तालिममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक, अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी र जिल्लाका विभिन्न विद्यालयका विज्ञान शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। तालिमले परियोजना प्रस्ताव लेखन, अनुसन्धान डिजाइन र अनुदान प्राप्तिको प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरेको छ।
जुम्लामा बौद्धिक र वैज्ञानिक चेतनाको दीप प्रज्वलन गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), काठमाडौँको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा तीनदिने ‘वैज्ञानिक परियोजना डिजाइन र कार्यान्वयन तालिम’ सुरु भएको छ।
सोमबार देखि सुरु भएको तालिम बुधबार सकिनेछ। यो तालिमले कर्णाली क्षेत्रका अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी र शिक्षकहरूलाई वैज्ञानिक अनुसन्धान र परियोजना प्रस्ताव लेखनमा दक्ष बनाउने लक्ष्य राखेको छ।

तालिमको उद्घाटन सत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा. डा. डबल बहादुर धामीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नाष्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, प्रविधि संकाय प्रमुख डा. सुरेशकुमार ढुंगेल, कास स्कूल अफ पब्लिक हेल्थका सहायक डिन प्रा. डा. शेषानन्द सञ्ज्याल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन प्रतिष्ठानका सहायक प्राध्यापक ओमप्रकाश काफ्ले र वरिष्ठ प्रशासक द्वन्द्वबहादुर शाहीको टोलीले गरेको थियो।
निमित्त उपकुलपति सहप्राध्यापक डा. धामीले कर्णालीजस्तो विकट क्षेत्रमा वैज्ञानिक अनुसन्धानको महत्त्वमाथि जोड दिँदै भने, “हाम्रो क्षेत्रका स्वास्थ्य र सामाजिक समस्याहरूलाई विज्ञान र अनुसन्धानमार्फत समाधान गर्न सकिन्छ। यस्ता तालिमले हाम्रा युवा अनुसन्धानकर्तालाई नयाँ दिशा दिनेछ।”

नाष्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले अनुसन्धानमा लगानी र अवसरको खोजी गर्नुपर्नेमा जोड दिँदै भने, “राष्ट्रिय र अन्तर्राष्ट्रिय परियोजना अनुदानका अवसरहरू प्रशस्त छन्, तर हामीले तिनलाई उपयोग गर्न सही प्रस्ताव लेखन र डिजाइनको कौशल विकास गर्नुपर्छ।” उनले नाष्टले नेपालका विभिन्न क्षेत्रमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
त्यस्तै, नाष्टका डा. सुरेशकुमार ढुंगेलले वैज्ञानिक अनुसन्धानको आधारभूत पक्षहरूबारे प्रकाश पार्दै भने, “अनुसन्धान केवल डिग्री वा कागजमा सीमित छैन, यो समाजका वास्तविक समस्याहरू समाधान गर्ने माध्यम हो। यसका लागि वैज्ञानिक दृष्टिकोण र प्रक्रियाको समझ आवश्यक छ।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. सेशानन्द सञ्ज्यालले स्वास्थ्य क्षेत्रमा अनुसन्धानको भूमिकामाथि जोड दिँदै भने, “कर्णालीका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न अनुसन्धानले ठोस आधार प्रदान गर्छ। हाम्रा विद्यार्थी र अनुसन्धानकर्ताले यस्ता तालिमबाट प्रेरणा लिनुपर्छ।”

उद्घाटन सत्रपछि तालिमका मुख्य सेसनहरूमा गहन छलफल र प्रस्तुति भए। पहिलो सेसनमा नाष्टका मुख्य सचिव डा. ढकालले “राष्ट्रिय र अन्तर्राष्ट्रिय परियोजना अनुदानका अवसरहरू” विषयमा आफ्नो प्रस्तुति राखे।
उनले अनुदान प्राप्तिका लागि परियोजना प्रस्ताव लेखन, अनुसन्धानको प्रभावकारिता र दिगोपनका पक्षहरूलाई जोड दिए। उनले भने, “सही प्रस्ताव र तथ्यमा आधारित अनुसन्धानले विश्वभरका अनुदानदाताको ध्यान खिच्न सक्छ।”
दोस्रो सेसनमा डा. सुरेशकुमार ढुंगेलले “वैज्ञानिक अनुसन्धानको परिचय, आवश्यकता र प्रकारहरू” विषयमा गहन प्रशिक्षण दिए। उनले अनुसन्धानका विभिन्न विधि, तिनको सामाजिक उपयोगिता र कर्णाली क्षेत्रमा तिनको सम्भाव्यताबारे विस्तृत जानकारी दिए।

उनले भने, “कर्णालीको जैविक विविधता, स्वास्थ्य र सामाजिक संरचनामा अनुसन्धानले विश्वस्तरमै योगदान पुर्याउन सक्छ।”
तालिममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक, अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी र जिल्लाका विभिन्न विद्यालयका विज्ञान शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। तालिमले परियोजना प्रस्ताव लेखन, अनुसन्धान डिजाइन र अनुदान प्राप्तिको प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरेको सहायक प्राध्यापक ओम प्रकाश काफ्लेले बताए।
उनले भने, “यो तालिम कर्णालीका अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने बाटोको पहिलो खुड्किलो हो।”
नाष्ट र कासको यो सहकार्यले कर्णालीमा वैज्ञानिक अनुसन्धानको संस्कृति विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको निमित्त उपकुलपति डा. धामीको भनाइ छ।
