स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२ का लागि पत्रकार लक्ष्मी न्यौपाने पुरस्कृत भएकी छन्।
स्वर्गीय दीपबहादुर कामीको सम्झनामा वितरण गरिने यो पुरस्कारको यो चौथो संस्करण हो। स्व. दीपबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने यो पुरस्कार पत्रकारितामा क्रियाशील रूपमा कार्यरत पत्रकारलाई दिइँदै आएको छ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहेकी तथा हाल रेडियो नारी आवाजकी स्टेशन म्यानेजर रहेका लक्ष्मी न्यौपानेलाई यस वर्षको स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको हो।
स्व. दीपबहादुर स्मृति प्रतिष्ठानका सल्लाहकार तथा पत्रकार महेश नेपालीले पुरस्कारको राशी सानो भए पनि यसको महत्व ठूलो हुने उल्लेख गर्दै भने, “पुरस्कार भनेको उत्प्रेरणा र हौसला हो। यसले ठूलो अर्थ दिन्छ र थप प्रेरणा प्रदान गर्छ।” उनले यो पुरस्कार मौलिक र विवादरहित रहेको पनि बताए।
पुरस्कार वितरण समारोहमा उपस्थित तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले सामान्य परिवारमा जन्मिएका शुभाकर विश्वकर्माले समाजमा गरेको यो कार्य प्रशंसनीय रहेको बताए।
प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले क्रियाशील पत्रकार तथा सामाजिक कार्यमा अग्रसर व्यक्तिहरूलाई सम्मान गर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले पिताको सम्झनामा यो पुरस्कार स्थापना गरिएको बताए।
पुरस्कृत लक्ष्मी न्यौपानेले सम्मान पाउँदा हौसला थपिएको बताउँदै प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गरिन्।















