छोरी तिमीले रोजेको मृत्यु
घर ,परिवार इष्टमित्र,
गाउँ समाज कसैलाई स्वीकार छैन्
तिम्रो मृत्युलाई सबैबाट तिरस्कार छ
तिमीलाई धिक्कार छ
तिम्रो सोचलाई धिक्कार छ
मलाई पनि धिक्कार छ
तिमी जस्ती चेतनाहीन छोरी जन्माए
मैले तिमीलाई किन हुर्काए ?
किन लेखाए किन पढाए?
आज पश्चाताप भइरहेको छ!
छोरी तिमीले जघन्य अपराध गर्यौ
छोरी तिमिले आफ्नै हत्या गर्यौ!
थिए होलान तिम्रा आफ्नै पिडाहरु,
धोकाहरु ,वेदनाहरु
तिमीलाई रुवाइरहनेहरु ,
तिमीलाई मार्न खोज्नेहरु
तिमी त्यो सबै कुराको हल गर्न सक्थ्यौ
आफ्ना पिडाहरु साथीभाईलाई भन्न सक्थ्यौ
आमाबुबालाई भन्न सक्थ्यौ
तिम्रो साथमा कोहि नभए
तिमी एक्लै पनि बाँच्न सक्थ्यौ
तर तिमीले सारा घरपरिवार
आमाबुवा कसैलाई नसम्झी
आफ्नै हातबाट मृत्यु रोज्यौ
तिम्रो त्यो निर्णयलाई,
म कदापि सहि लिन सक्दिनँ
छोरी म तिमीलाई श्रद्धाञ्जली दिन सक्दिनँ !
श्रद्धाञ्जली उनिहरूलाई दिइन्छ
शोक उनिहरुको मनाईन्छ
जो मृत्युका लागि लडे,
जो बाँच्न चाहँदा चाहँदै पनि मरे
तिमी जस्ती कायर छोरी
तिमी जस्ती मस्तिष्कबिहिन छोरीलाई हैन्
यस्तो अमुल्य हिरा जस्तो जीवनलाई
आफ्नै हातबाट चिता बनाएर
आफैंले आगो लाएर
जिउँदै जल्ने
तिमी जस्ती कमजोर छोरीलाई
म श्रद्धाञ्जली दिन सक्दिनँ!
छोरी म तिम्रो शोक मनाउन सक्दिनँ
मैले तिम्रो शोक मनायो भने
तिमीलाई श्रद्धाञ्जली दियो भने
मैले दु:ख प्रकट गरेँ भने
समाजमा नै गलत सन्देश प्रवाह हुन्छ
त्यसैले म आज तिम्रो मृत्युमा शोक हैन्
भोज भतेर धुमधाम मनाउन
राजी छु!
मान्छे जिउँदै मरेर पनि बाँच्ने साहस राख्छन्
पटक-पटक लडेर पनि उठ्ने प्रयास गर्छ्न्
बाँच्नलाई कति संघर्ष गर्छन् !
तिमीले आफ्नो चेतना गुमायौ
चेतनासंगै आफ्नो जीवन गुमायौ!
छोरी,
अब म तिमीलाई कहिले सम्झिने छैन्
तिमीलाई कहिले प्रेम गर्ने छैन्
र म तिमीलाई कहिले माफ दिन सक्दिनँ
छोरी म तिमीलाई श्रद्धाञ्जली दिन सक्दिन!
छोरी म तिमीलाई
श्रद्धाञ्जली दिन सक्दिनँ!















