महोत्तरीको सदरमुकाम जलेश्वरमा सञ्चालित अधिकांश डेन्टल क्लिनिकहरू फर्जी चिकित्सकको भरमा सञ्चालन भइरहेको खुलासा भएको छ।
नेपाल मेडिकल काउन्सिलले विहीबार गरेको अनुगमनका क्रममा डाक्टरको बोर्ड टाँसिए पनि वास्तविक रूपमा प्रशिक्षित चिकित्सकहरू नभई टेक्निसियन तथा अन्य व्यक्तिले विरामीको चेकजाँच गरिरहेका थिए।
अनुगमन टोलीको नेतृत्व काउन्सिल सदस्य तथा नेपाल डेन्टल एशोसिएशनका अध्यक्ष डा. अजयकुमार साहले गरेका थिए।
टोलीले विश्वास डेन्टल, जलेश्वर स्माइल डेन्टल केयर, शिव शक्ति मेडिकल, स्वामी श्री डेन्टल क्लिनिक र जलेश्वर डेन्टलमा अनियमितता भेटेको हो।
विश्वास डेन्टलमा जनकपुरधामका डा. रविकुमार पाण्डेय र डा. राजिव शर्माको नाममा बोर्ड राखिए पनि उनीहरू त्यहाँ कार्यरत छैनन्। सञ्चालक दिलीपचन्द्र विश्वास आफैंले विरामी जाँच गरिरहेका छन्।
त्यस्तै, जलेश्वर स्माइल डेन्टलमा सञ्चालक विरेन्द्रकुमार चौधरी चिकित्सकको रुपमा समातिए। अन्य क्लिनिकका सञ्चालकहरू भने अनुगमनको समयमा फरार भएका थिए।
मुख्यमन्त्री सतिशकुमार सिंहले केही दिनअघि मधेशका अस्पतालहरूको अनुगमन गर्दा यस्तै फर्जी गतिविधि भेटिएको उल्लेख गरेका थिए।
डा. साहले यस्ता क्लिनिकलाई कारबाही गरी मापदण्ड अनुसार ल्याइने बताएका छन्। उनका अनुसार, ‘जुन डाक्टर छैन, उसको नाममा सेवा दिनु स्वास्थ्यसँग ठट्टा हो।’