यो हेरफेर, घरदैलो, जिन्दावाद कहिलेसम्म हो?
हाम्रो पक्षमा तपाईंको आवाज कहिलेसम्म हो?
बिग्रेको स्वीकार्न, अपजस सुन्न चाहँदै चाहनुहुन्न
उपलब्धीको जस मात्र तानातान कहिलेसम्म हो?
कयौँ तुइन, कयौँ जवान यहिँ नदीमा खसिसके
पुल बनाउँछु भन्दै जित्ने चुनाव कहिलेसम्म हो?
घरी यो दल, घरी त्यो दल “सबै आफ्नै बदल”
भन्नुस् यो चर्तिकला साफसाफ कहिलेसम्म हो?
गाडी चढेर, महलमा बसेर मखमल ओढ्नुहुन्छ
हामीले मात्र ओड्नुपर्ने आकाश कहिलेसम्म हो?















