बिहान हुँदै थियो बिस्तारै,
किताबले भरिएको झोला बोकेर
म ट्युसन पढ्न गएकी थिएँ
भोलिको सपना बोकेर।
आमा ढोकामा उभिएर भन्नुहुन्थ्यो,
छिट्टै फर्किनु है छोरी।
म मुस्कुराउँदै टाउको हल्लाएँ,
के थाहा त्यो मुस्कान अन्तिम जस्तै हुनेछ।
सडक शान्त थियो,
तर मनमा उज्यालो थियो।
ज्ञानको बाटो हिँड्दै थिएँ,
भविष्य बनाउने आशामा।
तर अचानक अँध्यारो आयो,
केही कठोर हातहरू बढे।
मेरो आवाज थुन्न खोजे,
मेरो सपना च्यात्न खोजे।
म चिच्याएँ,
आकाशले सुनेजस्तो लाग्यो,
तर सडक मौन थियो,
मानिसहरू टाढा टाढा थिए।
त्यो क्षणले
मेरो हाँसो लुट्यो,
म लतारिएको आवाज
चराले सुने,
म घस्रीएको आवाज
सुनसान जङ्गलले सुने
मलाई चिच्याहट बन्द गरियो,
अनि म रोकिए
मेरो आत्मविश्वास चोर्यो
मेरो निर्दोष सपना च्यात्यो।
म घर फर्किन सकिन,
आमाको काखमा लुक्न सकिनँ।
मेरो किताबहरू सडकमा छरिए,
सपनाहरू पनि त्यस्तै छरिए।
आमा आज म प्रश्न बनेकी छु,
मले बोकेर पढ्न गएका किताबको पाना
बाट म बोल्दै छु,
किन नारीको बाटो असुरक्षित?
किन सपनाको यात्रा
यति कठोर हुन्छ?
म केवल एउटी छोरी थिएँ,
पढ्न चाहने साधारण सपना थियो।
तर समाजको अँध्यारोले
मेरो उज्यालो खोसिदियो।
तर मेरो आवाज अझै बाँकी छ,
मेरो कथा अझै बाँकी छ।
मौनता तोड्नुपर्छ अब,
अन्याय रोक्नुपर्छ अब।
किनकि हरेक छोरी
निर्भय भएर पढ्न जान पाओस्,
र साँझ ढल्दा पनि
सुरक्षित घर फर्किन पाओस्।
त्यो दिन आएपछि मात्र
मेरो पीडा व्यर्थ हुनेछैन आमा,
मेरो कथा चेतावनी बन्छ,
र समाज सचेत हुनेछ।
कमला विश्वकर्मा















