जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थल गुठिचौरमा वाइसीएल नेपाल, जुम्लाको सक्रियतामा अस्थायी सार्वजनिक शौचालय निर्माण गरिएको छ।
हाल गुठिचौरमा आन्तरिक पर्यटकहरूको उल्लेखनीय घुइँचो देखिन थालेपछि वातावरणीय स्वच्छता र सार्वजनिक सरसफाइलाई ध्यानमा राख्दै शौचालय निर्माण गरिएको वाइसीएल नेपाल जुम्लाले जनाएको छ।
जनसांस्कृतिक गतिविधिमा सक्रिय रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन जनसांस्कृतिक महासंघ जुम्लाका अध्यक्ष मुनविर दमाइले जानकारी दिँदै भने, “पर्यटकीय आकर्षण बढ्दो अवस्थामा रहेको गुठिचौरमा स्वच्छ वातावरण र आधारभूत सुविधा आवश्यक देखिएकोले वाइसीएल नेपालले पहल गर्दै शौचालय निर्माण गरेको हो।”
गुठिचौर जुम्ला सदरमुकाम नजिकै अवस्थित रमणीय स्थल हो, जहाँ वर्षेनी हजारौं आन्तरिक पर्यटक घुम्न आउँछन्। तर, पछिल्ला दिनमा सरसफाइ सुविधाको अभावले समस्या निम्त्याउन थालिरहेको छ । वाइसीएलको यस पहलले पर्यटकलाई सहजता दिने विश्वास गरिएको छ भने यहाँ आउने पर्यटकले फोहोर नगरिदिन अनुरोध समेत गरिएको छ ।
















