शनिबार, ६ बैशाख, २०८२

तिमीले भने जस्तै कथित तल्लो वर्गकी म

तिमीले मेरो हातमा चुरा नभएको देख्यौ, मैले त्यो हातले घर बनाएँ। तिमीले मलाई अशिक्षित भन्यौ, तर मैले मेरा भाइ–बहिनीलाई स्कूल पठाएँ।

तिमीले भन्यौ — म त तल्लो वर्गकी, साह्रो के गर्न सक्छे र?

हो, म तल्लो वर्गकी हुँ। म बिहान सबेरै उठ्छु, अरूका घर झाडु–पोछा गर्छु, खेतमा गहुँ काट्छु, सडकमा पसल चलाउँछु। म पैसा होइन, पसिना कमाउँछु। मेरा हातमा न त सुनछाप गहना छन्, न त मेरो काँधमा साटनको सारी। तर ती हातहरूले परिवार पाल्छन्, ती खुट्टाहरूले जिन्दगीको बोझ बोकेका छन्।

तिमीले मलाई हेर्दा तल्लो देख्यौ — तर म त त्यो वर्गकी हुँ, जसको श्रमले देश चल्छ। म त्यो नारी हुँ, जसले भोक सहेर पनि बच्चालाई खुवाउँछ। जसले आँसु पुछेर पनि हाँस्न सिकेकी छ।

तिमीले मेरो पढाइ नहुनुमा दोष देख्यौ, मैले त्यसलाई संघर्ष बनाएँ। तिमीले मेरो पुरानो लुगा देख्यौ, मैले त्यसमा आत्मसम्मानको थान सिलाएँ। तिमीले मेरा सपना साना देख्यौ, तर ती सपनामा ठूलो मन छ, जुन तिमी सोच्न सक्दैनौ।

तल्लो वर्गकी म, तिमीले देखेजति कमजोर छैन। म कर्ममा विश्वास गर्छु, इमानमा अडिन्छु, र भविष्यको उज्यालो सपनामा बाँचिरहेकी छु।

म तल्लो वर्गकी — तर म गर्वले भन्छु, म म हुँ। तिमीले बनाएको सीमाभित्र होइन, म आफ्नै बाटो बनाएर हिँड्छु।

समाजमा वर्गीय विभाजनको कुरा गर्दा “तल्लो वर्ग” भन्नाले त्यो वर्गलाई जनाइन्छ, जसको जीवन दैनिकी संघर्ष, श्रम र अभावले भरिएको हुन्छ। तल्लो वर्ग भन्नु भनेको गरीब, श्रमिक, मजदुर, किसान, घरेलु कामदार, र सीप–श्रम बेचेर बाँच्ने जनसमुदाय हो। उनीहरू समाजको मेरुदण्ड हुन्, तर दुर्भाग्यवश, सम्मानभन्दा सहानुभूतिका पात्र मात्र बनाइन्छन्।

तल्लो वर्गका मानिसहरूको जीवन बिहानको चियाभन्दा अघि सुरु हुन्छ र रातको थकाइसँगै ढल्छ। उनीहरू बिना बिदा काम गर्छन्, छोराछोरीको शिक्षाका लागि ऋण खोज्छन्, स्वास्थ्य उपचारका लागि चन्दा माग्छन्, र चुपचाप सबै सहन्छन्। तिनीहरूको श्रमले भवन ठडिन्छ, खेत फल्छ, उद्योग चल्छ — तर श्रेय लिनेहरू सधैं माथिल्लो वर्गमै हुन्छन्।

समाजमा तल्लो वर्गप्रति हेर्ने दृष्टि अझै परिवर्तन हुन बाँकी छ। उनीहरूलाई सहानुभूतिका पात्र होइन, सम्मान र अवसरका पात्रको रूपमा हेर्नुपर्छ। उनीहरूलाई सशक्त बनाउन शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको समान पहुँच अत्यावश्यक छ। राज्यले उनीहरूको पक्षमा नीतिहरू बनाउनुपर्छ र समाजले उनीहरूको अस्तित्वलाई स्वीकार गरेर सहयोगी हात दिनुपर्छ।

तल्लो वर्ग भन्ने शब्दले अब गरिबी मात्र होइन, संघर्ष, श्रम र आत्मसम्मानको प्रतीक बन्नुपर्छ। म तल्लो वर्गकी हुँ र मलाई त्यसमा लाज होइन, गर्व लाग्छ।

किनभने म त्यही वर्गकी हुँ, जसको पसिनाले यो देश बन्छ, जसको श्रमले अरूको जीवन सजिन्छ। म त्यो वर्गकी हुँ, जसले चुपचाप सहन्छ, तर कहिल्यै हार मान्दैन।

तिमीले मलाई सस्तो लुगामा देख्यौ, मैले त्यसमा आत्मसम्मान देखाएँ। तिमीले मेरो हातमा चुरा नभएको देख्यौ, मैले त्यो हातले घर बनाएँ। तिमीले मलाई अशिक्षित भन्यौ, तर मैले मेरा भाइ–बहिनीलाई स्कूल पठाएँ।

तिमीले मेरो भाषा खिसी गर्‍यौ। तर म सत्य बोल्न कहिल्यै डराउँदिनँ। हो, मसँग महँगा गहना छैनन्, महल छैन। तर मसँग आत्मसम्मान छ, मेहनत छ, र जिन्दगीसँग लड्ने हिम्मत छ।

तल्लो वर्ग हुनु भनेको कमजोर हुनु होइन, त्यो त हाम्रो समाजको आधारभूत शक्ति हो। हामीबिना, तिमीहरूको जीवन अधुरो हुन्छ। हामीबिना खेतमा अन्न उब्जिँदैन, घरमा बत्ती बल्दैन, र शहर चल्दैन।

म गर्व गर्छु, म तल्लो वर्गकी हुँ। किनभने म श्रमिक हुँ, म स्वाभिमानी हुँ, म देशको जरा हुँ। त्यसैले म गर्वका साथ भन्छु — म तल्लो वर्गकी हुँ।

जब म सर्वोच्च शिखर चुमेर फर्किएँ,
उनीहरूले सोधे, ‘कति कमायौ?’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार