सोमबार, ९ भाद्र, २०८२

कविता : अशान्त आमाहरु

स्कुलको खाली चौरमा
अशान्त बसिरहेका छन्, केहि आमाहरु

अशान्त यसकारण की तिनीहरु सोचिरहेछन्,
कतै मौका परीक्षा दिइरहेका उनीहरुका बच्चाहरुले
परीक्षा हलमै आत्महत्या त गरिदिएनन्!

अशान्त यसकारण की तिनीहरु सम्झिरहेछन्
सबैलाई सुताएर आत्महत्या गर्ने
आफ्ना बच्चाहरुको कोसिस
नसुतेर विफल बनाइदिएका साँझहरु
र एक्लै सदुरमुकाम आएर आत्महत्या गर्ने गुप्त योजनालाई पनि
सदुरमुकाम आएरै विफल,
बनाइदिएका तडपनहरु

र यतिखेर प्रष्ट नै देखिन्छ
उनीहरु पहिले भन्दा अत्याधिक डरइरहेका छन्,
की कहिकतै हामी नभएको छेकोमा
परीक्षा बोर्डले सोधेका मौका प्रश्नको उत्तर नलेखि
उनीहरु जिन्दगीले सोधेको अन्तिम प्रश्नको पहिलो उत्तरमा
आत्महत्या त लेखिरहेका छैनन्

फेरि यत्रो प्रहरी छन्
शिक्षक छन्
विद्यालय कर्मचारी छन्
विद्यार्थी छन्
तथापि उनीहरु संसय र सन्देहले मनमनै चुकचुकाइरहेछन्
र हेरिरहेछन् परीक्षा भवनका झ्यालहरु
शौचालयका झ्यालहरु
अनि आफ्नै मनका झ्यालहरु

तर तिनीहरु पुरापुर भुलिरहेछन् की
परीक्षा भवनमा आत्महत्या गर्ने,
आफ्ना बच्चाहरुको निर्णय
परीक्षा भवन बाहिरै आई बसिदिएर निष्क्रिय बनाइदिएको कुरा

उसो त आमाहरु
आफ्नो योगदान, उपस्थिति र
सफलताको जस लिँदैनन्
आफ्नो साधना, प्रेम र समर्पणको,
आधिकारिकता माग्दैनन्

त्यसैले त आमाहरु आमा हुन
जो जोहि कोहि बन्न सक्दैनन् !

यसरी बच्चाहरुको
गर्भमै आत्महत्या गर्ने सोचलाई प्रसुति मार्फत
विफल बनाइदिएको सम्झिँदै
फेरि एकपल्ट मौका परीक्षाको मौकामा
स्कुलको खालि चौरमा
केहि अशान्त आमाहरु भेला भएर बसिरहेका छन्
र हेरिरहेका छन्, शान्त परीक्षा भवनलाई !

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार