मंगलवार, १३ माघ, २०८२

मायामा के हुन्छ? एक दृष्टि

माया एउटा सम्बन्ध मात्र होइन यो जीवन बुझ्ने यात्रा हो। माया मानिसलाई गन्तव्यभन्दा केन्द्रमा ल्याउँछ।

माया मानिसले अनुभव गर्ने सबैभन्दा गहिरो र जटिल भावनामध्ये एक हो। प्राचीन समयदेखि अहिलेका पुस्तासम्म, माया किन लाग्छ, कसरी बढ्छ, किन कसैले कसैलाई मन पर्छ, यी कुरा बुझ्न मान्छे सदैव प्रयासरत देखिन्छ। जीवनका धेरै कुरा तर्कले बुझिन्छन्, तर माया धेरैजसो अनुभूति र मनको चलनले बुझिन्छ।

मलाई लाग्छ, माया त्यो शक्ति हो जसले मानिसलाई आफूभित्रका भित्ताहरू भत्काएर बाहिरको संसारसँग जोडिदिन्छ। कसैलाई मन परेपछि मानिसले आफूलाई नयाँ दृष्टिले हेर्न थाल्छ।

पहिले थाहा नपाएका कमजोरी, चाहना, डर र क्षमता सबै माया आएपछि स्पष्ट देखिन थाल्छन्। यस अर्थमा माया केवल दुई व्यक्तिबीचको सम्बन्ध मात्र होइन, यो आफूलाई चिन्न र बुझ्न मिल्ने एक अदृश्य यात्रा हो।

मायामा निकै ठूलो विरोधाभास हुन्छ। माया स्वतन्त्रता पनि हो र निर्भरता पनि; उज्यालो पनि हो र कहिलेकाहीँ छायाँ पनि। कसैलाई प्रेम गर्दा मानिसले आफूभित्रको स्वार्थभन्दा माथि उठ्छ।

उसले अरूको सुखलाई आफ्नै सुखजस्तै महत्व दिन थाल्छ। यही समर्पणमा सुन्दरताको अनुभूति छ। तर यही समर्पण कहिलेकाहीँ पीडाको कारण पनि बन्दछ, किनकि मन जति खुल्छ, त्यति नाजुक बन्छ।

यसैले माया लाग्दा चोट पनि गहिरो लाग्छ, तर त्यो चोटले मानिसलाई परिपक्व बनाउने काम गर्छ। जीवनमा हामी सबै कहिल्यै नझेलिएका अनुभूति मायामा पहिलोपटक महसुस गर्छौँ र त्यही अनुभूतिले मनलाई शुद्ध पनि बनाउँछ, बलियो पनि।

मायामा समयको अर्थ फरक हुन्छ। प्रेममा डुबेको मनले एक सेकेन्डलाई पनि अनन्तजस्तो अनुभव गर्छ, अनि कहिलेकाहीँ धेरै लामो पल पनि क्षणभरमा बितेको जस्तो लाग्छ।

माया लागेपछि भविष्यको चिन्ता वा विगतको पछुतोभन्दा वर्तमान क्षण महत्त्वपूर्ण बन्छ। यसलाई म ‘समयचेतनाको परिवर्तन’ भन्छु, किनकि माया मनलाई अहिलेकै अनुभूति भित्र बस्न सिकाउँछ।

मायाले मानिसलाई लक्ष्यभन्दा अनुभूतितिर डोर्‍याउँछ। जीवन केवल हासिल गर्ने कुरा मात्र भएर नबसि, महसुस गर्ने यात्रा बन्छ। यतिबेला मानिस उद्देश्यपूर्ण जीवभन्दा संवेदनशील र चेतनशील प्राणी बन्न थाल्छ।

माया आत्माको दर्पण पनि हो। बाहिरका मानिसले जे भने पनि, मायाले भने भित्रका कुरा उजागर गर्छ। जब कसैलाई मन पराउँछौँ, तब आफू कस्तो मान्छे हौँ, यो प्रश्नले मनलाई लगातार हल्लाउँछ।

कहिलेकाहीँ यसले डर पनि लाग्छ। किनकि माया लागेपछि हामीले लगाएका धेरै मुखौटा खुल्न थाल्छन्। तर त्यही डरपछि एउटा ठूलो सत्य भेटिन्छ आफ्नै अस्तित्वबारेको सत्य।

माया केवल कसैलाई पाउने, समात्ने वा आफ्नो बनाउने प्रक्रिया होइन। माया ग्रहणशीलता हो, स्वीकार गर्ने कला हो। अर्को व्यक्तिकै सङ्गतमा बसेर आफूलाई खुलेर हेर्ने मौका हो।

जब मानिसले कसैलाई साँचो मनले माया गर्छ, तब उसले आफ्नै मनलाई बुझ्ने क्षमता बढाउँछ। यही क्षमताले मानिसलाई गहिरो आध्यात्मिक बोधतिर डोर्याउँछ।

अन्त्यमा, माया एउटा सम्बन्ध मात्र होइन यो जीवन बुझ्ने यात्रा हो। माया मानिसलाई गन्तव्यभन्दा केन्द्रमा ल्याउँछ। जुनसुकै मान्छेले साँचो माया गरेपछि आफूप्रति, अरूप्रति र संसारप्रति हेर्ने दृष्टिकोण फेरिन्छ। हामी चलायमान भावनाहरूको भीडमा हराएर होइन, आफ्नै अस्तित्वसँग भेट भएर अघि बढ्न सिक्छौँ।

मेरो बुझाइमा, माया जीवनको सबैभन्दा मौलिक, गहिरो र परिवर्तनकारी शक्ति हो जसले मनलाई खोलेर, आत्मालाई उज्यालो बनाउँछ। माया हृदयबाट सुरु हुन्छ, तर अन्ततः आत्माको गहिराइमा पुगेर मानिसलाई पूर्ण बनाउने काम गर्छ।

लोकेन्द्र बहादुर शाही
सिंजा गाउँपालिका–५, जुम्ला

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार