सल्यानको दार्मा गाउँपालिकास्थित उज्यालो युवा क्लबले शुक्रबार भालुमारेमा रहेको सामुदायिक विद्यालयको बाटो र परिसर सफा गरेको छ।
क्लबका सचिव घनराज खड्काका अनुसार विद्यालय जाने बाटोमा आएको पहिरो, वरपरका कालोखर र झारपात हटाउने कामसँगै विद्यालयभित्रको फोहर, प्लास्टिक, कालोखर, अन्य झारपात तथा चर्पी वरपरका अव्यवस्थित सामग्री हटाइएको हो।
आज बिहान विद्यालय जाने स-साना बालबालिकाले बाटो बनाइदिन आग्रह गरेपछि क्लबका उपाध्यक्ष प्रकाश खड्का, सहसचिव दीपक केसी र सचिव घनराज खड्कासहित तीन जनाले उक्त कार्य सम्पन्न गरेका थिए।
विद्यालयले प्रारम्भिक रूपमा सहकार्य गर्ने बताए पनि अन्तिम समयमा पछि हटेको क्लबले जनाएको छ। प्रिन्सिपलले अघिल्लो दिन नै उपस्थित नहुने जानकारी दिए पनि अन्य शिक्षकहरू आउने आश्वासन दिइएपनि दिउँसोसम्म कोही उपस्थित नभएको क्लबको भनाइ छ।
यद्यपि, प्रिन्सिपलको आग्रहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्का भने सफाइ कार्यस्थलमा उपस्थित भएका थिए। उनका अनुसार, केही शिक्षकहरू स्वास्थ्य समस्याका कारण सहभागी हुन नसकेका हुन्।
















