तिला गाउँपालिका–५ का वडाध्यक्ष ४२ वर्षीय ललित बहादुर शाहीमाथि जेठ १८ गते चक्कु प्रहार भएको छ। वडा नं. ४ मा अनुगमनबाट फर्कने क्रममा उनलाई सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो।
घटनामा संलग्न तीन जनामध्ये एक जनालाई जुम्ला बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असिम हमालका अनुसार, घाइते वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
पीडितले तीन जनाको नाम दिएको र बाँकी दुई जनाको खोजी कार्य जारी रहेको उनले बताए। पक्राउ परेका आरोपित २० देखि २५ वर्ष उमेर समूहका छन्, तर प्रहरीले नाम भने सार्वजनिक गरेको छैन।
यसैगरी, सोही गाउँपालिका–३ का वडाध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुंगा र मुक्का प्रहार भएको छ। उनले हेल्मेट लगाएकाले ठूलो चोट नलागेको बताए।
“ललितजीलाई चक्कु प्रहार भएकाले उहाँलाई गम्भीर चोट लागेको छ। हामी दुवैजना अहिले अस्पतालमा उपचाररत छौं,” उनले भने।
















