पर्यटकलाई प्रवेश गराउँदा कडा जाँच गरिँदो रहेछ। पुरुष र महिलाको लाइन फरक फरक लगाइने रहेछ। दिनभरि घुम्दा पनि धित नमर्ने ताजमहलभित्र प्रवेश गर्दा पनि ताज महलकै जस्तो प्रवेशद्वार लाग्यो।
२४ जनावरी २०२३ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दिरा गान्धी विमानस्थल हुँदै नयाँ दिल्ली प्रस्थान गरेको दिन समेत हाम्रो आगरा र ताजमहल भ्रमण तेस्रो दिनको यात्रा थियो।
२६ जनावरी २०२३ को बिहान नयाँ दिल्लीको निर्माण बिहार नजिक पर्ने लक्ष्मीनगरबाट नोएडा प्रदेश अन्तर्गतको आगरा जानको लागि अटो रिक्सामा बसपार्कतर्फ हिँड्यौं। यात्रामा छोरी वसन्ती, उनकी साथी अपेक्षा पौडेल, अपेक्षाकी मामु र म थियौं।
बिहानपखको ९:०० बजेको समय थियो। पुष महिनाको दोस्रो लम्जेलो समय थियो। नेपाली तिथि अनुसार २०८० साल पौष १० गते मंगलवार पूर्णिमाको दिन, नेपालमा उधौली पर्व परेको थियो।
नयाँ दिल्ली त्यो दिनको बिहान अत्यन्त चिसो थियो, त्यो दिन घाम देख्न सक्ने कुनै सम्भावना थिएन। दिल्ली गणतन्त्र-मय त बनेकै थियो, श्रृङ्गार पटारले दुलहीझैँ सजिएर आफ्ना देशका जनताको ध्यान आकृष्ट गरिरहेको थियो।
भारतमा त्यो दिन गणतन्त्र दिवस अर्थात् Indian Republic Day परेको थियो। भव्य सजावट र झिलिमिली थियो। रिक्सावाला र अटोवालाका रिक्साबाट देशका चोकचोक र सडकका दायाँबायाँ शहरभरि भारतीय राष्ट्रिय झण्डा फहराइरहेका देखिन्थे जनावरी २५ देखिनै। बसपार्कबाट आगरातर्फ करिब १०:०० बजे प्रस्थान गर्यौं।
भारतको नोएडा राज्य दिल्लीका लागि एक महत्वपूर्ण हिस्सा मानिन्छ। नोएडा प्रदेश उत्तर प्रदेशमा अवस्थित एक आधुनिक शहर पनि हो। सम्पूर्ण भारतको राष्ट्रिय राजधानी क्षेत्रको महत्वपूर्ण अंश हो। यस नोएडा प्रदेशको स्थापना १७ अप्रिल १९७६ मा भएको थियो।
हामीले आगरा जाने भनेको बस अघि बढ्यो। मलाई सबैभन्दा मेट्रो रेलको विकासले मन छोयो। शहरका वल्ला छेउ पल्ला छेउ पुग्न अटो, टेम्पो, ट्याक्सी, बस, मोटरसाइकल र साइकलको जरुरत नै पर्ने देखिएन।
हामी सूरजपुरबाट अघि बढ्यौं। सूरजपुर नोएडा राज्यमा पर्ने एक जिल्ला रहेछ। पहिले यस सूरजपुरलाई सूर्यपुर पनि भनिदोरहेछ। आजभोलि सूरजपुरले चिनिएको पाइयो। नोएडा प्रदेश शुरु भएदेखि फराकिलो सुन्दर सडक, किनारमा नोएडा लेखिएका गमलामाथि सुन्दर बिरुवा।
आगरा जाने सडकदेखि दायाँबायाँका किनारका सबै जमिनमा तोरी र गहुँ पहेँलपुर भएर फुलेका गह्रा र फाँट अनि सडक किनारमा रहेका वृक्षारोपणले मन आकर्षित गरिरह्यो।
हामी १२:४४ मा वृन्दावन जाने ठाउँ नजिक आईपुग्यौं। मनले भनिरहेको थियो— वृन्दावन पनि घुम्न पाए हुँदो हो भनेर। तर त्यो समयमा सम्भव थिएन एकैदिन वृन्दावन र आगरा घुम्न। हामी निरन्तर आगरा तर्फ अघि बढिरह्यौं।
बाटोको दायाँबायाँ पर्ने जमीनमा भारतीय किसानले गरेको खेती देखेर लोभले भुतुक्क भएँ। त्यसैले भारत धनी भएको रहेछ। हुन त जमिन अनुकूल मौसम पनि छ, तर पनि यहाँका मानिसहरूको मेहनतको खुलेर प्रशंसा गर्न मन लाग्यो।
