उनको विवाहलाई लिएर गरिएको टिप्पणीमा पहिलो टिप्णी उनका बुबाकै थियो । बुबाले भने, ‘डुमसँग बिहे गर्ने भए यही घर नजिकै थियो त, जुम्ला जान पर्थ्यो ?’
पुष्पा बिष्ट पेसाको रूपमा शिक्षक हुन् । उनी जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा शिक्षकको रूपमा अध्यापनरत छन् । बाल्यकालमा उनी पढाइ लेखाइमा जान्ने विद्यार्थी भित्रै पर्थिन् । पाँचकक्षा पढ्दासम्म कक्षामा कहिले प्रथमत त कहिले दोस्रो हुन्थिन् । वर्गीय हिसाबले निम्न वर्गीय परिवारमा जन्मिएकी पुष्पाका आमा बुवा दुबै कृषक हुन् ।
उनका ५ जना दिदिबहिनीको जन्म पश्चात बुबाले दोस्रो विवाहह गरे । जुन विवाह पृतिसत्ताको ढाल बनर उभिएको थियो । बुवाले दोस्रो विवाह गर्दै गर्दा पुष्पा कक्षा ६ मा पढदै थिइन् ।
विवाह गरेको छ महिनासम्म घर शान्त रह्यो, त्यसपछि सुरु भयो कलह र झगडा। दुई आमा, एउटै आँगन र बीचमा असहाय छोरीहरू । कहिले आमाको कपाल तानिँथ्यो, कहिले लाठी चल्थ्यो । बुबाको मुखबाट “आमालाई मारिदिन्छु” भन्ने कठोर शब्द उनका लागि संसारकै ठूलो डर थियो। त्यसपछि घरमा कहिल्यै शान्ति भएन।
पुष्पाको पढाइ चल्दै थियो, तर मन झगडाको आवाजमा हराउँथ्यो । कलहको बीचमै बुबाको दोस्रो विहेको छैठौं वर्षगाँठ बिते । त्यति बेला सम्म उनीकी आमाको अनुहारमा दुःखको रेखा गाढिँदै गए । अन्ततः उनीहरु बुबाबाट अलग भए । त्यो पल उनको लागि जीवनको पहिलो भूकम्प थियो ।
त्यो हिंसात्मक परिवेशमा पनि आमाले छोरीहरुलाई पढाउन र हुर्काउन छोड्नुभएन । केही समय आफ्नो भागमा परेको (तल गोठ बीचमा एक कोठा र माथि खहरले छाएको) सानो घरमा बसेर आमाले भैंसी, कुखुरा पालनको भरमा छोरीहरुलाई शिक्षा दिनुभयो । उहाँको सहनशीलता र परिश्रम छोरीहरुको जीवनको प्रेरणा बन्यो। । बुबाबाट माया र सहयोग कहिल्यै नपाएका उनीहरुका लागि आमाको आँचलले संरक्षण दियो ।
कक्षा ८ मा पढ्दै गर्दा देशमा २०६२ / ६३ को १९ दिने जनआन्दोलन चलिरहेको थियो । पुष्पा पनि त्यो आन्दोलनमा सहभागी भइन् । त्यसैको प्रभावले उनी विद्यार्थी राजनीतिमा सक्रिय भइन् । त्यति बेलासम्म समाजका अन्याय र विभेद बुझ्न थालि सेकेकी थिइन् ।
यसैको परिणाम स्वरूप कक्षा ११ पढ्दै गर्दा महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा जिल्ला स्वाथ्य शाखा दैलेखले आयोजना गरेको ‘महिला अधिकार’ सम्बन्धी वक्तृत्व कला प्रतियोगितामा प्रथम भइन । त्यसै गरी क्याम्पस पढ्दै गर्दा ‘अधिकार ठुलो की कर्तव्य ठुलो ‘ भन्ने शिर्षकको वादविवाद प्रतियोगितामा पनि प्रथम भइन् । विद्यार्थी संगठनमा काम गर्ने क्रममा उनको भेट महेश नेपालीसँग भयो, उनी दलित समुदायका थिए, तर विचारमा प्रगतिशील र समानताको पक्षधर ।
दुबैले समाज परिवर्तनको उद्देश्यसहित अन्तरजातीय विवाह गर्ने निर्णय गरे । यो निर्णय सजिलो थिएन। किनभने हाम्रो समाज अझै पनि जातको पर्खालभित्र कैद छ ।
उनको विवाह आमा र दिदी बहिनीको अनुमतिमै भयो। उनको विवाहलाई लिएर गरिएको टिप्पणीमा पहिलो टिप्णी उनको बुबाकै थियो । जसमा भनेका थिए : ‘डुमसँग बिहे गर्ने भए यही घर नजिकै थियो त जुम्ला जान पर्थ्यो ?’ यसले उनको अस्तित्वलाई नै चुनौती दियो । तर उनी पछि हटिनँन् र विश्वास गर्थिन्, प्रेम र समानता अपराध होइन, चेतनाको संकेत हो ।
दलितसँग विवाह गरेको कारणले सुरुमा गाउँमा नाक खुम्चाउनेहरु र विभेद गर्नेहरु, जब उनले उच्च शिक्षा प्राप्त गरेर शिक्षण पेशामा लागिन अनि समाजले बिस्तारै उनी माथिको दृष्टिकोण परिवर्तन गर्न थाल्यो ।
अब उनी महिला अधिकार, समानता र न्यायका विषयमा लेख्छिन् जो जीवनको प्रतिबिम्ब हो । आज पनि बाबासँगको सम्बन्ध सामान्य छैन, तर बुबाबाट आमाले पाउन पर्ने अंश आमालाई दिलाउन सफल भएकी छिन् । आमाको नाममा वर्दियामा ४ कठ्ठा जमीन किनी दिएकी छन्, जुन उनको एउटा ठूलो उपलब्धि हो ।
हिजो आज उनलाई लाग्छ, परिवर्तन अरूले मात्र ल्याउँदैनन्, जुन आफैंले पनि सुरु गर्नुपर्छ । दृढताका साथ भन्छिन् अधिकारीका लागि बोल्ने र लेख्ने काम गरिरहने छु, किनभने म आफैं त्यस अन्यायकी साक्षी हुँ ।
(पुष्पा बिष्ट समता फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ। शिक्षण पेशा कार्यरत उहाँ जुम्ला जिल्लामा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)














