नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको ११ दिन पुग्दासमेत संगठनभित्र उत्पन्न विभाजन साम्य हुन सकेको छैन।
अधिवेशनमा शेखर कोइराला समूह र शेरबहादुर देउवा समूहबीच उत्पन्न विवादका कारण शेखर समूहले संजिव रावलको नेतृत्वमा समानान्तर जिल्ला समिति घोषणा गरेपछि तरुण दल जुम्ला वैधानिकताको होडबाजीमा फसेको छ।
यसैबीच, पातारासी गाउँपालिका तरुण दलले मंगलबार एक कार्यक्रम आयोजना गरी रावल नेतृत्वको कार्यसमितिलाई बधाई तथा समर्थन जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष संजिव रावलले नेपाली कांग्रेसका पदाधिकारी बैठकले निर्वाचनमार्फत अधिवेशन गर्न निर्देशन दिइसकेको अवस्थामा समेत केन्द्रीय अध्यक्षको दबाबमा निर्वाचन समितिले एकपक्षीय निर्णय लिएको आरोप लगाए।
“निर्वाचनका निम्ति खटिएका केन्द्रीय प्रतिनिधिले हस्ताक्षर गरेको खाली कागजातको दुरुपयोग गरी निर्णय गरिनु प्रजातान्त्रिक मर्यादाको उल्लंघन हो,” उनले भने।
पातारासी गाउँपालिकाका तरुण दल अध्यक्ष बुद्धि बोहराले “तरुणहरूले रोजेको मान्छे नै हाम्रो अध्यक्ष हो,” भन्दै रावललाई आधिकारिक अध्यक्षको रूपमा स्वीकार्ने बताए।
कार्यक्रममा पातारासी कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, र जिल्ला सदस्यसहित १०० जनाभन्दा बढीको उपस्थिति थियो।
केन्द्रीय पार्षद् विरेन्द्र शाहीले नेपाली कांग्रेसजस्तो ठूलो लोकतान्त्रिक पार्टीको भातृसंगठनको नेतृत्व चयन नहुनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरे।
त्यस्तै, केन्द्रीय प्रतिनिधि राजेन्द्र श्रेष्ठले चुनाव नै लोकतान्त्रिक अभ्यासको मूल बाटो भएको बताउँदै, “केही निश्चित नेताहरूको इशारामा गरिएको हस्तक्षेप प्रजातान्त्रिक परिपाटीको अन्त्य हो,” भने।
विवाद चुलिँदै जाँदा नेपाल तरुण दल जुम्ला नेतृत्वको वैधानिकता अझै अन्योलमा रहेको देखिन्छ।