आगराको शेरोफेरो र फैलावट हेर्दा यो जिल्ला उत्तरमा मथुरा जिल्ला, दक्षिणमा राजस्थान राज्यको धौलपुर जिल्ला, पूर्वमा फिरोजाबाद जिल्ला र पश्चिममा राजस्थान राज्यको भरतपुर जिल्लाले घेरिएको छ। यस जिल्लाको क्षेत्रफल ४,०२७.२ किमी रहेको छ।
एक भारतीय तथ्यांकअनुसार आगराको पुरानो नाम अग्रवन रहेछ। महाभारत कालमा यो अग्रवन भन्ने ठाउँ ऋषि अंगिरासँग सम्बन्धित छ। महाभारत कालीन समयमा यसको नाम अकराबाद थियो पनि भनिन्छ। भारतमा आगराको लामो इतिहास रहेको मानिन्छ।
यो शहर मौर्य, गुप्त र तुर्कको समयमा महत्वपूर्ण रहेको मानिन्छ। अध्ययन गर्दै जाँदा आगरा मुगल साम्राज्यको राजधानी रहेछ। यसैले आगरा आजको समयमा पनि महत्वपूर्ण मानिन्छ।
हामीलाई आगरा पोर्टदेखि १५/२० मिनेट वरमै ओराल्यो बसले। अटो रिक्सामा लिएर आगरा पोर्टतर्फ अघि बढ्यौं। आगरा पोर्ट कुनैबेलाको सुरक्षा गढ रहेछ। बलिया अग्ला सुन्दर पर्खालहरूले घेरिएको रहेछ।
आगराको किल्ला युनेस्कोबाट घोषित विश्व सम्पदा क्षेत्र हो, जुन भारतको उत्तर प्रदेश राज्यको आगरा शहरमा स्थित छ। यसलाई लाल किल्ला पनि भन्ने गरिन्छ। यसको लगभग २.५ किमी उत्तर-पश्चिममा विश्व प्रसिद्ध स्मारक ताजमहल स्थित छ। सन् १५७३ मा यसको निर्माण पूरा भएको थियो।
हामीले खाना खाएका थिएनौं। आगरा पोर्ट नजिकै रहेको बालुगञ्ज स्थित पण्डितको महारानी होटलमा गएर खाना खायौं। बालुगञ्ज नजिकै मीना बजार रहेछ, त्यो ठाउँ पेठा मिठाईको लागि प्रख्यात रहेछ, हामीले पेठा किनेनौं, मात्रै खाएर तृष्णा मेट्यौं। मैले एक पर्स किनें लेदरको, महँगो भएपनि राम्रो लाग्यो।
आगराको मीना बजारलाई कोठी मीना बजार पनि भनिने रहेछ। मुगलको समयमा शाही परिवारका महिलाहरूका लागि बहुमूल्य कीमती कपडा एवं वस्तुहरूको व्यापार हुने गरेको कुरा पर्स व्यापारीले बताए भने मुगल शाहजहाँबारे लेखिएका तथ्यमा पनि मीना बजारबारे बुझ्न सकिन्छ।
मीना बजारको निर्माण मुगल बादशाह अकबरको शासनकालमा भएको तथ्य सुन्न पाइयो। यो बजार आगरा किल्लाको नजिक मोती मस्जिद नजिकै पर्ने रहेछ।
यही आगरामा हाम्रो खाना कार्यक्रम सकिएपछि हामी ताजमहल घुम्न हिँड्यौं। अलिकति पर ताजमहल चोक थियो, त्यहाँसम्म एक जनाको भारतीय रुपैयाँ २०, नेपाली रुपैयाँ ३२ तिर्नुपर्ने रहेछ। हामी लगभग ४:०० बजे ताजमहलभित्र टिकट लिएर प्रवेश गर्यौं। ताजमहल भित्रको प्रवेश शुल्क भने अलि धेरै नै थियो।

ताज महलको प्रसिद्धि केवल भारतमा मात्र छैन, पुरै विश्वभरीनै प्रसिद्ध रहेको छ। हिन्दी भाषामा भन्नुपर्दा ताजमहल खुबसूरत देखिन्छ। यसको सुन्दरताको वर्णन जोसुकैले सहजै गर्न सक्दैन।
ताज महल हेर्न भारत लगायत विश्वभरबाट नै थुप्रै मानिसहरू आउने रहेछन्। ताजमहल आफैमा धेरै सुन्दर देखेँ। विश्वका ७ अनौठा र आश्चर्यचकित पार्ने ठाउँमध्ये एक ताजमहल पनि हो, जुन प्रत्यक्ष रूपमा देख्न पाउँदा खुसीको सिमानै रहेन मेरो।
ताज महल भारतको उत्तर प्रदेश स्थित नोएडा प्रदेशको आगरा किल्ला नजिक बालुगञ्ज नजिकै यमुना नदी किनारमा पर्दछ। यमुना नदीलाई बङ्गलादेशका तीन प्रमुख नदीमध्ये एक मानिन्छ। साथै यो नदीलाई गङ्गा नदीको सबैभन्दा ठूलो र लामो सहायक नदी पनि मानिन्छ। हिमनदीबाट उत्पत्ति भएको यो नदीको लम्बाई १,३७६ किमी रहेको र इलाहाबाद स्थित त्रिवेणी संगममा गङ्गा नदीमा मिसिएको तथ्य रहेको छ। जहाँ प्रत्येक १२-१२ वर्षमा कुम्भ मेला पनि लाग्दछ।
यमुना नदीले हरियाणा, उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली जस्ता भारतीय राज्य पार गर्दछ। गङ्गाझैँ यमुना नदीलाई हिन्दु धर्ममा सम्मानका साथ लिई यमुना देवीको रूपमा पूजा गरिन्छ। हिन्दु श्रुति अनुसार उनी सूर्य देवकी पुत्री र यमराजकी बहिनी रहेकी र उनलाई यमी पनि भनेर चिनिने गरेको पाइन्छ। यहाँ स्नान गर्नाले मृत्युको पीडाबाट मुक्ति मिल्छ भन्ने विश्वास कायमै छ।
ताज महल बन्नुमा एक सत्य प्रेम कहानीमा आधारित रहेको छ। ताजमहल कसले, कहिले, किन बनायो? कति समय र रकम लाग्यो आदि?
ताज महल भारतको आगरा शहरमा स्थित एक समाधि स्थल हो। यसको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताज महलको सम्झनामा बनाउन लगाएका थिए। ताज महललाई मुगल वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ। ताज महलको वास्तुकला शैली हेर्दा फारसी, टर्की, भारतीय एवं इस्लामिक वास्तुकलाको अनौठो मिश्रण मानिन्छ।
अन्तर्राष्ट्रिय एक अखबार एवं युनेस्को अनुसार सन् १९८३ मा ताजमहल विश्व सम्पदा क्षेत्र बन्नुका साथै विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने मानवीय कृतिहरूमध्ये एक बताइएको छ भने ताजमहललाई भारतको इस्लामी कलाको रत्नको रूपमा पनि घोषित गरिएको छ।
ताजमहल भारतीय मुगल शाहजहाँले बनाउन लगाएका थिए रे। शाहजहाँले आफ्नी रानी बेगम मुमताजलाई धेरै नै प्रेम गर्ने रहेछन्। शाहजहाँले ताजमहलको निर्माण आफ्नी रानी बेगम मुमताजको सम्झनामा बनाउन लगाएका थिए।
संसारकै प्रख्यात पर्यटकीय स्थलको रूपमा रहेको ताज महलको निर्माण कार्य सन् १६३२ देखि शुरू गरी सन् १६५३ मा सम्पन्न भएको थियो। ताज महल बन्न २१ वर्ष समय लागेको थियो। ताजमहल सेतो पत्थर (संगमरमर) ले बनाइएको छ। एति धेरै महँगो भवन बनाउने शाहजहाँले आफ्नी मुटुझैँ प्यारी बेगम मुमताजलाई कति प्रेम गर्दथे मैले नापतौल गर्नै सक्दिन।
भारतीय इतिहास लेख्ने इतिहासकारले के भन्ने गरेका छन् भने मुमताजको लास पहिले अन्तै राखियो, पछि ताजमहल बनेपछि मुमताजको लास (कब्र) ताजमहलमा स्थानान्तरण गरियो भनिन्छ।
ताज महल क्षेत्रफल करिब ७३ वर्ग किलोमिटर लम्बाइमा फैलिएको छ। ताजमहल यमुना नदीदेखि दक्षिण तर्फको किनारमा बनाइएको रहेछ। एक भनाइ रहेको छ, जसले यो ताजमहल बनायो, शाहजहाँले उसको दुबै हात काटिदिए रे, किनकि उसले दोस्रो पटक अन्यत्र यति सुन्दर महल बनाउन नसकोस्। यो भनाइ सत्य असत्य के हो मैले यसै किटानसाथ भन्न सक्ने अवस्था छैन।
भारतीय इतिहासकारले ताज महल बनाउन करिब १००० हात्ती र २०,००००० (बीस लाख) मजदुर लागेको अनुमान गरेका छन्। मजदुर भारतका मात्र नभई तुर्की र फारसी समेत थिए भनिन्छ। ताज महल धेरै कलात्मक ढंगले सुन्दर बनाइएको छ, मैले थाहा पाएसम्म अहिले सम्म कसैले अरु कुनै मुलुकमा यस्तै खालको भवन बनाउन सकेको छैन।
मैले अहिले सम्म ताजमहलमा प्रयोग गरिएको जस्तो सफा, राम्रो संगमरमर अन्यत्र देखेकै छैन। ताजमहलमा सेतो संगमरमरले बनाइएको छ, यहाँका धेरै मानिस रातीमा सुन जस्तै देखिन्छ भन्दछन्। यो ताजमहल बनाउन भारतीय इतिहासकार र अर्थविद्हरूले गरेको लेखाजोखा र अनुमान अनुसार उतिबेलाको भारतीय रुपैयाँ ३.२ करोड रुपैयाँ खर्च लागेको अनुमान गरिएको छ।
पर्यटकलाई प्रवेश गराउँदा कडा जाँच गरिँदो रहेछ। पुरुष र महिलाको लाइन फरक फरक लगाइने रहेछ। दिनभरि घुम्दा पनि धित नमर्ने ताजमहलभित्र प्रवेश गर्दा पनि ताज महलकै जस्तो प्रवेशद्वार लाग्यो।
प्रवेशद्वारदेखि ताजमहलसम्म बिचमा लामो पोखरी छ, पोखरीमाथि सयौं मानिस एकैचोटि घुम्न सकिने ठूलो पटाङ्गिनी छ, पटाङ्गिनीदेखि अगाडि केही खाली भाग रहेका छन्, त्यहाँदेखि माथि अझ अग्लो उचाइको पटाङ्गिनी रहेको छ। सो माथि ताजमहल बनेको छ। ताजमहल वरिपरी घुम्न मिल्ने ठाउँ पर्यटकलाई खुला रहेको छ।
ताजमहलको पछाडि यमुना नदी बगिरहेकी छिन्, ताजमहलको पूर्व पश्चिम पनि इट्टा रंगका ताजमहलका अन्य दिशातर्फ पनि अन्य भव्य महल रहेका छन्। नदीमा हाँसका थुप्रै बथानहरू पौडी रहेका थिए। ताजमहलको माथि केही चराहरू उडिरहेका थिए, पटाङ्गिनी र आँगनमा चराहरू घुमिरहेका थिए— यस्तो दृश्य देख्दा मेरो मात्रै होइन, अरूको मन पनि कसो नलोभिएला र?
ताजमहल घुम्न के युवा के वृद्ध— सबै मानिस जोडा मिलाएर गएका देखिन्थे। बालबालिका उस्तै रमाइरहेका देखिन्थे। जातजातका लुगा लगाएका संसारभरिका मानिसलाई एकै पटक देख्न पाइयो। भिडियो बनाउने, टिकटक बनाउने, फोटो खिच्नेको भिड, त्यसैमा सेल्फी खिच्नेको पनि भिड देखिन्थ्यो।
केरला प्रदेशका मानिसहरूको घुम्न आउने भिन्नै प्रक्रिया रहेछ। उनीहरूको लगभग २५/३० जनाको जमात थियो। उनीहरूले सबैले सेतो टोपी लगाएका थिए। मैले तीमध्येका एकजोडी दम्पतीलाई सोधेँ— उनीहरूको एउटै जवाफ थियो— हामीपनि बाहिरबाट आएका पर्यटक हौं भनेर सबैलाई चिनाउनु र सबै पर्यटकको माझमा आफ्नो छुट्टै परिचय दिनु, यदि कोही तितर बितर नहोस्, कोही छुट्ने बित्तिकै तुरुन्तै फेला पार्न सकियोस् भन्ने नै हो भनेर जवाफ दिए।
हामीले फोटो खिच्यौं, भिडियो बनायौं, टिकटक बनायौं। निकै बेर घुमेर मनलाई रमाइलो बनाई साँझपख फर्कियौं पण्डितको महारानी होटलमा। मख्खन वाला रोटी, पनीरको सब्जी र फ्राई दाल, मुला गाजर सहितको सलादसहितको खाना खायौं। एक छिनपछि निद्रादेवीलाई निम्ता गर्यौं र थाकेका थियौं, घुर्न शुरू गर्यौं।
(स्मृति र निजी डायरी २०२३ जनावरी २६ आगरा, बालुगञ्ज हाल: खलंगा, प्युठान)
