बिहीबार, २४ बैशाख, २०८३

हुम्लामा गाडी पुगेपछि स्थानीय खुसी, खच्चर व्यवसायी दुःखी

पहाडी तथा हिमाली क्षेत्रको सामान ढुवानी गर्ने एक परम्परागत र भरपर्दो यातायातको साधनको रुपमा खच्चडलाई लिइन्छ।

मुगु जिल्ला गाडी गुड्या, हुम्लीका पाउ दुख्या।
जनताका दुःख ल्यायौँ, नेता जती लुक्या।

अदानचुली गाउँपालिकाकी अदानकला महताराले गाएको यो गीतले नै हुम्लाका अवस्था उजागर गरेको छ। हुम्ली नागरिकले पहिलोपटक गाडी बर्दियाको राजापुरमा देखेका थिए। पैसा तिरेरै भए पनि गाडी चढ्ने धोको धेरैकै थियो। गाउँबाट गाडी चढेर सदरमुकाम सिमीकोट र त्यहाँबाट सुर्खेत झर्ने रहर पुरा भएको नन्दप्रसाद जैशीले बताए।

कर्णाली करिडोरको बाटो हुम्लाको दक्षिणी गाउँपालिका ताँजाकोट र अदानचुली देखि सर्केगाड हुँदै चंखेली पुगेको छ। चाँडै नै अन्य गाउँपालिकामा समेत छुने लक्ष्यको साथमा काम सञ्चालन भइरहेको छ।

कर्णाली करिडोरमा सडक सञ्जालले जोड्न थालेपछि त्यस क्षेत्रका खच्चड व्यवसायी यतिबेला चिन्तित बनेका छन्। सडक सञ्जाल पुगे पछि खच्चडको प्रयोग नहुने भएकाले व्यवसायी चिन्तित छन्।

पहाडी तथा हिमाली क्षेत्रको सामान ढुवानी गर्ने एक परम्परागत र भरपर्दो यातायातको साधनको रुपमा खच्चडलाई लिइन्छ। तर पछिल्लो समय त्यही हिमाली तथा पहाडी क्षेत्रको गाउँगाउँमा गाडी गुड्ने सडक बन्दा र किसानले खच्चड पाल्न छाडेपछि व्यवसायी भने चिन्तित बनेका छन्।

गाउँमा सडक पुगेसँगै सामान गाडीबाट ढुवानी हुन थालेपछि अहिले खच्चड चलेको बिरलै देख्न पाइन्छ।

हुम्ला जिल्ला अदानचुली गाउँपालिका -३ का कलसिगे नेपाली उमेरले ३६ वर्ष पुगे। डमी पेशा छोडेर तीन वर्ष पहिले जुम्लादेखि खच्चर ल्याएर गाडी नपुगेको अदानचुली गाउँपालिका देखि सर्केगाड गाउँपालिकाको सल्लीसल्ला हुँदै दुर्गम गाउँमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री गर्दै आएका छन्।

मुगु-हुम्ला जोड्ने लिङ्क रोड निर्माण नहुँदा मुगु जिल्लाको सोरुकोट गाउँपालिका देखि अदानचुलीको गाउँगाउँमा खच्चरबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएको कलसिगे नेपालीको अनुभव छ।

उनले भने, ‘पहिले हुम्ला मुगुका विभिन्न हाटबजारबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगेपछि ढुवानीसमेत पाउँदैनन्। तैपनि यात्रा रोकिँदैन।’

‘खच्चरबाट सामान ढुवानी गर्दा महिनामा औसत ८० हजारसम्म कमाइ हुन्छ। खच्चरको दानापानी खर्च कटाएर घरमा परिवारको सङ्ख्या ठूलो भएकोले त्यही पैसाले आफ्नो खर्च र परिवारको खर्च चलाउँदै आएको छु,’ कुटीरोसँगको कुराकानीमा उनले थपे।

कुनै बेला भारी बोक्नबाहेक काम नभएर कतिपयले गाउँघरको घाँस दाउरा बोक्नलाई खच्चर प्रयोग गर्न थालेको उनी बताउँछन्।

४५ वर्षीया हर्कधन फडेराले आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि दर्जन बढि खच्चड पाल्ने गर्थे। खच्चड पाल्ने नै गाउँका हुने खाने कहलिन्थे।

सडक सञ्जाल विस्तार हुँदै गएपछि खच्चडको व्यवसाय खुम्चिँदै गयो। उनले भने, ‘मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयौँको संख्यामा खच्चरले सामान ढुवानी गर्दै आएका थियौँ। खच्चरले नै हुम्ली नागरिकलाई सहज बनाएको हो।’

उनका अनुसार कुनै समय बेरोजगार युवाहरुले खच्चर व्यवसायमा लाग्दा घर खर्च पनि सजिलैसँग धानेका थिए। सस्तो र छिटो हुने हुँदा गाउँका व्यवसायीहरु समेत यातायातका साधन प्रति आकर्षित हुन थालेपछि खच्चर विस्थापित हुन थालेका हुन्।

‘खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैनन्। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ,’ फडेराले भने, ‘गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं। खच्चड व्यवसाय धरापमा पर्दा निकै मर्का त छ तर खच्चड पाल्न छोडिएको छैन।’

हाल कर्णाली करिडोर अन्तर्गत कालिकोट जिल्लाको खुलालुदेखि हुम्लाको चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिका सीमानासम्म एक सय २३ किलोमिटर ट्रयाक खुलेसँगै नेपालगञ्ज सुर्खेत सवारीसाधन आउजाउ गर्दै आएका छन्।

सर्केगाड गाउँपालिकादेखि सिमकोटसम्मको ६५ किलोमिटर दुरी पर्ने ल्याप्चे, छोरे, सुनाखाडा, लालीबगर खण्डमा नेपाली सेनाले ट्रयाक खोले पनि हाल औपचारिक रुपमा सडकलाई हस्तान्तरण नगरेपछि सवारी चलेका छैनन्।

२०५७ सालबाट सुरु भएको कर्णाली करिडोर सडक २०८१ सालसम्म आइपुग्दा पनि सडक सञ्जालसँग हुम्ला जोडिन नसक्दा रातदिन खच्चरकै पछि दौडने र हुम्लाका गाउँगाउँमा हिँडेर कर्णाली करिडोर खण्डमा सामान पुर्‍याउने काम चलिरहेकै छ।

देशका अन्य जिल्लामा गाडीबाट दैनिक उपभोग्य वस्तुको ढुवानी हुने गरे पनि हुम्लाको अधिकाँस गाउँगाउँमा सामान खच्चरले नै ढुवानी धानेका छन्।

सर्केगाड गाउँपालिका -१ तुम्चका सिथ्त रमेश लुवार पनि खच्चड व्यवसायी हुन्। उनले भने, ‘अहिले सर्केगाड गाउँपालिकातर्फ दैनिक उपभोग्य वस्तु नुन, तेल, चामल, सिमेन्ट, डिजेल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक रूपमा खच्चरबाट नै हुम्ला पुग्ने गरेको छ।’

उनका अनुसार यति मात्र नभई निजी घर निर्माणका लागि आवश्यक पर्ने जस्तापाता समेत खच्चरबाट नै ढुवानी हुने गरेको थियोे। खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ आम्दानी हुँदै आएको छ। हुम्ला पनि सडक सञ्जालमा जोडिएपछि खच्चर व्यवसाय संकटमा पर्ने भयो भन्दै चिन्तित छन्, व्यवसायीहरु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार