बुधबार, ४ असार, २०८२

आउ विचारको जग भत्काउने आँट गरौं

संसारमा त्यति मात्र सम्बन्ध छन्,
जति देखेका छन्
या, सम्बन्धमा त्यति मात्र प्रेम छन्,
जति लेखेका छन्
प्रेममा त्यति मात्र भावना छन्,
जति पोखिएका छन्
या,भावनामा त्यति मात्र विचार छन्,
जति सुनिएका छन्

हामी बाँचेको समाजको वजन त असन्तुलित छ,
यही समाजमा हुर्केको हाम्रो सम्बन्धमा उतारचढाव हुनु
कसरी नौलो कुरा बन्यो ?
सम्बन्धमा प्रेम,
प्रेममा भावना,
भावनामा विचार
हाम्रो पनि थियो
तर हाम्रो सम्बन्ध
त्यागको प्रतिबिम्ब कसरी बन्यो?

हरेक रित पूरा गरेर पनि तिमीलाई,
मेरै भनी पाउन नसक्नु,
तिमीले हरेक रित पूरा गरेर पनि तिम्रै हुँ,
भन्न नसक्नु,
के यही थियो हाम्रो सम्बन्धको निचोड?

लेखिएर होला राधाको त्याग देखियो,
लेखिएरै होला पार्वतीको तपस्या देखियो,
मेरो त्याग तपस्या पनि त उस्तै थियो,
के पनि मेरो प्रेम तिमीप्रति उस्तै देखियो र?
माया पाउनलाई लेखिन या देखिन जरुरी थियो र?

यदि लेखेर पाउने भए,
मेरो भावनाको शिलान्यासमा,
तिम्रो हातको औंठा छाप हुन्थ्यो।
यदि देखेर पाउने भए,
मेरो प्रेमको खतपत्रमा,
तिम्रो नामको हस्ताक्षर हुन्थ्यो।

गुनासो तिमीसँग पनि छैन,
थाहा छ तिमीले मलाई अंगाल्न,
मैले भोगेका मेरा दुःख पनि स्वीकार्न पर्छ
गुनासो समाजसँग पनि छैन,
थाहा छ समाजले हाम्रो सम्बन्ध सम्हाल्न
हामीले उठाएको केही कठोर कदम पनि छिचोल्न पर्छ।
गुनासो भाग्यसँग पनि छैन,
थाहा छ भाग्यले मेरो जीवनमार्ग सच्चाउन,
लेखान्तको नियमलाई बदल्ने कुकर्म गर्नपर्छ।
गुनासो समयसँग पनि छैन,
थाहा छ समयले मेरो खुसी फिर्ता दिन
आफ्नो भूतकाललाई समयको रेखाबाट हटाउने दुश्साहस गर्नपर्छ।

गुनासो छ त केवल आफैसँग छ!
सन्तुष्ट छु त केवल आफैसँग छु!!

सक्छौ भने समात्न हात,
आउ यो जोखिमपूर्ण प्रेमको हिमशृङ्खला चढ्ने प्रयत्न,
हामी पनि गरौं।
यदि सक्छौ भने दिन साथ,
आउ यो काम नलाग्ने सामाजिक विचारको जग भत्काउने आँट,
हामी पनि गरौं।।

म कसैसँग हुँला या नहुँला,
बस तिमीसँग हुन सकूँ।
म कसैको रहुँला या नरहौँला,
बस तिम्रो रहन सकुँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार