बुधबार, ४ असार, २०८२

आवासीय चिकित्सकको मागमा जुम्ला चिकित्सक संघऐक्यबद्धता

नेपाल चिकित्सक संघ, जुम्ला शाखाले आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी माग तत्काल सम्बोधन नभए आकस्मिक सघन उपचार कक्षबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने चेतावनी दिएको छ।

चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकको निर्णय कार्यान्वयनको माग गर्दै विगत एक महिनादेखि निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू आन्दोलनरत छन्।

नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयले मिति २०८२/०१/१० देखि घोषणा गरेको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै जुम्ला शाखाले पनि आन्दोलनमा सहभागी हुने निर्णय गरेको हो।

जुम्ला शाखाका कार्यवाहक अध्यक्ष डा. कमल प्रसाद थानी र सचिव डा. तुफान सिंह कठायतद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “यदि आगामी २४ घण्टाभित्र मागहरू सम्बोधन नभए पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार स्वास्थ्य सेवा बहिष्कार गर्न बाध्य हुनेछौँ।”

पत्रमार्फत संघले आन्दोलनका कारण बिरामीहरूलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरेको छ। प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई यो माग तत्काल सम्बोधन गर्न आग्रह गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार