सोमबार, २ असार, २०८२

ओझेलमा परेको पालुका स्थान मन्दिर र पर्यटकीय संभावनाको केन्द्रस्थल

प्यूठान जिल्लाको सदरमुकाम खलंगामा रहेका केही खास ठाउँहरू ऐतिहासिक, धार्मिक, सांस्कृतिक आर्थिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। तीँ ठाउँ कोट, मन्दिर, बस्ति घुम्न बुझ्न देख्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।

प्यूठान जिल्लामा साविकमा ४९ वटा गाउँ विकास समिति थिए। नेपालको संविधान २०७२ आए पश्चात् मुलुक नेपाल अधिराज्यबाट गणतन्त्रात्मक संघीय नेपालमा रुपान्तरण हुन पुग्यो। संघीय गणतन्त्रात्मक मुलुकमा रुपान्तरण भएपछि तीन तहका सरकारका संरचना बने। केन्द्रमा संघीय सरकार, प्रदेशमा सात प्रदेश सरकार र स्थानीय निकायहरूमा ७५३ वटा स्थानीय सरकार बने।

प्यूठानका ४९ वटा गाबिसलाई पायक पर्नेगरी गाभ्दा जनसंख्या, आर्थिक, भौगोलिक, विकासको मापदण्ड आदिका आधारमा प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका एवं अन्य मल्लरानी, सरुमारानी, माण्डवी, ऐरावती, झिमरुक, नौबहिनी र गौमुखी समेत ७ वटा गाउँपालिका बन्न पुगे। पालुका स्थान मन्दिर रहेको ठाउँ साविकका चुँजाठाँटी र धरमपानी समेतलाई लाई गाभेर मल्लरानी गाउँपालिका बन्न पुग्यो।

प्यूठानमा जब म श्रावण महिनाको पहिलो हप्ता पुगेँ। सुन्दर मध्य पहाडको रुपमा रहेको प्यूठान जिल्लाको सदरमुकाम खलंगामा रहेका केही खास ठाउँहरू ऐतिहासिक, धार्मिक, सांस्कृतिक आर्थिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। तीँ ठाउँ कोट, मन्दिर, बस्ति घुम्न बुझ्न देख्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।

हाल मल्लरानी गाउँपालिकामा ५ वटा वडा रहेका छन्। ती मध्ये वडा नम्बर १ चुँजाठाँटीमा पालुका स्थान मन्दिर पर्दछ। त्यहीँ चुँजाठाँटीको वडा र पालुका स्थान घुम्ने रहर पूरा हुन पाएको थिएन।

शुक्रबारको दिन अफिस समय पछि कहाँ जाउँ कहाँ जाउँ भैरहेको थियो। अफिसका स्टाफ ऋषि पौडेललाई आज कतै घुम्न पाए हुन्थ्यो कता जाने होला भन्दै गफ गरिरहेको थिएँ। ऋषिले चुँजाठाँटी र चुँजाठाँटी बजार नजिक रहेको पालुका स्थान पुग्न अत्यन्त महत्त्वपूर्ण हुने भनेर सल्लाह दिए। जहाँ ईच्छा त्यहीँ उपाय भनेझैँ मलाई त्यो घुम्ने ईच्छा पनि आजै अफिस समय पछि अवसर मिल्यो।

मलाई पनि ठिक सल्लाह लागेर स्टाफहरू सहायक जिल्ला न्याधिवक्ता मदन शर्मा, खरिदार कृत विक, सवारी चालक शुनिल चौधरी र अन्य कर्मचारी लक्ष्मण पछाइँ भएर गाडीमा हिँड्यौँ। ऋषि पौडेल भने आफ्नो मोटरसाइकलमा कुदे।

माघको सुरु समय, हिउँदको याम, तराईका केही जिल्लामा शीतलहर चलिरहेको र हिमाली जिल्लाहरूमा चिसो बढिरहेको अवस्थामा प्यूठानमा भने आज न्यानो घाम लागि रहेको थियो। ३ बजि सके पनि त्यति धेरै जाडो थिएन। हामी खलंगा बजार हुँदै कसेरी धरमपानी माथिल्लो बन्चरे, तल्लो बन्चरे हुँदै हामी चुँजाठाँटीको पौवा चौतारी, चुँजाठाँटी बजार हुँदै नजिकै पर्ने पालुका स्थान मन्दिर तर्फ गयौँ।

बजारको नजिक गाडी त्यहीँ राखेर हामी पालुका स्थान मन्दिर तर्फ गयौँ। चुँजाठाँटी बजारको केही भित्र अग्लो ठाउँमा पालुका स्थान मन्दिर रहेछ। दुइटा कोठाको रुपमा रहेको उक्त मन्दिरमा मंसिर पुर्णीमाका दिन चुँजी पौडेल थरका ब्राहमणहरुले भेडाको बल चढाएर विशेष पुजा गर्ने चलन रहेछ। मन्दिरको अगाडि दुइवटा रंगीन पाटे बाघ बनाएर उभ्याइएका थिए। चुँजाथरी पौडेल र पौवा चौतारी रहेको ठाउँलाई ठाँटी भनिने रहेछ। यसरी यस ठाउँको नाम चुँजाठाँटी भन्ने नाम रहन गएको रहेछ।

पौडी गढवालबाट मुस्लिम राजाले हिन्दुहरुलाई लखेट्ने काम भएपछि आफ्नो धर्मको रक्षार्थ पुर्खा प्युठानको चुँजाठाँटीमा दियोमा बत्ति बालेर आइरहेको अवस्थामा हालको पादुका स्थानमा पुगेपछि सो बत्ति निभेछ।

सो बत्ति निभेपछि सो ठाउँमा हालको पालुका मन्दिर बनाइएको हो भन्ने एकथरी भनाई छ भने अर्को भनाई बत्ति निभेपछि सो ठाउँमा जंगली जनावर बाघ, बँदेल, रतुवा जस्ता जनावरले बालीनाली लगायत मान्छेलाई खान थालेपछि सो ठाउँमा बाघ लगायतलाई शान्त पार्न र कुनैपनि अनिष्ट हुन नदिन पालुका नामका दुईवटा जोडी बाघ समेतको मन्दिर बनाइएको हो भनि स्थानीय बुद्विसागर पौडेलले पुरानो किंवदन्ती सुनाउनु भयो।

चुजाठाँटी प्यूठानको पूर्व तर्फ पर्छ। नजिकै शालघारी र अन्य बनजँगल, खेतीयोग्य जमिन पनि छ। नजिकै बरबोटमा भानुभक्त उच्च माध्यमिक विद्यालय पनि रहेको छ। यो विद्यालय वि. सं. २०२४/२५ सालतिर सुरु भइ २०३२ सालमा माध्यामिक विद्यालयको रुपमा स्थापना भएको र २०७० को दशकमा उच्च माविमा परिणत भएको हो भनी निज पौडेलले बताउनुभयो। यो विद्यालय चुँजाठाँटीको सान मान र प्रतिष्ठाको रुपमा लिइन्छ ।

भानुभक्त मावि २०२४/२५ सालबाट पढाउन शिक्षक खोजी गरि शुरु गरेर २०३२ सालबाट चुँजाबाट स्थानान्तरण गरि बरबोटमा सारिएको रहेछ। पहिले धरमपानी गाविस अहिले चुजापानी हाल पालिका -२ मा चुँदाठाँटी वडाका जनताहरुले सहजताका लागि नजिकै बजार पनि बनाएका छन्। ठूलो कारोबार र खरिद गर्न परे खलंगा बजार र बिजुवार जाने गर्दछन्। ठाँटी बजार नजिकै पुरानो पौवा चौतारो रहेको छ। जुन चौतारोलाई यहाँका मानिसले पौवा भन्दै आएका छन्।

यो बजारदेखि २ किमी पर अर्घाखाँची जिल्ला लाग्दछ। अर्घाखाँची यो क्षेत्रका मानिसको लागि बिहेवारी गर्न अत्यन्त काम लाग्ने जिल्ला हो। साँझ भैसकेको थियो। हामी त्यही नजिकै बरबोट घर भएका ऋषि पौडेलका घर गएर मीठो दुध चिया पिएर एकछिन भानुभक्त माबि हेर्न भ्यायौँ। भानुभक्त माविको पर्खाल र बारबन्देज बनाउन डिभिजन सडक कार्यालयले भ्याट सहित पौने नौलाख जति अनुदान सहयोगमा बनाइदिएको रहेछ। यसरी विद्यालयलाई सहयोग गरेकोमा धन्यवादको पात्र बनेको महसुस भयो।

भानुभक्तको शालिक सहितको चौतारी र भित्तामा सो शालिक बनाउन आर्थिक सहयोग गर्नेहरुको नामावली शिलामा लेखिएको थियो। शालिक बनाउन सहयोग गर्ने केहीको केही नाम उल्लेख गर्न मन लाग्यो। विद्यालय जस्तो पवित्र स्थलमा शालिक बनाउन मल्लरानी गाउँपालिकाले अनुदान सहयोग रु १ लाख ४७हजार केहि विभिन्न व्यक्तिहरु प्राय पौडेल, पोखरेल शर्मा बिष्ट लगायत एसईई विद्यार्थी समूह २०८० ले पनि सहयोग गरेको देखिन्थ्यो।

त्यतिबेलासम्म सूर्यास्त भइसकेको थियो। गोधुली साँझको समय भैसकेको थियो। पौडेल, आचार्य, बिभिन्न्न मगर जाती, क्षत्री एवं दलित जातीको बाहुल्यता रहेको देखिन्थ्यो।

चुँजाठाँटी नजिक रहेको भानुभक्त माविबाट उत्तरतर्फ अग्लो स्थानमा रहेको रहेको वडा नं १, निकै सुन्दर र रमाइलो देखिन्थ्यो भने र वडा नं. २ पालु र त्यहाँदेखि भित्र रहेको शुन्दर खेतियोग्य जग्गा र शालघारीले जति हेरेपनि धित नमर्ने दृश्य देखाएको थियो।

पर्यटकीय एवं धार्मिक तथा ऐतिहासिक महत्व रहेको यस क्षेत्रमा पिकनिक पार्क बनाउँदा पनि रमाइलो हुने देखिन्थ्यो। पाउला स्थान नजिक बग्ने सानो खोलाको कलकल आवाजले प्रकृतिको छुट्टै मज्जा दिइरहेको थियो।

समग्रमा पालुका स्थान भ्रमण मेरो लागि ऐतिहासिक महत्वको थियो। सौभाग्यले घुम्न जाने अवसर मिलेको थियो। सर्वसाधारण जनता मिली त्यति ठूलो स्कुल मन्दिर पौवा बनाएको देख्दा सामाजिक धार्मिक पर्यटकीय शैक्षिक काम गर्न म र हामी जस्ता व्याक्तिहरूले पनि समाजमा केही न केहि गर्नुपर्ने रहेछ भन्ने अनुभूति बोकेर फर्कियौँ।

प्रशान्त”२०८१/१०/११ गते शुक्रबार, चुँजाठाँटी खलंगा, प्यूठान।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार