बाल्यकालमा मैले न बाबाको माया पाएँ न त आमाको। बाबा गएपछि आमा केही समयमा नै बिरामी हुनुभएकोले मैले मेरो जीवनमा बाबा र आमाको वास्तविक माया कहिल्यै पनि महसुस गर्न पाएकी छैन।
नमस्कार म अनिता नेपाली। जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ (तत्कालीन चन्दननाथ गा.वि.स.) डाडाकोटमा २२ वर्ष अगाडि मेरो जन्म भएको हो। मेरो बाल्यकालको सुरुवातदेखि नै हाम्रो परिवार अरू दलित परिवारभन्दा फरक र आत्मनिर्भर थियो।
बाबाले फेन्सी पसल चलाउनुहुन्थ्यो। आमाले बाबालाई पसलमा सहयोग गर्नुहुन्थ्यो। अरूको भन्दा हाम्रो जग्गाजमिन पनि धेरै नै थियो। दाइ र दिदी बोर्डिङ स्कुलमा पढ्थे। घर परिवार र समाजमा इज्जतका साथ खान, लाउन र बस्नलाई हाम्रो परिवारलाई कुनै समस्या थिएन।
समय बित्दै जाँदा हाम्रो परिवारको खुसीमा धक्का लाग्यो। म ६ महिनाकी हुँदा बाबाले घर छाडेर भारत जानु भएको थियो। बाबाले घर छाडेपछि उदाहरणीय परिवार विचलित भयो। त्यसपछि जीवनमा दु:ख र संघर्षको सुरुवात भयो।
बाल्यकालमा मैले न बाबाको माया पाएँ न त आमाको। बाबा गएपछि आमा केही समयमा नै बिरामी हुनुभएकोले मैले मेरो जीवनमा बाबा र आमाको वास्तविक माया कहिल्यै पनि महसुस गर्न पाएकी छैन।
तर दाइ र दिदीले मलाई धेरै माया र सहयोग गर्नुभएको थियो। मेरा दाइ र दिदी बोर्डिङ पढ्दापढ्दै सरकारी स्कुल जान बाध्य हुनुभयो। बाबाले घर छाडेपछि सबैभन्दा धेरै विचलन र अप्ठ्यारोमा मेरी आमा पर्नुभयो। म त सानै थिएँ, उमेर बढ्दै जाँदा आमाले सबै कुराहरू मलाई सुनाउनुभएको थियो।
बढ्दो उमेरसँगसँगै मैले बाबाको महत्व र अभाव महसुस गर्न थालेँ। घरमा आमालाई चार जना सन्तानलाई पढाउन, खुवाउन र लत्ता कपडामा निकै समस्या थियो। त्यसैबखत आमा धेरै बिरामी हुनुभयो। बाबाको बिछोडपछि आमाको मानसिक सन्तुलनमा समस्या देखियो।
त्यसपछि समाज र आफन्तहरूबाट बहिष्कार, अपहेलना, विभेद, गालीगलौज आदि कुराले मेरो बाल मस्तिष्कमा नराम्रो प्रभाव पारेको थियो। अहिले पनि मानसपटलमा रहिरहेकै छ। दलित समुदायमा जन्मनु, समाजदेखि घरपरिवारको अवस्था यी सबै कुराले गर्दा आज म आफ्नो कथा लेख्न सक्ने भएकी छु।
मान्छेहरूको जीवनमा उतारचढाव आउनु स्वाभाविक हो तर मेरो त जन्म पश्चात् नै जीवनको परीक्षा सुरु भएको थियो। सानै उमेरमा जातको कारण विभेद भोग्नुपरेको, घरपरिवारको बिग्रँदो अवस्था, साथीभाइबाट अपहेलित, समाजमा ‘बाउले छोडेको छोरी’ र ‘मानसिक बिरामीले घेरिएकी आमा’ यति धेरै कारणहरूले गर्दा नमिठा भोगाइहरू महसुस गरेकी छु।
भोगाइहरूले एक दिन पक्कै पनि न्याय पाउँछन् होला र त्यही न्यायका लागि मैले मेरो जीवनमा एक सफल व्यक्ति भएर समाज र मेरा परिवारका लागि उदाहरणीय पात्र बन्ने आँट गरेको छु।
मेरो संघर्षको सुरुवात:
आमाले हामीलाई घरमा छाडेर दिनभरि काम गर्न जानुहुन्थ्यो र साँझमा ल्याउने खाजा रोटीले चार जनाको पेट भरिन्थ्यो। त्यो दुःखको समयमा आमा शक्तिशाली उर्जा हुनुहुन्थ्यो।
उहाँ मेरो लागि आदर्शको पात्र हुनुहुन्छ। उहाँले संघर्ष कसरी गर्ने र किन गर्ने भन्नेबारे सधैं बुझाउने र सम्झाउने गर्नुहुन्थ्यो। मलाई अहिले पनि याद छ, स्कुल पढ्दा म अरूभन्दा अलि पढ्ने, सक्रिय र प्रथम विद्यार्थी थिएँ।
केही छात्रवृत्तिको पैसाहरू जम्मा गरेर म आमालाई दिन्थेँ। त्यसै पैसाले आमाले घर व्यवहार हेर्नुहुन्थ्यो, तर मैले मेरो इच्छा चाहनाहरूलाई मारेकी थिएँ, किनकि आमाको दुःख र संघर्ष देखेकी थिएँ।
कक्षा सातमा पढ्दा मेरो कापी पुरानो र च्यातिएको कारणले शिक्षकले मेरो गृहकार्य जाँच गर्नुभएन। त्यसको केही दिनपछि म गिट्टी कुट्न जान थालेँ र त्यसबाट आएको पैसाले नयाँ कापी किनेर गृहकार्य गरेँ। त्यो मेरो जीवन संघर्षको पहिलो पाइला थियो।
अरू विद्यार्थीहरूभन्दा म फरक स्वभावकी थिएँ र हरेक स्कुलको अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थेँ। त्यसैले शिक्षक शिक्षिकाहरूले मलाई माया र सहयोग गरेको अहिले पनि याद छ। सानैदेखि फरक र आत्मविश्वासका साथ प्रस्तुत भएकाले तथा मेरो राम्रो व्यवहारका कारण साथीहरू मप्रति प्रभावित र सजग देखिन्थे। पढाइसँगसँगै युवा क्लब, महिला समूह जस्ता सामाजिक कार्यमा पनि संलग्न थिएँ।
हाम्रो समाजमा व्यापक रूपमा रहेको बालविवाह, जातीय विभेद तथा छुवाछुत, घरेलु हिंसा, महिला हिंसा र विशेष गरी बालबालिकाका हक अधिकार सम्बन्धी तालिम, गोष्ठी आदि विभिन्न संघ संस्थाबाट सञ्चालित कार्यक्रमहरूमा सधैं सहभागिता जनाउने गर्थेँ।
जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने अवसर पाएकोले आज जुम्ला जिल्लाका युवाहरूको प्रेरणाको स्रोत बन्न पाउँदा आफैमाथि गर्व महसुस हुन्छ।
विभिन्न संघ संस्था, युवा क्लब र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै, पढ्दै प्लस टु सकेँ र अहिले स्नातक पढ्दै छु। मेरो परिवारको ठूलो सपना छ, म अधिवक्ता बनेको हेर्ने। अनि न्याय क्षेत्रमा काम गरी म जस्ता छोरीहरूको बुलन्द आवाजलाई सशक्त बनाएको देख्ने।
















