प्लान इन्टरनेसनल नेपालको सहयोगमा पेस नेपाल र क्याड नेपालले आयोजना गरेको तीनदिने भेलामा जुम्लाका आठ पालिकाबाट ३२ जना युवा (१३ पुरुष र १९ महिला) सहभागी थिए।
जुम्लामा बैशाख ८ गते सम्पन्न जिल्ला स्तरीय युवा भेलाले “युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता : सबैको मानव अधिकारको सुनिश्चितता” नारासहित १६ बुँदे घोषणापत्र पारित गरेको छ।
उक्त भेलाले जुम्लाका युवाहरूको हक, अधिकार र अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाहरूलाई नीतिगत र संरचनागत व्यवस्था गर्न आह्वान गरेको छ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा पेस नेपाल र क्याड नेपालले आयोजना गरेको तीनदिने भेलामा जुम्लाका आठ पालिकाबाट ३२ जना युवा (१३ पुरुष र १९ महिला) सहभागी थिए।
नेपालको संविधान, राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५ र लिस्बन घोषणापत्र १९९८ लाई आत्मसात् गर्दै भेलाले युवाहरूलाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परिवर्तनको संवाहक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
घोषणापत्रले स्थानीय तहमा युवाहरूको नेतृत्व र सहभागिता सुनिश्चित गर्न नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्न जोड दिएको छ।
शिक्षा प्रणालीमा सुधार, सीपमूलक तालिम, रोजगारी सिर्जना, मनोसामाजिक परामर्श, उद्यमशीलता विकास र स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको छ।
भेलाले सामाजिक जागरण, लागुऔषध दुरुपयोग रोकथाम, बालविवाह, बालश्रम र हानिकारक परम्पराहरूको न्यूनीकरणका लागि युवा केन्द्रित अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ।
विपद् व्यवस्थापन, सरसफाइ, जलवायु परिवर्तन र लैङ्गिक हिंसा नियन्त्रणमा युवाहरूलाई स्वयंसेवकको रूपमा परिचालन गर्न नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
हिमा गाउँपालिकाकी सहभागी अविगेल परियारले शिक्षा प्रणालीमा सुधार, विद्यालयमा बगैँचा व्यवस्थापन, महिनावारी कक्ष, शिक्षकका शब्दमा परिवर्तन र बालविवाह रोकथाममा युवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्।
उनले हानिकारक परम्पराहरू न्यूनीकरणका लागि युवाहरू आफैँ परिवर्तनको संवाहक बन्नुपर्ने धारणा राखिन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले प्लान इन्टरनेसनल र पेस नेपालले हानिकारक परम्पराहरू न्यूनीकरणमा गरेको कामको प्रशंसा गरे।
उनले यस्ता पहल अन्य पालिकाले पनि अनुकरण गर्नुपर्ने र आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। भेलाले १६ बुँदे घोषणापत्रलाई ज्ञापनपत्रका रूपमा समन्वय समितिलाई बुझाएको छ।
यो भेलाले जुम्लाका युवाहरूलाई सामाजिक रुपान्तरण, आर्थिक सशक्तीकरण र राजनीतिक सहभागिताको नयाँ बाटोमा डोर्याएको छ।
स्थानीय सरकारसँग हातेमालो गर्दै युवा क्लब र सञ्जालहरूले सामाजिक जागरण र विकासका कार्यमा सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्।