नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले शारीरिक रूपमा अशक्त ३४ वर्षीय रामबहादुर सुनारलाई व्यक्तिगत रूपमा काठकामका आवश्यक उपकरणहरू प्रदान गरेकी छन्।
चन्दननाथ नगरपालिका–१० का बासिन्दा सुनार विगतमा कुशल काठमिस्त्री थिए, तर तल्लो शरीर पक्षघातका कारण आफ्नो पेशा गर्न कठिनाइ भोग्दै आएका थिए।
उपप्रमुख खड्काले शनिबार आफ्नै निवासमा सुनारलाई करिब ३५ हजार रुपैयाँ बराबरका नौ प्रकारका उपकरणहरू जस्तै रन्ना, ह्याम्बर, ड्रिल मेसिन, ग्राइन्डर र रामा हस्तान्तरण गरिन्। उनले भनिन्, “सानो सहयोगले रामबहादुरको सीप र काष्ठकलाको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ।”
उपकरण पाएपछि सुनारले अब घरमै बसेर पनि आफ्नो सीप प्रयोग गरी आम्दानी गर्ने आशा व्यक्त गरे। उनले भने, “शरीर चल्दैन, काम गर्न गाह्रो छ, तर अब केही गर्न सक्ने आत्मबल बढेको छ।”
दलित, महिला, बालबालिका र सीमान्तकृत समुदायका विषयमा सक्रिय उपप्रमुख खड्काले यसअघि हिंसापीडित महिलाहरूको उद्धारका लागि आफ्नो पाँच वर्षको सम्पूर्ण सुविधा खर्च गर्ने प्रतिबद्धता जनाइसकेकी छन्।
















