पनि जान्थेँ। अनि क्षेत्री समुदायका शिक्षकले भने राम्रै व्यवहार गर्नुहुन्थ्यो।
मलाई दलित रहेछु भनेर आठ वर्ष उमेर हुँदा एउटा शिक्षकले बुझाइदिनुभयो। त्यतिबेला अलिअलि थाहा भयो समाजको जातीय संरचना। त्यतिबेलादेखि यस्तो प्रभाव पर्यो। हामी दलित हो रे, हामी अगाडि बढ्नु हुँदैन रे, कक्षाकोठामा पनि अघिल्लो बेन्चमा बस्न नदिने कुरा साथीभाइबीच गर्थ्यौँ। यस्तो पनि घटना घटेको छ।
(ललिता तिरुवा ‘लोहार’ समता फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल विकट हिमाली जिल्ला कालिकोटमा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)















