कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालय तेस्रो वर्षका विद्यार्थीहरूले सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा नगरपालिकाकी मेयर सहित सबै वडाका अध्यक्षहरुको सहभागिता रहेको थियोे। नेपालमा जनस्वास्थ्य विषयको महत्व झनै बढ्दै गएको सन्दर्भमा उक्त कार्यक्रम गरिएको प्रतिष्ठानका विद्यार्थीहरुले जानकारी दिएका छन्।
संघीय संरचना, बढ्दो जनसंख्या, जीवनशैलीमा आएको तीव्र परिवर्तन, तथा नयाँनयाँ रोगहरूको वृद्धि जस्ता कारणले जनस्वास्थ्य अहिले राष्ट्रिय आवश्यकता बनिसकेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार ‘अब जनस्वास्थ्य केवल शैक्षिक क्षेत्र मात्र होइन, देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड’ बनेको छ।
नेपालमा स्थानीय तहमार्फत स्वास्थ्य सेवा सञ्चालन गर्न नगरपालिका स्वास्थ्य प्रणाली महत्वपूर्ण आधार हो। तर सीमित स्रोत, जनशक्ति अभाव, बजेट व्यवस्थापनको कठिनाइ, स्वास्थ्य पूर्वाधारको कमजोरी जस्ता चुनौतीले स्थानीय सरकारलाई निकै दबाबमा राखेको छ। यसै सन्दर्भमा कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका एउटा महत्वपूर्ण उदाहरणका रूपमा अघि आउने गरेको छ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले वर्तमान परिस्थितिमा एक नगरपालिका–एक जनस्वास्थ्य अधिकृत नीति अब अनिवार्य हुनुपर्ने अवस्था आएको छ बताइन्।
उनले भनिन्, ‘नगरपालिका स्तरमै सक्षम जनस्वास्थ्य जनशक्ति नहुँदा सेवा प्रभावकारी हुँदैन। नागरिकलाई नजिकबाट सेवा दिन सक्ने संरचना निर्माण नै हाम्रो प्राथमिकता हो।’
उनका अनुसार, जनस्वास्थ्यमा लगानी गर्नु भनेको समाजलाई दीर्घकालीन सुरक्षा प्रदान गर्नु हो।
त्यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले समुदायको स्वास्थ्य सुधार गर्न सबैभन्दा पहिले स्थानीय तहमा स्रोत व्यवस्थापन, मानवशक्ति, र अन्तर–संस्थागत समन्वय मजबुत हुन आवश्यक रहेको बताए।
उनले भने, ‘स्वास्थ्य शिक्षा र प्रकोप व्यवस्थापनमा नगरपालिकाले निरन्तर सक्रिय भूमिका निभाउनु आजको मुख्य आवश्यकता हो।’
उनका अनुसार, जनचेतना कार्यक्रम, समुदायमै लक्षित सेवा, र समयमै स्वास्थ्य जानकारी प्रवाह गर्न सकिनु नै प्रभावकारी स्वास्थ्य प्रणालीको आधार हो।
वरिष्ठ जनस्वास्थ्य निरीक्षक नवीन भुसालले नेपालका धेरै नगरपालिका र गाउँपालिकामा सेवा विस्तारमा चुनौती रहेको धारणा व्यक्त गरे।
‘विशेषगरी साना बस्ती, विपन्न परिवार र ग्रामीण समुदायमा स्वास्थ्य सेवाको पहुँच अझै पर्याप्त छैन,’ उनले भने, ‘दिगो सेवा दिन सशक्त प्रशासनिक ढाँचा, नियमित अनुगमन, र प्राविधिक क्षमता विकास अनिवार्य छ।’
उनका अनुसार, स्थानीय तहले समयमै निर्णय गर्न सकेमा नागरिकको स्वास्थ्य अवस्थामा ठूलो सुधार सम्भव छ।
विरेन्द्रनगर नगरपालिकाका प्रशासकीय प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले स्थानीय स्वास्थ्य प्रणाली मजबुत बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष बजेटको प्रभावकारी व्यवस्थापन रहेको तर्क राखे।
‘कुन क्षेत्रमा कति लगानी गर्ने भन्ने स्पष्ट प्राथमिकता नभएसम्म सेवा दिगो बन्दैन,’ उनले भने, ‘हामीले स्वास्थ्य क्षेत्रलाई नगरपालिका बजेटको केन्द्रीय विषय बनाउन आवश्यक छ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक ओम प्रकाश काफ्लेले नेपालमा जनस्वास्थ्यको भूमिका अहिले जति महत्वपूर्ण छ, यति पहिले कहिल्यै नभएको विश्लेषण प्रस्तुत गरे।
‘रोगको उपचार मात्र होइन, रोग रोकथाम, स्वास्थ्य शिक्षा, सुरक्षित व्यवहार, र समुदायमै आधारित कार्यक्रम आवश्यक छ,’ उनले भने, ‘नेपालले यदि दीर्घकालीन स्वास्थ्य सुधार चाहन्छ भने जनस्वास्थ्यलाई विकासको एजेन्डा बनाउनै पर्छ।’
नेपालको स्थानीय स्वास्थ्य प्रणालीलाई प्रभावकारी, सहज र दिगो बनाउन समन्वय, स्रोत व्यवस्थापन, जनस्वास्थ्य जनशक्ति र नागरिक सचेतना अपरिहार्य छ। नेपालजस्तो विविध भूगोल, तीव्र सामाजिक परिवर्तन, र रोगहरूको बदलिँदो स्वरूप भएको देशका लागि जनस्वास्थ्य अब विकल्प होइन, राष्ट्रिय प्राथमिकता हो।

















